+
+
Shares

तीनकुनेमा रवीन्द्र मिश्र र धवलको भूमिकाबारे राप्रपामा आपत्ति, बैठक बस्दै

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले आज शनिबार अपराह्न तीन बजे राप्रपा मुख्यालयमा कार्यसम्पादन बैठक बोलाएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १६ गते १३:०१

२६ चैत, काठमाडौं । राजावादी प्रदर्शनका नाममा तीनकुनेमा हत्या, तोडफोड र आक्रमण हुँदा राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा भीडलाई उक्साउन संलग्न भएको विषय यति बेला आम बहसमा छ । राप्रपाले शुक्रबारको हिंसात्मक गतिविधिमा आफ्ना वरिष्ठ नेताहरुको संलग्नता र उत्पन्न परिणामबारे समीक्षा गर्ने भएको छ ।

राप्रपा नेताहरुले आफूहरु संवैधानिक राजसंस्था पुनर्स्थापनाका लागि हुने आन्दोलनहरुमा नेतृत्व र ऐक्यबद्धता जनाउने गरे पनि हिंसात्मक गतिविधि अस्वीकार्य रहेको बताएका छन् । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले आज शनिबार अपराह्न तीन बजे राप्रपा मुख्यालयमा कार्यसम्पादन बैठक बोलाएका छन् ।

‘हिजो तीनकुनेमा भएको हिंसात्मक घटना र त्यसमा हाम्रो पार्टीका कतिपय नेता जोडिएको भनी आइरहेका विषयबारे ध्यानाकृष्ट भएको छ,’ राप्रपाका एक पदाधिकारीले भने, ‘हिंसा अस्वीकार्य छ, यस्ता अराजकतामा हाम्रो पार्टी जोडिने भन्ने प्रश्नै आउँदैन । यसबारे हामी गम्भीर समीक्षा र आवश्यक निर्णय लिन्छौं ।’

भीडलाई उक्साउन राप्रपा वरिष्ठ उपाध्यक्ष तथा आन्दोलन समितिका सदस्य सचिव रवीन्द्र मिश्रले उत्तेजक अभिव्यक्ति दिएका थिए । उनले कुनै पनि आन्दोलन नेतृत्वमा नहुने भन्दै जनतालाई स्वतःस्फुर्त विद्रोहमा आउन अपिल गरेका थिए ।

पूर्वराजासँग समझदारी समयमै नगरे बंगलादेश, सिरिया र श्रीलंकाको नतिजा भोग्नसमेत राप्रपा वरिष्ठ उपाध्यक्ष मिश्रले धम्की दिएका थिए ।

अध्यक्ष लिङ्देनले राजा फर्काउने आन्दोलन पार्टीकै नेतृत्वमा हुनुपर्ने भन्दै आफ्नो कार्यक्रम २६ चैत र ८ वैशाखमा रहेको घोषणा गरेका छन् । उनले जनधनको क्षति गराउने उद्दण्ड क्रियाकलापमा सहभागी नहुन पार्टीपंक्तिलाई निर्देशन पनि दिएका छन् । राज्यपक्षबाट अनावश्यक बल प्रयोग भएको भन्दै राप्रपा नेताहरुले आलोचना गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?