+
+
Shares
फिल्म :

‘बोङ जुन-हो’ले बनाएका होइनन् ‘मिकी सेभेन्टिन’… 

मिकीको यो काल्पनिक कथा हो, जसलाई ‘बोङ जुन-हो’ले फिल्म ‘मिकी सेभेन्टिन’मा देखाएका छन्, जुन सन् २०२२ मा प्रकाशित ‘एड्वर्ड एस्टन’द्वारा लिखित उपन्यासमा आधारित छ।

ऋतेश ऋतेश
२०८१ चैत १६ गते २१:५१

हिन्दु धर्म अनुसार हामी मान्छेहरूले सात वटा जुनी लिन्छौं भन्ने विश्वास छ। मृत्युपश्चात् हाम्रो आत्मा कर्मअनुसार नयाँ शरीरमा गएर पुनर्जन्म लिन्छ भनेर धर्ममा बताइएको छ। तर, ‘मिकी’ले भने १८ पटकसम्म जन्म लिन्छ।

मिकी आर्थिक समस्यामा छ, त्यसैले ऊ आफ्नो साथीसँग ‘निफ्लहेइम’ नामक ग्रहमा जाने अन्तरिक्ष मिसनमा सामेल हुन्छ। ऊ त्यहाँ ‘एक्सपेन्डेबल’को रूपमा चयन हुन्छ। ‘एक्सपेन्डेबल’ भन्नाले त्यस्तो वस्तु अथवा व्यक्तिलाई जनाउँछ, जसको कुनै मूल्य हुँदैन। तर, त्यसलाई विभिन्न तरिकाबाट पुन: प्राप्त गर्न या जन्माउन सकिन्छ।

यस प्रविधिमा मिकीको मृत्युपश्चात् उसको क्लोन बनाएर उसका सम्पूर्ण पुराना स्टोर गरिएका सम्झनाहरूलाई त्यसमा जस्ताको त्यस्तै फिर्ता हालिन्छ। एकप्रकारले उसको पुनर्जन्म गराइन्छ। मिकीलाई यात्राको क्रममा जहाजका अन्य मान्छेहरूलाई बचाउन, विभिन्न रोगहरूको औषधि बनाउन, जोखिमलाई राम्रोसँग परीक्षण गर्न एक्सपेन्डेबल बनाइएको हुन्छ। यसरी ऊ १६ पटकसम्म मर्छ। १७-१८ पटकसम्म जन्म लिन्छ।

मिकीको यो कथा कुनै धर्म अथवा लोककथामा उल्लेख छैन। यो काल्पनिक कथा हो, जसलाई ‘बोङ जुन-हो’ले फिल्म ‘मिकी सेभेन्टिन’मा देखाएका छन्, जुन सन् २०२२ मा प्रकाशित ‘एड्वर्ड एस्टन’द्वारा लिखित उपन्यास ‘मिकी सेभेन’मा आधारित रहेको छ।

साइ-फाइ उपन्यास ‘मिकी सेभेन’ले मानव अस्तित्व, क्लोनिङ र नैतिक द्विविधा जस्ता गम्भीर विषयहरूलाई उठाएको छ। फिल्ममा मिसनको क्रममा, मिकीले आफ्नो मृत्यु र पुनर्जन्मको चक्रलाई अनुभव गर्छ, जसले उसलाई आफ्नो अस्तित्व र मानवताको बारेमा गहिरो सोचमा खोंचमा पुर्‍याइदिन्छ। सामाजिक वर्ग विभाजन, वातावरण संरक्षण तथा प्रविधिको दुरुपयोग जस्ता जटिलताहरूलाई फिल्मले पुन: एक पटक सतहमा ल्याएको छ।

जब ‘बोङ जुन-हो’ ले नयाँ फिल्म ‘मिकी सेभेन्टिन’ बनाउने घोषणा गरे, अपेक्षाले आकाश छोएको थियो।

हामी केही साथीहरू ‘मिकी सेभेन्टिन’ हेर्न फस्ट डे, फस्ट शो गएका थियौं। हामी उत्साहित थियौं, ठूलो पर्दामा ‘छ’ वर्षपछि फर्किएका ‘बोङ जुन-हो’लाई हेर्न। हलबाट फर्किंदासम्म हाम्रा उत्साहित अनुहारहरू उत्रिसकेका थिए। सायद ‘बोङ जुन-हो’ प्रति हाम्रो अपेक्षा ज्यादा थियो, कम्तीमा प्यारासाइटपछि।

९२औं ओस्कार अवार्डमा ‘बेस्ट फिल्म’, ‘बेस्ट डाइरेक्टर’, ‘बेस्ट ओरिजिनल स्क्रिनप्ले’ र ‘बेस्ट इन्टरनेशनल फिचर फिल्म’ जितेर ‘प्यारासाइट’ले नयाँ इतिहास कोरेको थियो। कुनै पनि दक्षिण कोरियाली फिल्मले त्यसरी ओस्कार जितेको त्यो पहिलो पटक हो। अहिले फिल्म ‘प्यारासाइट’लाई ‘एचबिओ’ले सिरिजको रूपमा विकास गरिरहेको छ। जब ‘बोङ जुन-हो’ ले नयाँ फिल्म ‘मिकी सेभेन्टिन’ बनाउने घोषणा गरे, अपेक्षाले आकाश छोएको थियो।

‘मिकी सेभेन्टिन’ पहिलो पटक १५ फेब्रुअरी, २०२५ मा ७५औं ‘बर्लिन अन्तर्राष्ट्रिय फिल्म महोत्सव’मा प्रदर्शन भएको थियो। त्यसपछि, त्यसलाई दक्षिण कोरियामा २८ फेब्रुअरी, २०२५ मा रिलिज गराइयो। त्यसको एक हप्तापछि ‘वार्नर ब्रदर्स पिक्चर्स’द्वारा, ७ मार्च, २०२५ मा विश्वव्यापी प्रदर्शन गरियो।

अहिलेसम्म फिल्मले विश्वभरबाट $११० मिलियनभन्दा बढी कमाइसकेको छ। २०२५ मा हालसम्म मात्र तीन अन्य हलिउड फिल्महरूले $१०० मिलियनभन्दा बढी कमाएका छन्। तर, ‘मिकी सेभेन्टिन’को $११८ मिलियन बजेटका कारण, फिल्मले हलमा प्रदर्शन भइरहँदा करिब $७५ देखि $८० मिलियन घाटा बेहोर्ने अनुमान गरिएको छ। फिल्मलाई नाफामा पुग्न करिब $३०० मिलियन कमाउनुपर्ने हुन्छ, जुन लक्ष्य ‘मिकी सेभेन्टिन’ले पूरा गर्न नसक्ने अवस्थामा देखिन्छ।

सुरूवातमा केही क्रिटिक्सहरूले फिल्मलाई राम्रो भने, विशाल र भव्य प्रोडक्शन डिजाइन, जटिल भिजुअल इफेक्टहरू समेटेर पनि मौलिक कथा भन्न सक्ने निर्देशक भनेर ‘बोङ जुन-हो’को धेरैले तारिफ गरे। तर, दर्शकहरूले फिल्मलाई त्यति रूचाएनन्।

फिल्म २८ फेब्रुअरी, २०२५ मा दक्षिण कोरियामा रिलिज भएको थियो। ‘मिकी सेभेन्टिन’ आफ्नो देशमा भने कोभिडपछि सबैभन्दा ठूलो ओपनिङ गर्ने फिल्म बन्न पुग्यो, जसले $१.७ मिलियन कमाएर ‘रोबर्ट पेटिन्सन’को २०२२ को फिल्म ‘द ब्याटम्यान’ले कायम गरेको रेकर्डलाई समेत तोड्यो। तर, निर्देशक ‘बोङ जुन-हो’बाट निर्देशित ‘रोबर्ट पेटिन्सन’, ‘नाओमी एकी’, ‘स्टिभेन युन’, ‘टोनी कोलेट’, ‘मार्क रफालो’ जस्ता स्टार कलाकारहरूले समेत ‘मिकी सेभेन्टिन’लाई बचाउन सकेनन्।

सुरूवातमा केही क्रिटिक्सहरूले फिल्मलाई राम्रो भने, विशाल र भव्य प्रोडक्शन डिजाइन, जटिल भिजुअल इफेक्टहरू समेटेर पनि मौलिक कथा भन्न सक्ने निर्देशक भनेर ‘बोङ जुन-हो’को धेरैले तारिफ गरे। तर, दर्शकहरूले फिल्मलाई त्यति रूचाएनन्। प्यारासाइटपछि जस्तो किसिमको अपेक्षा थियो, त्यो भएन।

फिल्मले क्लोनिङको कन्सेप्टमा श्रमिकहरूमाथि हुने अमानवीय व्यवहारलाई गहिराइमा खोतल्ने प्रयास गरेको छ, तर कथा भने अनुसार प्रभावकारी बन्न सकेको छैन, कम्तीमा मलाई त्यस्तै लाग्यो। निर्देशक आफैं फिल्ममा देखाइएका विचित्रका जीव र सतही राजनीतिक व्यंग्यहरूमा अल्झिन पुगेका छन्।

‘बोङ जुन-हो’को ‘मिकी सेभेन्टिन’ बिल्कुलै नयाँ लाग्दैन। उनका फिल्महरूमा धेरै समानता भेटिन्छन्। उनले प्रयोग गर्ने बिम्बहरू दोहोरिरहेका हुन्छन्, जसले गर्दा फिल्म-निर्माण शैली तथा कथावाचन उस्तै लाग्छ। उनका अधिकांश फिल्ममा सामाजिक वर्गीय भेदभाव, आर्थिक असमानता र सामाजिक व्यवस्थाका बारेमा आवाज उठिरहेका हुन्छन्।

‘प्यारासाइट’मा धनी र गरिबबीचको भेदलाई र ‘स्नोपियरसर’मा वर्गीय संघर्षलाई प्रमुख स्थान दिइएको थियो। ‘मिकी सेभेन्टिन’मा क्लोनिङ र एक्सपेन्डेबल जस्ता बिम्बहरूलाई सामूहिक तथा व्यक्तिगत असमानताका प्रतीकको रूपमा प्रयोग गरिएका छन्। फिल्ममा मिकीले आफ्नो अस्तित्वको खोजी गर्छ।

कुनै शंका छैन, ‘बोङ जुन-हो’मा साइ-फाइ शैलीमा मानव अस्तित्व र मानवताका बारेमा गहिरो विचार गर्ने विशेषता रहेको छ।

उनका फिल्महरूमा मानवीय संवेदनाको डोरी बाँधिएको हुन्छ। जसरी ‘प्यारासाइट’ र ‘मदर’जस्ता फिल्महरूले परिवार तथा आफ्नाप्रतिको सम्बन्धलाई गहिराइमा लिएर गएको छ, त्यसरी नै ‘मिकी सेभेन्टिन’ले मिकी र नाशाबीचको सम्बन्ध र सहयोगको बिम्बलाई मानवीय संवेदनाको रूपमा देखाइएको छ।

कुनै शंका छैन, ‘बोङ जुन-हो’मा साइ-फाइ शैलीमा मानव अस्तित्व र मानवताका बारेमा गहिरो विचार गर्ने विशेषता रहेको छ। ‘स्नोपियरसर’ र ‘ओक्जा’जस्ता फिल्महरूमा पात्रहरू प्राकृतिक संसाधनहरूको शोषण र मानवअधिकारका लागि लडेका छन्।

ठ्याक्कै त्यसरी नै ‘मिकी सेभेन्टिन’ले पनि क्लोनिङ र मृत्युलाई पुनःजीवित गर्ने प्रविधिको माध्यमबाट मानव अस्तित्वका गम्भीर प्रश्नहरू उठाउँछन्। फिल्मले आत्मा, स्मृति र जीवनको मूल्य जस्ता गहिरा दार्शनिक प्रश्नहरूको जवाफ खोजेको छ।

उनका हरेक फिल्ममा राजनीति र शक्ति संघर्ष देखिन्छन्। ‘स्नोपियरसर’मा सामाजिक क्रान्ति र वर्गीय संघर्षलाई महत्त्व दिइएको छ भने ‘ओक्जा’मा कर्पोरेट अपराध र प्रकृतिक शोषणको विरोध गरिएको छ। ‘मिकी सेभेन्टिन’मा पनि राजनीतिक संघर्ष र प्रणालीको विरोध गरिरहेको संकेत पाउँछौं।

फिल्ममा ‘मार्क रफालो’द्वारा अभिनीत ‘केनेथ मार्शल’ नामक स्पेसशिप कप्तानलाई ‘ट्रम्प’जस्तै देखाइएको छ, जसलाई धार्मिक अतिवादी समूहहरूसँगको सम्बन्धले आफ्ना समर्थकमाझ लोकप्रिय बनाउने साधनको रूपमा काम गरेको छ। तर, निर्देशकले मार्शल कुनै विशेष व्यक्तिमा आधारित नभएर, इतिहासमा देखिएका विभिन्न राजनीतिज्ञ र तानाशाहहरूको मिश्रण हो भनेर स्पष्ट पारेका थिए।

‘मिकी सेभेन्टिन’ले प्रयोग गरेको राजनीतिक परिप्रेक्ष्य र सामाजिक व्यवस्थामा असमानतालाई व्याख्या गर्ने शैली बोङ जुन-होका अघिल्ला फिल्मसँग मेल खान जान्छ।

उनका फिल्महरूमा प्राकृति र मानव निर्मित वातावरणको बीचमा अन्तरसङ्घर्ष देखिन्छ। ‘द होस्ट’ र ‘ओक्जा’ले प्राकृतिसँग मानवको क्रूरता र शोषणलाई मजेदार ढङ्गले प्रस्तुत गरेका थिए। त्यही दोहोरिएको छ, फिल्म ‘मिकी सेभेन्टिन’मा पनि। फिल्ममा हिमाली भूमि र त्यहाँ बस्ने क्रिपर्सलाई प्रकृतिको प्रतीकका रूपमा प्रस्तुत गरिएको छ, जसलाई मानव प्रजातिले आफ्नो लाभको लागि प्रयोग गर्न खोज्छ। जसरी उनका फिल्महरूमा मानव अस्तित्व र भावनात्मक जटिलतालाई गहिरो रूपमा देखाइन्छ, त्यसरी नै ‘मिकी सेभेन्टिन’ले पुनर्जन्म र स्मृतिको पुनर्स्थापन जस्ता भावनात्मक र अस्तित्ववादी संघर्षलाई देखाउने कोसिस गरेको छ।

‘मिकी सेभेन्टिन’ र बोङ जुन-होका पछिल्ला फिल्महरूमा सामाजिक दृष्टिकोण, राजनीतिक पक्ष र मानवताको संघर्षका बिम्बहरू दोहोरिरहेका देखिन्छन्। फिल्ममा क्लोनिङ र विविध व्यक्तित्वबीचको द्वन्द्व, सामाजिक असमानता र क्लोनहरूको अस्तित्व जस्ता थिमहरू छन्, जुन बोङ जुन-होले पहिलेका फिल्महरूमा पनि प्रयोग गरेका थिए। फिल्म नयाँ भएतापनि यसको थिम र शैली निर्देशकका अघिल्ला फिल्महरूसँग मेल खान्छ। यस्तो लाग्छ, ‘मिकी सेभेन्टिन’ उनकै पुराना फिल्महरूको मिश्रण हो।

‘मिकी सेभेन्टिन’ कमजोर छ। इमानदारी भएर भन्ने हो भने यसमा मौलिकता देखिंदैन। बोङ जुन-होले  फिल्मलाई उपन्यासभन्दा फरक बनाउने प्रयास गरे पनि, यसको कथानकमा वर्गसंघर्ष, मानव अस्तित्व र सामाजिक व्यवस्थाको आलोचना जस्ता पहिले नै देखिएका विचार र बिम्बहरू छन्। ‘प्यारासाइट’ र ‘स्नोपियरसर’जस्ता फिल्मले वर्गीय विभाजनलाई गहिराइ दिएका थिए। तर, ‘मिकी सेभेन्टिन’मा मुख्य पात्रको संघर्षमा हामी त्यति भावनात्मक रूपमा जोडिन सक्दैनौं।

जलवायु परिवर्तन, राजनीतिका विषय, अहंकारी तानाशाह, पूँजीवाद, मानव अस्तित्व, वर्ग विभाजन जस्ता विषयहरू उठाइए पनि फिल्मले निश्चित रूपमा केहीलाई पनि न्याय गरेको जस्तो लाग्दैन।

हामीलाई पात्रहरूको द्वन्द्वमा पनि मनोवैज्ञानिक गहिराइको कमि महसुस हुन्छ। अरू फिल्ममा उनका पात्रहरूको चरित्र विकास राम्रोसँग भएको हुन्थ्यो। तर, ‘मिकी सेभेन्टिन’ पात्रहरू निकै सतही लाग्छन्। रफालोको मार्शल पात्र शुरूमा केही रोचक लाग्छ, तर पछि अत्यधिक रूपमा अतिरञ्जित भइसक्छ, उनी कार्टुन जस्तै देखिन्छन्। नाशाको भूमिकालाई ‘नाओमी एकी’ले राम्रोसँग निभाएकी छिन्, तर उनको चरित्रलाई कथा अगाडि बढ्दा राम्रोसँग विकसित गरिएको छैन। ‘टिमो’ पहिलो केही दृश्यहरूमा मजेदार लाग्छ, तर पछि उही दोहोरिन थालेको महसुस हुन्छ। फिल्ममा कमेडी बढी लाग्छ। सामाजिक र राजनीतिक व्यंग्य अनावश्यक लाग्छ।

मिकी १७ र मिकी १८ को अन्तरिक द्वन्द्वलाई अझ राम्रोसँग प्रस्तुत गर्न सकिन्थ्यो। फिल्ममा एक्सपेन्डेबल प्रणालीको मनोवैज्ञानिक असर, मिकीको त्यो प्रक्रियासँगको बानी र उसको पुरानो तथा नयाँ संस्करणबीचको विभाजन जस्ता पक्षहरूलाई गहिराइमा लैजान सकिन्थ्यो। फिल्म प्रिडेक्टिबल छ। फिल्मले क्लोनिङ र एक्सपेन्डेबल जस्ता प्रविधिलाई प्रयोगमा ल्याएको छ, तर कथाले त्यसलाई गहिरोसँग अध्ययन गरेको छैन।

तर, यो भनिरहँदा फिल्म प्राविधिक रूपमा भने उत्कृष्ट छ। सिनेमाटोग्राफी, ध्वनि र डिजिटल भिएफएक्स निकै प्रभावशाली छन्। बोङ जुन-होका फिल्महरूमा ‘टोन सिफ्ट’ जबरजस्त हुने गर्छ। कमेडीबाट थ्रिलर, अनि थ्रिलर हुँदै भयानकतासम्म। तर, ‘मिकी सेभेन्टिन’को टोन भने स्थिर छ। फिल्म न पूर्ण रूपमा गम्भीर साइ-फाइ जस्तो लाग्छ, न त पूर्ण रूपमा व्यंग्यात्मक कमेडी। कथामा एकै प्रकारको टोन भएको हुँदा हामीलाई फिल्ममा उतारचढाव खासै महसुस हुँदैन।

‘रोबर्ट पेटिन्सन’ एक प्रतिभाशाली अभिनेता हुन्, तर ‘मिकी सेभेन्टिन’मा उनको अभिनय खास लाग्दैन। बोङ जुन-होले आफ्नो फिल्मोग्राफीमा नयाँपन ल्याउने प्रयास गरे पनि, फिल्ममा भावनात्मक गहिराइको अभाव, प्रिडेक्टिबल कथा, दोहोरिएको शैली र पात्रहरूको कमजोर विकासले फिल्मलाई अपेक्षाभन्दा कमजोर बनाएको छ।

दुई घण्टाको फिल्मले धेरै विषयवस्तु र समस्याहरू समेट्न खोजेको छ, त्यसैले पनि फिल्म चार घण्टाजति लामो लाग्छ। जलवायु परिवर्तन, राजनीतिका विषय, अहंकारी तानाशाह, पूँजीवाद, मानव अस्तित्व, वर्ग विभाजन जस्ता विषयहरू उठाइए पनि फिल्मले निश्चित रूपमा केहीलाई पनि न्याय गरेको जस्तो लाग्दैन।

‘बोङ जुन-हो’को ‘मिकी सेभेन्टिन’ कमजोर छ। यस्तो लाग्छ, यो उनले बनाएको फिल्म नै होइन, उनको क्लोनले बनाएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?