+
+
Shares
शनिवार :

बागमती साहित्य महोत्सवको रचनागर्भ

कमजोरी पनि गज्जबका हुने रहेछन्, आउने अनि मुसुक्क हाँस्ने । एउटालाई समाधान गर्‍यो अर्कोसँग टुप्लुक्क भेट भइहाल्ने । बल्लबल्ल त्यसलाई बिदा गर्‍यो अर्को आइहाल्ने ।

विष्णुप्रसाद आचार्य विष्णुप्रसाद आचार्य
२०८१ चैत १६ गते १२:४४

१६ फागुन २०८१, शुक्रबार बिहान ८ बजे । हामी धादिङबेसीको पुछार बजारमा जम्मा हुँदैथियौं, अदम्य उत्साह लिएर । गर्मी चढिसकेको मध्य फागुन एक्कासि सेलाएर चिसो भएको थियो ।

न बिहे, न कुनै दलको आमसभा, न जात्रा–मात्रा । पञ्चेबाजा सहितको झाँकी धादिङबेसीको पुछार बजारबाट उकालो चढ्दैथियो । मान्छेहरूमा कानेखुसी चल्दैथियो– हैन, यो के–को जुलुस हो ?

हामीलाई पनि पत्याउन गाह्रै थियो– साहित्यमा पनि यत्रो सहभागिता ? तर पत्याउनुपर्ने सत्य अगाडि थियो । साहित्यको प्रभातफेरीमा हजारौंको स्वस्फूर्त उपस्थिति थियो । सिमसिम खस्दै गरेका पानीका थोपाले बिहानको माधुर्यलाई आलोकमय बनाइरहेका थिए । अक्सर दलका कार्यक्रममा देखिने यस्तो र्‍यालीले यो पटक फरक स्वाद, फरक उत्साह र सिर्जनात्मक उभार खोजिरहेको छ ।

यही उभारका बीच हामीले प्रथम बागमती साहित्य सम्मेलनको आयोजना गर्दैथियौं । मभित्र एउटा नजानिंदो डर कायम थियो, उद्घाटन सत्रको जस्तो भव्यता बाँकी कार्यक्रममा हुने हो कि होइन !

झाँकीमा स्थानीय समुदायको उल्लेख्य सहभागिता थियो । पञ्चेबाजादेखि भजनसम्म, स्कुले नानीबाबुदेखि देशका जाने–मानेका साहित्यकारसम्म, सर्वसाधारणदेखि सचिव, सभासद, मन्त्री अनि प्रदेश प्रमुखसम्म । वास्तवमा यो एउटा गज्जब उत्सव थियो ।

धादिङका लागि यो बृहत् र पहिलो त छँदैथियो, सरकारीस्तरमा समेत बागमती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयले आयोजना गरेको पनि प्रथम नै थियो । तसर्थ यो उत्सव मात्र थिएन, हाम्रो लागि ऐतिहासिक पनि थियो । अनि यो उत्सवको संयोग त्यत्तिकै जुरेको थिएन, हामी सबैको श्रम, अथक् मिहिनेत र इमानदार कदमको फल थियो ।

‘चितवन कचहरी’को ईर्ष्या

२९ मंसिर २०८१ शनिबारको मन्द चिसो बिहान । म र डा. नवीनवन्धु पहाडी सर न्यानो मन लिएर चितवन हिंड्यौं, चितवनमा आयोजना हुँदै गरेको ‘चितवन कचहरी’को निम्तो मान्न । त्यहाँका साथीहरूले जल्दोबल्दो विषयमा छलफल चलाउन गत वर्षदेखि यस्ता कार्यक्रम गर्दै आउनुभएको थियो । यसमा सहभागी हुन आयोजक सरिता तिवारीजीले हामीलाई निम्तो पठाउनुभएको थियो ।

पहिलो दिनको कार्यक्रम छुटे पनि दोस्रो दिन हामी निर्धारित समयमा नै पुगेका थियौं । त्यहाँ आउनुभएका विभिन्न विमर्शक (प्यानेलिस्ट) एवं केही सहभागीसँग हेल्लो–हाई गरेर हलमा पस्यौं । कार्यक्रमका विषयवस्तु एक–से–एक छानिएका थिए । हामी त्यो दिन असल श्रोता भएर दिनभरि नै बसिरह्यौं, सुनिरह्यौं ।

म भने पटक–पटक यताउति हेरिरहेको थिएँ, प्रत्येक सत्रमा श्रोताको उपस्थिति, मनस्थितिलाई पनि नियालिरहेको थिएँ । कुन सत्रमा कति बसे, कसको प्रतिक्रिया कस्तो रह्यो, बाहिर स्वयंसेवक नानीबाबुको गतिविधि ध्यानले हेरिरहेको थिएँ । आयोजक साथीहरूको दौडधुप, चटारो बेहुलीको घरमा घरमूलीलाई परे जस्तै थियो ।

कार्यक्रमको बीच–बीचमा एउटा प्रश्नले मलाई पटक–पटक घोत्लिन बाध्य बनाइरहेको थियो । यहाँका साथीहरूले यस्ता कार्यक्रम गर्न सक्नुहुन्छ भने हामी धादिङमा साहित्यिक महोत्सव गर्न किन सक्दैनौं ? शायद ममा चितवन कचहरीको नजानिंदो ईर्ष्या पनि जागेको थियो ?

झिल्कोबाट धुवाँ

यसमा मेरा आफ्नै सीमितता थिए । पहिलो कुरा, म अलिअलि साहित्यानुरागी त हुँ तर आफैंमा साहित्यकार होइन । साहित्यिक जमातसँग मेरो ठूलो जान–पहिचान पनि होइन । धादिङ बसेर यहाँको हावापानी खाएर अलिअलि धादिङ्गे भए पनि यहाँको रैथाने होइन । फगत एक सरकारी कर्मचारी, त्यही पनि छुच्चोमध्येको एक वन कार्यालयको कर्मचारी । संयोगले म कर्मचारी मिलन केन्द्र धादिङको अध्यक्षको नाताले एउटा बोल्ने बाटो चाहिं खुला थियो ।

म दिनभरि कुरा सुन्दै, मनमनै गुन्दै रहें । यसो धादिङका साहित्यकारका नाम सम्झें । एक होइन, अनेक चर्चित र विख्यात । मिडियामा पनि स्थानीयदेखि केन्द्रसम्म नै दह्रो उपस्थिति । अहिले मात्र होइन कला, साहित्य र मिडियामा इतिहासदेखि नै चर्चित जिल्ला । म आफैं कर्मचारी मिलन केन्द्रको अध्यक्ष, हाम्रो मिलन केन्द्रको टोली पनि सक्रिय र चुस्त । सबैले साथ दिएमा धादिङमा बागमती साहित्य महोत्सव गर्न सकिन्छ भन्नेमा पुगें ।

‘चितवन कचहरी’ सुन्दै गर्दा मलाई एउटै प्रश्नले बारम्बार घोत्लिन बाध्य बनाइरहेको थियो । यहाँका साथीहरूले यस्तो भव्य कार्यक्रम गर्न सक्नुहुन्छ भने हामी धादिङेले किन सक्दैनौं ? त्यहींबाट गरियो, बागमती साहित्य महोत्सवको रचना ।

त्यो रात चितवन नै बसियो । बिहानै उठेर मसँगै रहनुभएका नवीन सरलाई सुनाएँ । उहाँले वाक्य पूरा हुन नपाउँदै भन्नुभयो, ‘ए मज्जाले सकिन्छ नि, लु गरौं, चाँडै गरौं । बरु तपाईंले नै यसको अगुवाइ गर्नुस् ।’

नवीन सरको कुराले मलाई ठूलो ऊर्जा दियो । मैले तत्कालै धादिङका पत्रकार राजाराम शर्मालाई मेसेज गरें । ‘ओहो दाइ, गज्जब हुन्छ नि ! लु अरू साथी समेत राखेर सल्लाह गरौं’, शर्माजीको कुराले मेरो उत्साह दुगुना भयो । त्यसपछि नीलकण्ठ प्रज्ञा प्रतिष्ठान, यहाँका अन्य सर्जक एवं साधकहरू, मिडियाका साथीहरू, नीलकण्ठ क्याम्पसका सरहरूसँग घनीभूत छलफल शुरू भयो ।

शुभ काममा ढिला गर्नुहुँदैन भन्ने बुढापाकाको मान्यता पछ्याउँदै कर्मचारी मिलन केन्द्रको तर्फबाट हामीले एउटा बैठक बोलाएर छलफल प्रारम्भ गर्‍यौं । र, एउटा असल कामको श्रीगणेश गरियो । झिलिक्क बलेको झिल्कोले केही समिधा पायो, धुवाँ आउन थाल्यो । हामी अझ फुरुंग हुँदै गयौं ।

श्राद्ध गर्न सजिलो, सिदा पुर्‍याउन गाह्रो

कर्मचारी मिलन केन्द्रको आयोजनामा यहाँका सबै सरोकारवालालाई जुटाएर अर्को बैठक राखियो । यो कार्यक्रम गर्न धेरै अगाडिबाट नै कोसिस गरेको तर सकिएको थिएन । हामी युद्धस्तरमा लाग्यौं । नेपालीमा एउटा गज्जब उखान छ– ‘श्राद्ध गर्न त सजिलो, सिदा पुर्‍याउन गाह्रो गाह्रो !’ कार्यक्रम गर्ने त भनियो तर खर्च पुर्‍याउने कसरी ?

आफू कर्मचारी भएको नाताले बागमती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयमा केही बजेट भएको मलाई थाहा थियो । त्यहाँ काम गर्ने भाइसाथीलाई म चिन्थें । त्यही चिनजानको सदुपयोग गर्दै हामी त्यहाँसम्म पुग्यौं र सहज ढंगले एउटा महत्वपूर्ण स्रोत जुटाउन सफल भयौं । यसमा भाइ आशिष खड्काले संयोजनको भूमिका खेले । मन्त्री विमल ठकुरी, तत्कालीन सचिव राजेन्द्रकुमार केसी र वर्तमान सचिव दिपेन्द्र सुवेदी सर अत्यन्त सहयोगी भइदिनुभयो ।

मन्त्रालयबाट कामको निश्चय भएपछि हामीले गति अझ बढायौं । यति खर्चको जुगाड भएपछि हामीलाई हिम्मत आउने त भयो नै त्यसमा नीलकण्ठ नगरपलिकाका प्रमुख भीम ढुंगानाले यत्रो पवित्र काम आँट्नुभएको छ, अगाडि बढ्नूस्, भरथेग पालिकाले गर्नेछ भनेपछि हामी अझ ढुक्क भयौं ।

गुल्जार फागुन

धादिङमा चिसोमा बिहानभरि हुस्सु लाग्ने र गर्मीमा बढी नै गर्मी हुने हुनाले बीचको समय अनुकूल लाग्यो । सबै साथीको सहमतिमा फागुनभित्र सक्ने निर्णय गरियो । फागुनमा देशैभरि साहित्य उत्सव हुँदैथिए, यसले पनि हामीलाई थप उत्साहित बनाएको थियो ।

फागुन आफैंमा गज्जब महिना हो । न जाडो न तातो । यही गुल्जार फागुनको १६ र १७ गतेको टुंगो लगायौं । मिति तय भएपछि हामीलाई थप चाप पर्ने नै भयो ।

बागमती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालय आयोजक, नीलकण्ठ प्रज्ञा प्रतिष्ठान सहआयोजक, नीलकण्ठ नगरपालिका विशेष सहयोगी थियो भने नीलकण्ठ बहुमुखी क्याम्पस, कर्मचारी मिलन केन्द्र, पत्रकार महासंघ लगायत करिब दुई दर्जन संघ–संस्थाको सहकार्य रह्यो ।

कला र संस्कृतिको वरिपरि

हामी यो उत्सवलाई बागमती साहित्य, कला, संस्कृतिसँग जोड्न चाहन्थ्यौं । हाम्रो महोत्सवको मूल नारा नै ‘साहित्य, कला र संस्कृतिको प्रवर्धन, बागमती सभ्यताको सम्वर्धन’ भन्ने थियो । विषयवस्तुको छनोट गर्दा पठन संस्कृतिलाई प्राथमिकता दिने गरी साहित्य, कला र संस्कृतिको वरिपरि नै रह्यौं ।

यिनै विषय समेटेर जिंगल बनायौं । नवीन सरले शब्द कोर्नुभयो, लालकाजीले स्वर तथा सङ्गीत भर्नुभयो र विनोद विम्बितले लोगो तयार गर्नुभयो । तर सबैभन्दा कठिनमध्येको एक काम विषयवस्तु, विमर्शक र सहजकर्ताको छनोट थियो ।

Bagmati Mahotsav Dhading

हामी के कुरामा स्पष्ट थियौं भने, एउटा साहित्यिक उत्सवमा न सबै विषय समेट्न सकिन्थ्यो न सबै विमर्शक र सहजकर्ता अटाउन सकिन्थ्यो । तापनि, यस्ता कार्यक्रममा आयोजकका आफ्नै दुःख हुने रहेछन् । मन परेका विषय र विज्ञ धेरै, धेरै साथीका धेरै रुचि र सिफारिश तर समय छोटो । चाहेर पनि सबैलाई समावेश गर्न नसकिने । जाडोको सानो र छोटो सिरक जस्तै, टाउको छोप्यो, खुट्टा नांगै, खुट्टा छोप्यो, टाउको नांगै । हामीलाई निचोडमा पुग्नु नै थियो । नवीन सरले विषयवस्तुको खाका कोर्नुभयो र निकै रस्साकस्सीपछि त्यसलाई सुझाव सहित अन्तिम टुङ्गो लगाइयो ।

धेरै महोत्सवमा त्यति वास्ता नगरिने युवा तथा बालबालिकाको सेसनलाई हामीले प्राथमिकता साथ राख्यौं । साहित्यिक महोत्सवमा विरलै समावेश हुने चित्रकलाको विषय यो पटक हाम्रो शीर्ष विषयमा छनोट थियो । बागमतीको कला संस्कृति झल्कने र यही विधामा लामो समयदेखि साधनारत हुनुभएका मूर्धन्य चित्रकार हरिप्रसाद शर्मालाई हामीले प्राथमिकतासाथ बोलाउने निर्णय गर्‍यौं । उहाँ र उहाँका छोरा डा. विष्णुप्रसाद शर्मासँग मेरो चिनजानले काम गर्‍यो । कार्यक्रममा उहाँ सबैका आकर्षणका केन्द्र बन्न पुग्नुभयो ।

मूल शीर्षकको बहसमा प्रा.डा. दिनेशराज पन्त, प्रा.डा. वीणा पौड्यालको उपस्थिति निकै गरिमापूर्ण रह्यो । भाषामाथिको अतिक्रमण र आगामी कार्यदिशा जस्ता विषयका साथै महिला लेखन, समालोचनाको वर्तमान, लेखनमा विषय चयनदेखि राजनीतिक तहमा अध्ययन संस्कृतिको खडेरीका सन्दर्भहरूलाई समेत समावेश गरियो ।

विमर्शकमा हामीले नाट्य विधामा संघर्षरत १३ वर्षीय अंशिका जोशीदेखि ८९ वर्षीय हरिप्रसाद शर्मासम्मलाई जोड्न सफल भयौं । कार्यक्रमलाई स्तरीय बनाउन सम्भव भएसम्म कवि, गजलकार, सहजकर्ता, वक्तामा बागमतीका सबै जिल्लाको प्रतिनिधित्व हुने माहोल मिलायौं ।

औपचारिक : अनौपचारिक

यस्ता महोत्सवमा प्रायः औपचारिकता कम हुन्छ । हामीले भने पहिलो पटक गर्न लागिएको, मन्त्रालय नै आयोजक भएको र आगामी वर्षमा पनि मन्त्रालयले यस्ता कार्यक्रम गर्ने माहोल बनाउन सजिलो होस् भन्ने लोभले केही औपचारिक नै बनाउने सल्लाह भयो ।

कार्यक्रमको गरिमा अझ थप होस् भनेर उद्घाटन सत्रमा बागमती प्रदेशका प्रदेश प्रमुख माननीय दीपकप्रसाद देवकोटालाई आमन्त्रण गर्‍यौं । उद्घाटन सत्र सक्नासाथ विमर्श सत्र शुरु गर्‍यौं । सबै विमर्श सत्र आकर्षक नै भए भन्ने बुझाइरह्यो । पहिलो दिनको अन्त्य काव्य सन्ध्या थियो । यो सत्रलाई नीलकण्ठ प्रज्ञा प्रतिष्ठानले व्यवस्थापन गरेको थियो ।

‘माटाको ममतासमान जगमा पाइन्न आफ्नोपन,

आफ्नो देश भुलेर गर्नु नपरोस् अर्को कुनै चिन्तन’ भन्दै कवि सिर्जना अर्यालले कार्यक्रम सुरुआत गरेपछि सबैको ध्यान त्यतै केन्द्रित भयो । कार्यक्रम आधा सकिंदा नसकिंदै वर्षा शुरू भयो । अनि केही कविता वाचन सकेपछि काव्य सन्ध्या स्थगित भयो ।

दबाबमा आयोजक

आयोजक सबै दबाबमा थियौं अनि तनावमा पनि । बिहान ३ः३० बजे नै ब्युँझिएँ । बाहिर मसिनो पानी परिरहेको थियो । दिमागमा एकै कुरा लगातार आइरहेको थियो, १६ गतेको कार्यक्रम त सफल भयो, अब आज १७ गते के होला ? कस्तो होला ?

बिहानै कार्यक्रमस्थल पुगेर हेरें, मञ्च पूरै भिजेको छ । आकाश हेर्छु, मेरो मनभन्दा अँध्यारो छ । त्यो दिनको मौसम हेरें, दिनमा पानीको मात्रा देखाइरहेको छ । अब यति भएपछि अल्मलिनुहुँदैन । साथीहरूसँग फोन–फोनमा सल्लाह गर्दै बाँकी कार्यक्रम सिटी हलमा गर्ने निर्णय गर्‍यौं । त्यहीअनुसार नगरपालिकासँग संयोजन र हल व्यवस्थापन गरियो ।

धादिङका लागि यो बृहत् र पहिलो त छँदैथियो, सरकारीस्तरमा समेत बागमती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयले आयोजना गरेको पनि प्रथम नै थियो । तसर्थ यो उत्सव मात्र थिएन, हाम्रो लागि ऐतिहासिक पनि थियो ।

हिजोको कविता बाँकी नै थियो । कविहरू आफ्ना कविता सुनाएर फर्कन हतार गर्दै हुनुहुन्थ्यो । यता हल खाली छ, कसलाई कविता सुनाउने ? बल्लबल्ल होटलमा बसेका सबै साथीहरूलाई बोलाएर कार्यक्रम सुरु गर्‍यौं । कविताको माहोल बढेसँगै सहभागी पनि थपिंदै जानुभयो ।

उता नीलकण्ठ क्याम्पसमा पूर्वनिर्धारित कार्यक्रम अनुसार बिहानै गजल प्रशिक्षण पनि चल्दैथियो । काव्य उत्सव सकिएपछि अब दोस्रो दिनको सेसन औपचारिक रूपमा शुरु भयो । बिस्तारै माहोल तात्दै, सहभागी थपिंदै, बहस चर्कंदै गएपछि कार्यक्रमले उँचाइ प्राप्त गर्दैगयो । सेसन चलिरहेको छ । ताली बज्दै गयो, सेसन सकिंदै गए, बहस चलिरह्यो ।

क्याबात् !

अन्तिम सत्र सकिएपछि भने म बल्ल भित्रैबाट खुशी भएँ । कार्यक्रम सकियो र सफल पनि भयो, गह्रुङ्गो भारी बिसाइयो । अब गजल सन्ध्या र अन्तिम औपचारिक समापन मात्र बाँकी थियो । गजल सुनाउन १४ जना गजलकार आइसक्नुभएको थियो ।

नेपाल गजल प्रतिष्ठानका अध्यक्ष एवं आयोजकमध्येका एक, गजल सन्ध्याका सञ्चालक लालकाजी श्रेष्ठले जीउ बाङ्गो पार्दै सुरु गरिहाले—

‘कोही चाहिन्न झैं भनिरहन्छौ, को चाहिन्छ ? सिमेन्टको गमलालाई पनि माटो चाहिन्छ ।’

उनले यति के भनेका थिए, सहभागी जुरुक्क भइहाले । त्यसपछि त वर्षात्को खहरे झैं भैगयो, एकपछि अर्को बहार । गजलकार भावभंगीमा रसिकपन ल्याउँदै बर्सन थाले । यता श्रोता वाह् ! वाह् ! क्याबात !

थकानलाई पनि माहोल चाहिने रहेछ । हाम्रो दिनभरिको थकान, दौडधुप कतै विश्राम गर्न गए वा ती पनि गजलमा नै मस्त भए । मञ्चमा रहने त्यहीं झुम्न थाले, हलमा रहने त्यहीं झुल्न थाले । हामी सबैले थकाइ बिस्र्यौं, दुःख बिस्र्यौं ।

हामीले बिर्से पनि समयले सम्झिरहेको थियो । जनाउ दिन थाल्यो, तिमीहरूको सत्र सकियो भनेर । अब हामी चुच्चे ढुङ्गो, उही टुंगो भने झैं फेरि उही थान्कोमान्कोमा आइपुगेका थियौं ।

अन्त्यमा मायाको चिनो, प्रमाणपत्र प्रदान, धन्यवाद ज्ञापन लगायतका काम सकेर फेरि अर्को वर्ष योभन्दा गज्जबको माहोलमा भेट्ने वाचासहित बागमती साहित्यिक महोत्सव समापन गर्‍यौं ।

कमजोरीका जुलुस

कमजोरी एक होइन अनेक रहे । धेरैजसो हामीले नजानेर भए, हाम्रो अनुभवको अभावले भए । कमजोरी पनि गज्जबका हुने रहेछन्, आउने अनि मुसुक्क हाँस्ने । एउटालाई समाधान गर्‍यो अर्कोसँग टुप्लुक्क भेट भइहाल्ने । बल्लबल्ल त्यसलाई बिदा गर्‍यो अर्को आइहाल्ने । केहीलाई हाँसेर बिदा गर्‍यौं, केहीलाई मनभित्र नै कैद गर्‍यौं ।

पूजा सकिएपछि अपुंगो बाँड्न बिर्सिए जस्तै भए कैयौं कुरा । कार्यक्रममा पक्कै केही तितापिरा पनि भए होलान् । कतै चर्को, कतै नरम बोलियो होला । कतिले हाम्रा कुरा काटे होलान् कतिको हामीले कुरा काट्यौं होला तर जेजे असन्तुष्टि भए सबै मनमा राख्यौं ।

शुरूमा विभिन्न विषयमा ११ वटा सत्र चलाउने निर्णय गर्‍यौं । तर केही प्राविधिक समस्या, उद्घाटनमा लाग्ने समय आदिको कारण सत्र ९ वटामा झार्‍यौं । यसमा सारै महत्वपूर्ण मानिएको र मैले नै सहजीकरण गर्ने भनिएको पर्या–साहित्यलाई हामीले बाध्य भएर यो पटक हटायौं । केही विमर्शक र सहजकर्ताको नाम ब्यानरमा रह्यो तर सञ्चालनको समयमा अरू नै हुनुहुन्थ्यो ।

वक्ता, सहजकर्ता, सेसनका समय यताका उता भए, उताका यता भए । कोही थपिए, कोही घटे । अरू उपाय पनि थिएन । त्यसैले जे–जस्तो भयो सिकाइ भयो भन्दै स्वीकार्‍यौं । यति हुँदा पनि हामी दंग थियौं किनकि हाम्रो जप–तप र मिहिनेत सफल भएको थियो ।

अन्त्यमा, अत्यन्त ठूलो संयोग र सौभाग्यले यो कार्यक्रमको संयोजन गर्ने मौका पाएँ जुन मेरो औकात र क्षमताभन्दा माथि थियो । मेरो जागिरे जीवनको अत्यन्त ठूलो उपलब्धि थियो यो । धादिङका जनता, साहित्यकार, पत्रकार, सर्जकले एक जना कर्मचारीमाथि देखाउनुभएको यो अत्यन्त ठूलो विश्वास, सम्मान, सद्भाव थियो ।

यो विश्वास र सम्मानलाई कोसेली ठानेर जतनले सँगाल्नेछु, जीवनभर रोमाञ्च र प्रेरणात्मक ऊर्जाको रूपमा स्पन्दनमा सजाउनेछु र आइपरेका उल्झनहरूलाई फूल दिएर प्रार्थना गर्नेछु । हृदयको भित्तामा यी पलहरू चम्किला स्वर्णाक्षर भएर कुँदिरहनेछन् ।

लेखक
विष्णुप्रसाद आचार्य

लेखक धादिङका डिभिजनल वन अधिकृत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?