+
+
Shares

अनलाइनखबरमा प्रेस चौतारीको अनुगमन, विचलित नभई पत्रकारिता गर्न आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १६ गते १३:३०

१६ चैत, काठमाडौं । प्रेस चौतारी नेपालले राजावादीहरुबाट शुक्रबार सञ्चारमाध्यम तथा पत्रकारहरुमाथि भएको आक्रमणको अनुगमन सुरु गरेको छ ।

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डे नेतृत्वको टोलीले शनिबार अनलाइनखबरको कार्यालयमा आएर राजावादीहरुको आक्रमणबाट परेको असरवारे जानकारी लिएको हो । टोलीले राजावादीहरुको आक्रमणबाट घाइते भएका अनलाइनखबरकर्मी दिनेश गौतमको स्वास्थ्य अवस्थाका बारेमा पनि जानकारी लिएको छ ।

तीनकुनेमा राजावादीहरुले सुरक्षाकर्मीहरूको अश्रुग्यास प्रहार गरेको बन्दुक खोसेको तस्वीर खिच्ने क्रममा गौतममाथि प्रदर्शनकारीहरुले आक्रमण गरेर घाइते बनाएका थिए ।

अनुगमनपछि प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेले राजावादीहरुले सञ्चारमाध्यमहरुलाई आक्रमणको निशाना बनाएकोमा दुःख व्यक्त गर्दै संलग्नहरुलाई कानूनी कठघरामा उभ्याउन आफूहरुले दबाब सिर्जना गर्ने बताए । उनले उदण्ड आक्रमणकारीको भर्त्सना गर्दै राज्यले अपनाएको संयमकै कारण शुक्रबार थप क्षति हुन नपाएको भन्दै पत्रकार तथा नागरिकको सुरक्षाप्रति गम्भीर हुन सरकारसँग माग गरे ।

प्रेस चौतारीका महासचिव हिरामान लामाले सञ्चारमाध्यमहरुमा त्रास सिर्जना गरेर दक्षिणपन्थी शक्तिहरुलाई स्थापित गर्न खोजिएको भन्दै अविचलित भएर आफ्नो पेसागत काम गर्न अनलाइनखबरकर्मीहरुलाई आग्रह गरे ।

अनलाइनखबरका सम्पादक बसन्त बस्नेतले अनलाइनखबरकर्मी दिनेश गौतम पेसागत जिम्मेवारी निर्वाह गर्दागर्दै प्रदर्शनकारीको उग्रताको शिकार बन्नुपरेको जानकारी गराउँदै उनको स्वास्थ्य अवस्थाको बारेमा जानकारी गराएका थिए ।

फिल्डमा खटिएका पत्रकारहरुले भोगेको अश्रुग्याँस, लाठी, ढुंगा प्रहार आदिका कारण संवेदनशीलता उत्पन्न भए पनि आफूहरु विचलित नभएको र संविधानलाई सर्वोपरि मानेर गणतान्त्रिक परिवर्तनको रक्षा, तथा व्यावसायिक धर्म निर्वाह गरिराख्ने सम्पादक बस्नेतले बताए ।

अनलाइनखबरको नामै किटेर उग्र भीडमा धम्कीपूर्ण माइकिङ भएकाबारे समयमै सुरक्षाकर्मीलाई अवगत गराए पनि ढिलो रेस्पोन्स भएकोमा सम्पादक बस्नेतले असन्तुष्टि जनाएका छन् । उनले ऐक्यबद्धताका लागि प्रेस चौतारीलाई धन्यवाद पनि दिए ।

प्रेस चौतारीले राजावादीहरुको आक्रमणमा परेको कान्तिपुर दैनिक, अन्नपूर्ण पोष्ट लगायतका सञ्चारगृहमा पुगेर अनुगमन गर्ने जनाएको छ ।

राजावादीको आक्रमण कभरेज गर्ने क्रममा एभिन्युजका पत्रकार सुरेश रजकको ज्यान गएको थियो । भीडले कान्तिपुर टिभी, हिमालय टिभी र अन्नपूर्ण पोस्ट कार्यालयमा आक्रमण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?