+
नेपाल सुपर लिग २०२५ :

लाखे भर्सेस योद्दाज : एनएसएलको उद्घाटन खेलमा भिड्दै दुई पूर्व विजेता

२०८१ चैत  १६ गते ९:२६ २०८१ चैत १६ गते ९:२६

‘लाखे’ उपनामले चिनिने ललितपुर सिटी एफसी र ‘योद्दाज’ उपनामले चिनिने काठमाडौं रेजर्स एफसी एकआपसमा भिड्दै नेपाल सुपर लिग फुटबल २०२५ को सुरुवात गर्दै छन् ।

लाखे भर्सेस योद्दाज : एनएसएलको उद्घाटन खेलमा भिड्दै दुई पूर्व विजेता

१६ चैत, काठमाडौं । पहिलो संस्करणको विजेता काठमाडौं रेजर्स र दोस्रो संस्करणको विजेता ललितपुर सिटी एफसीबीचको खेलसँगै नेपाल सुपर लिग (एनएसएल) २०२५ आज देखि सुरु हुँदैछ ।

दुई पूर्व च्याम्पियनबीचको यो खेललाई भ्याली डर्बीको रुपमा समेत हेरिन्छ । दुवै टोली उपत्यका भित्रबाटै छन् । अनि दुई विजेता टिम नै उद्घाटन खेलमा खेल्न लागेका हुन् । ललितपुर सिटी र काठमाडौं रेजर्सबीचको खेल साँझ ६ बजे दशरथ रंगशालामा हुनेछ ।

त्यसअघि अहिलेका चर्चित तथा व्यस्त गायक दुर्गेश थापाले प्रस्तुती दिने कार्यक्रम छ । उनको ‘दुस्मन हेरेको हेर्‍यै’ भन्ने गीत ग्लोबल ट्रेन्डिङमा पुगेको छ ।

ललितपुर र काठमाडौं दुवै टिम उद्घाटन खेलमा सुखद नतिजासहित लिग सुरुवात गर्न चाहन्छ । ललितपुरको कप्तानी मार्की प्लेअर अनन्त तामाङले गर्नेछन् । उनी लगातार दोस्रो वर्ष पनि ललितपुरको मार्की र कप्तानको भूमिकामा छन् ।

रोहन कार्कीलाई नयाँ मार्की बनाएको काठमाडौंको कप्तानी डिफेण्डर कुलिदप कार्कीले गर्नेछन् । कार्कीले यसअघि दुवै संस्करणमा कप्तानी गरेपनि उनी यस संस्करणमा भने फुल क्याप्टेनको भूमिकामा हुनेछन् ।

अर्को विशेषता भनेको दुवै टिममा अनुभवी विदेशी प्रशिक्षक छन् । कोचिङमा लामो समयमको अनुभव भएको र युइएफए प्रो लाइसेन्स प्राप्त दुई विदेशी प्रशिक्षक साइमन ग्रेसन र प्याट्रिक डि वालइल्ड पहिलो पटक दशरथ रंगशालाको मैदानमा आमने सामने हुनेछन् ।

ललितपुरको टचलाइन इंग्लिस कोच ग्रेसन र काठमाडौंको प्रशिक्षण बेल्जियमका वाइल्ड सम्हाल्नेछन् । दुवै प्रशिक्षकले पहिलो पटक नेपालमा आएर काम गरेका हुन् र दुवै जना निकै उत्साहित छन् ।

इन्डियन सुपर लिग (आईएसएल) मा बेंगलुरुलाई प्रशिक्षण दिइसकेका ग्रेसनले उपाधि रक्षा गर्नका लागि प्रयास गर्ने बताए । उनले भ्याली डर्बी खेल प्रतिस्पर्धात्मक हुने बताएका छन् ।

यस्तै काठमाडौंका प्रशिक्षक वाइल्डले पनि टिम राम्रो रहेको र पहिलो खेलका लागि तयार भएको बताएका छन् । पहिलो खेलपछि टिमबारे धेरै कुरा थाहा हुने उनले बताए ।

कस्तो छ टिम र खेलाडी

यस पटक ललितपुर र काठमाडौ दुवै टिम पेपरमा राम्रो देखिएको छ । साविक विजेता ललितपुरले यस पटक पनि कोर टिमलाई रिटेन गर्दै राम्रो टिम बनाएको छ ।

नेपाली र विदेशिमा सन्तुलित देखिएको ललितपुर उपाधि रक्षा गर्ने अभियानमा छ र उपाधिको बलियो दावेदारको रुपमा छ । कप्तान अनन्तसँगै ललितपुरले डिफेण्डर सनिश श्रेष्ठ र विंगर आदित्य शाक्यलाई रिटेन गरेको थियो ।

यस्तै दोस्रो संस्करणको सर्वाधिक गोलकिपर इमोह इजेकेल, बेस्ट गोलकिपर जेफ्री बाल्टुस र फरवार्ड पापा इबोउ केबेलाई पनि ललितपुरलाई यस सिजन निरन्तरता दिएको छ ।

यस बाहेक विदेशी खेलाडीमा ललितपुरले प्यालेस्टाइनको जोनाथान कान्टिलाना, सेनेगलका पापा डिएकेटेलाई अनुबन्ध गरेको छ । यस बाहेक अन्य नेपाली खेलाडीहरु पनि ललितपुर टिममा राम्रो छ ।

डिफेण्डरमा अनन्त र सनिशसँगै योगेश गुरुङ, अभिषेक वाइबा लामा लगायत खेलाडी छन् । यस्तै मिडफिल्डमा राष्ट्रिय टिमका मणि कुमार लामासहित सन्तोष खत्री, नविन लामा, सुदिप गुरुङ, फरवार्डमा दिपेश घले लगायत छन् ।

दुई पूर्व च्याम्पियनबीचको यो खेललाई भ्याली डर्बीको रुपमा समेत हेरिन्छ । दुवै टोली उपत्यका भित्रबाटै छन् । अनि दुई विजेता टिम नै उद्घाटन खेलमा खेल्न लागेका हुन्

उता पहिलो संस्करणमै च्याम्पियन बन्दै एनएसएल ट्रफी काठमाडौंमै राखेको काठमाडौं रेजर्स यस पटक त्यो साख फर्काउने लक्ष्यमा छ ।

त्यसका लागि काठमाडौंको टिम भने केही फेरिएको छ । मार्की प्लेअर सँगै कप्तान र मुख्य प्रशिक्षक समेत परिवर्तन गरेको काठमाडौं टिममा दोस्रो संस्करणमा तीन खेलाडी मात्र छन् ।

कप्तान कुलदिपसँगै मिडफिल्डर दिपेश गुरुङ र गोलकिपर अभिषेक बराललाई रिटेन गरेको काठमाडौंले रोहन कार्कीलाई मार्की बनाउँदै नयाँ टिम बनायो । यस्तै कोचिङ स्टाफमा पनि परिवर्तन भएको छ । काठमाडौले नेपालका अनुभवी प्रशिक्षक मेघराज केसिरलाई टेक्निकल डिरेक्टर बनाएको छ ।

काठमाडौंमा भर्खरै राष्ट्रिय टिमबाट खेल्दै सिंगापुर विरुद्ध गोल गरेका राष्ट्रिय टिमका फरवार्ड जिलेस्पीजंग कार्की छन् । यस्तै गत सिजन ललितपुरबाट उपाधि जितेका मिडफिल्डर दिनेश हेन्जन यस पटक काठमाडौंको जर्सीमा देखिनेछन् ।

काठमाडौंले फ्रेन्च लिग वान र बुण्डेसलिगाको अनुभव भएका फ्रेन्च मिडफिल्डर भिनसेन्ट कोजिएलोलाई अनुबन्ध गरेको छ । यस्तै सियरालिओनका अनुभवी फरवार्ड बुरा टुरे पनि काठमाडौं टिममा छन् ।

यसबाहेक काठमाडौंले सेनेगलका किपर चिएख गुए, सेनेगलकै डिफेण्डर बेकरी माने र उज्वेकिस्तानको डिफेण्डर अलिजोन अलिजोनोभ र सेनेगलकै विगंगर अमादोउ डिओपलाई पनि अनुबन्ध गरेको छ ।

हेड टु हेडमा रेजर्स अघि

ललितपुर र काठमाडौंबीचको विगत हेर्दा काठमाडौं टिम हावी छ । दुई पूर्व विजेता टिमबीच दुईको खेल प्रतिस्पर्धात्मक हुँदै आएको छ । तर हेड टु हेड विगतमा काठमाडौं ललितपुरमाथि हावी छ ।

पहिलो र दोस्रो संस्करणमा यी दुई टोलि अहिलेसम्म चार पटक आमने सामने भएका छन् । जसमा काठमाडौले ३ खेल जित्दा ललितपुर १ खेलमा मात्र विजयी भएको छ ।

पहिलो संस्करणको उद्घाटन खेलमा पनि यी दुई टोली भिडेका थिए । जहाँ काठमाडौं १-० ले विजयी भएको थियो । त्यस संस्करणमा उद्घाटन खेल र प्लेअफ दुवैमा काठमाडौंले ललितपुरलाई पराजित गरेको थियो ।

दोस्रो संस्करणमा पनि यी दुई टोली दुई पटक भिडे । जहाँ लिग चरणमा काठमाडौं विजयी भएको थियो । तर प्लेअफमा भने ललितपुरले पहिलो पटक काठमाडौंलाई हराएर त्यसअघिका हारको बदला लिएको थियो । र पछि ललितपुरले धनगढिलाई हराएर उपाधि नै जित्यो ।

ललितपुर सिटी एफसी स्क्वाड
गोलकिपर : जेफ्री बाल्टुस*, समित श्रेष्ठ, यती राज गुरुङ
डिफेण्डर : अनन्त तामाङ, सनिश श्रेष्ठ, योगेश गुरुङ, अभिषेक वाइवा, मनोज राई, पवन शाही, पापे डिएकेटे*
मिडफिल्डर : मणि कुमार लामा, सन्तोष खत्री, नविन लामा, सुदिप गुरुङ, आदित्य शाक्य, जोनाथान कान्टिलाना*, पापा इबोउ केबे*, विवेक कुलुङ राई (रुकी), अनमोल भण्डारी (एनआरएन)
फरवार्ड : इमोह इजेकेल*, केरभेन्स बेलफोर्ट*, दिपेश घले, अनिश क्षेत्री

काठमाडौं रेजर्स स्क्वाड
गोलकिपर : अभिषेक बराल, मौसम मगर, चिएख गुए*
डिफेण्डर : कुलदिप कार्की, कमल श्रेष्ठ, दिवाकर चौधरी, अन्जल महर्जन, पुष्कर खड्का, पेम्बा दोर्जी, बेकरी माने*, अलिजोन अलिजोनोभ*
मिडफिल्डर : रोहन कार्की, दिपेश गुरुङ, दिनेश हेन्जन, भरत चौधरी, भिनसेन्ट कोजिएलो*
फरवार्ड : जिलेस्पी जंग कार्की, आशिष चापागाईं, बुया टुरे*, अमादोउ डिओप*

*विदेशी खेलाडी

नेपाल सुपर लिग २०२५

धेरै कमेन्ट गरिएका

लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय