
१६ चैत,बुटवल । जनसहभागितामा आधारित असल अभ्यासको बीच अन्तर्राष्ट्रियस्तरको ओआईडीपी अवार्डको अनलाइन भोटिङमा रुपन्देहीको तिलोत्तमा नगरपालिका पहिलो भएको छ ।
स्पेनको इन्टरनेसनल अब्जरभेटरी अन पार्टिसिपेसन डेमोक्रेसी (ओआईडीपी) संस्थाले १९औं संस्करणको अवार्डका लागि मागेको आवेदनमा विश्वका ३७ देशका स्थानीय र प्रदेश सरकार गरी १३७ मध्ये पहिलो चरणमा तिलोत्तमा उत्कृष्ट ४० मा छनोट भएको थियो ।
छनोट भएका ४० आवेदकबीच मार्च २८ सम्म एक हप्ताको अवधि राखेर अनलाइनमार्फत खुला भोटिङ भएको थियो । जसमा तिलोत्तमाले सबैभन्दा बढी १७३६ मत पाएर पहिलो भएको ओआईडीपीले नगरप्रमुख रामकृष्ण खाँणलाई पठाएको पत्रमा जानकारी गराइएको छ ।
खुल्ला भोटको ५० अंक र जुरी (निर्णायक) को ५० अंकका आधारमा अवार्ड विजेता घोषणा गरिने छ । तिलोत्तमा नेपालको मात्र नभई सार्क राष्ट्रहरुमध्येबाट अवार्डको अन्तिम प्रतिस्पर्धामा पुग्न सफल भएको एक मात्र पालिका थियो ।
मे महिनाको २१ देखि २३ सम्म अर्जेन्टिनाको कोर्डोबामा हुने २४ औं ओआईडीपी कन्फेरेन्स (सम्मेलन) मा अवार्ड विजेता घोषणा गरी वितरण गरिने छ ।
ओआईडीपीले विभिन्न पाँचवटा विधामा आवेदन माग गरेकोमा तिलोत्तमा ‘ग्रीन तिलोत्तमा, क्लिन तिलोत्तमा’ अभियानअन्तर्गत पारिस्थितिक संक्रमण र वातावरण (इकोलोजिकलक ट्रान्जिसन एण्ड इन्भाइरन्मेन्ट) विधामा छनोट भएको थियो ।
नगरवासीको वृहत सहभागितामा हरेक महिनाको १ गते र १५ गते नगर सरसफाइ तथा हरियाली प्रवर्द्धन अभियानलाई २०७४ सालदेखि ८ वर्षसम्म निरन्तर सञ्चालन गरेकाले तिलोत्तमा नगरपालिका अवार्डको फाइनलमा पुग्न सफल भएको नगरप्रमुख खांणले बताए ।
पहिलो नगर प्रमुख बासुदेव घिमिरेको पालामा सुरु भएको जनसहभागितामा नगर सरसफाइ तथा हरियाली प्रवद्र्धन अभियानले अहिले १४१औं श्रृंखला सम्पन्न गरेको छ । सोही अभियान अन्तर्गत तिलोत्तमा शून्य खुल्ला पोलिथिन नगर घोषित भएको छ ।
तत्कालीन नगर प्रमुख एवं हालका प्रतिनिधि सभा सदस्य बासुदेव घिमिरेले ओआईडीपी अडार्डमा तिलोत्तमा छनोट हुनुले जनसहभागितामा आधारित सरसफाइ र हरियाली प्रवर्द्धन अभियान नेपालमा मात्र नभइ विश्वमै नमूना र उदाहरणीय काम पुष्टि भएको उल्लेख गरे । उनले यो अभियानलाई नेपालका सबै पालिकाहरुले अनुशरण गर्दा सिंगो नेपाल विश्वकै सफा र सुन्दर देश बन्न सम्भव रहेको बताएका छन् ।
प्रतिक्रिया 4