+
+
Shares

३२ जनाको नाम राखेर सार्वजनिक वक्तव्य विवादित, नाम ‘किर्ते’ भएको गुनासो

कतिपयको नाम किर्ते गरेर राजावादीलाई साथ दिएको आसयको अपिल सार्वजनिक गरेपछि भाष्करराज राजकर्णिकारदेखि टिकाराम यात्रीसम्मको आलोचना भइरहेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १६ गते १६:१५

१६ चैत, काठमाडौं । राजावादीको प्रदर्शनको अघिल्लो दिन पत्रकार, कलाकारसहित ३१ जनाको नाम समावेश गरेर अपिल सार्वजनिक भयो । त्यसमा एभिन्युज टीभीका मालिक भाष्करराज राजकर्णिकार, उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षहरू कुशकुमार जोशी, भवानी राणा, पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, पत्रकारहरू युवराज घिमिरे, टीकाराम यात्री, जीवराम भण्डारी, अधिवक्ता स्वागत नेपाल, कलाकार दीपकराज गिरी लगायतको नाम छ ।

हस्ताक्षर विना सार्वजनिक भएको त्यो अपिलमा राजावादीलाई प्रदर्शनको अधिकार हुने र कुनै अप्रिय घटना भएमा सरकार जिम्मेवार हुने उल्लेख थियो । तर, राजावादीले तीनकुनेमा गरेको प्रदर्शन हिंसात्मक भयो ।

एभिन्युज टिभीकै क्यामरापर्सन सुरेश रजक र कीर्तिपुरका सविन महर्जन गरी दुई जनाको ज्यान गयो । थुप्रै घाइते भए । प्रहरी कार्यालय, व्यापारिक केन्द्रहरू, राजनीतिक पार्टीका कार्यालयहरू, सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड र आगजनी भयो ।

अहिले धेरैले अपिल सार्वजनिक गर्नेहरू पनि कारबाहीको भागिदार भन्दै सामाजिक सन्जालमा आक्रोश पोखिरहेका छन् ।

अपिलमा के छ ?

६ बुँदे अपिलको पहिलो नम्बरमा ‘वर्तमान व्यवस्था र व्यवस्थापन दुवैप्रति जनतामा रहेका गुनासाहरू र सोको सुधारका लागि जनताले उठाएका आवाजहरूप्रति ऐक्यवद्धता प्रकट’ गरिएको छ ।

यसैगरी दोस्रो नम्बरमा ‘आन्दोलनका स्वरुपहरूलाई पूर्णरुपमा अहिंसात्मक र शान्तिपूर्ण बनाउन आन्दोलनरत पक्षसँग अनुरोध’ गरिएको छ ।

तेस्रो बुँदामा ‘आन्दोलनलाई अनियन्त्रित हुन नदिन सरकार पक्षबाट यथाशीघ्र वार्ता र सहमति, वार्ता र संवादका लागि आह्वान गर्न’ अपिल गरिएको छ ।

चौथो बुँदामा ‘जनताका शान्तिपूर्ण आवाज र मागहरूविरुद्ध राजनीतिक नेतृत्व तथा सरकारी तहबाट अशिष्ट अभिव्यक्ति तथा प्रतिकारात्मक गतिविधि एवं बल समेत प्रयोग नगर्न’ अनुरोध गरिएको छ ।

पाँचौं बुँदामा ‘राष्ट्रिय, अन्तर्राष्ट्रिय मानवअधिकारवादी संघसंस्था, पर्यवेक्षकहरूलाई निष्पक्ष तथा विवेकपूर्ण अनुगमन’का लागि अपिल गरिएको छ ।

छैटौं बुँदामा ‘प्रजातान्त्रिक व्यवस्थामा निषेध किमार्थ हुन सक्दैन’ भन्दै राज्यसत्ता र त्यसको नेतृत्वमा रहेकाहरूको वर्तमानको गतिविधिले निषेधको तृष्णा देखाउने उल्लेख छ । यस बुँदामा थप लेखिएको छ, ‘हामी तपशीलका विभिन्न संस्था र विधामा आबद्ध व्यक्तिहरू सरोकारवालालाई सतर्क र सचेत पनि गराउन चाहन्छौं । यदि परिस्थिति नियन्त्रण बाहिर जाने अवस्था भयो भने यसको जिम्मेवार स्वयं सरकार हुनेछ ।’

यसरी ६ बुँदा लेखिसकेपछि ३२ जनाको नाम उल्लेख छ ।

अपिलमा ककसको छ नाम ?

६ बुँदे अपिलमा सुरुमा भाष्करराज राजकर्णिकारको नाम छ । त्यसपछि उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षद्वय कुशकुमार जोशी र भवानी राणा तथा मनीषा कोइरालाको नाम छ ।

अर्को पानामा विनोदबहादुर श्रेष्ठ, राजाराज गिरी, दीपक गिरी, युवराज घिमिरे, किशोर प्रधान, दिरेकलाल श्रेष्ठ, निर्मलराज पौडेल, श्याम कँडेल, जीवराम भण्डारी, ध्रुवनारायण श्रेष्ठ, दिनेश श्रेष्ठ, विक्रम पाण्डे, डा. गोपाल तिवारी, स्वागत नेपालको नाम छ ।

यसैगरी, अनिल योगी, किशोर थापा, भीम उदास, उत्तमकृष्ण श्रेष्ठ, सुरेन्द्रवीर मालाकार, आशिष शेरचन, मधुसुदन थापा, टीकाराम यात्री, दुर्गाबहादुर थापा, जेसन वैद्य, यज्ञराज अधिकारी, एजी शेर्पा र सर्वेन्द्र खनालको पनि नाम छ । तर कसैको हस्ताक्षर छैन ।

पूर्वसचिव किशोर थापाका अनुसार बिहीबार काठमाडौंमा संयुक्त छलफल आयोजना भएको थियो । त्यसपछि अपिल सार्वजनिक गरिएको हो । शुक्रबार अनलाइनखबरसँगको कुराकानीमा थापाले भनेका थिए, ‘अपिलमा उल्लेख नाम मेरै हो । त्यसमा मेरो सहमति छ ।’ उनले त्यतिबेला आफू बाटोमा हिँडिरहेकाले थप कुरा गर्न नसक्ने बताएका थिए ।

तर कतिपयले भने अपिलमा लेखिएका बुँदाहरूमा आफ्नो असहमति रहेको जनाएका छन् । अनुमति विना आफूहरूको नाम राखेर किर्ते गरिएको भन्दै उनीहरूले आपत्तिसमेत जनाएका छन् ।

ककसको छ असहमति ?

नेपाल प्रहरीका पूर्वआईजीपी सर्वेन्द्र खनालले आफ्नो नाम किर्ते भएको बताए । ‘वक्तव्यमा मेरो हस्ताक्षर पनि छैन, यसमा सहमति पनि छैन,’ उनले अनलाइनखबरसँग भने, ‘देशमा नयाँ पार्टीहरू पनि जन्मिए तर डेलिभरी दिन सकेनन् । त्यसैले जनताले नयाँ नेता खोजिरहेकाले अब अर्को शक्ति चाहिन्छ भन्ने मेरो पहिलेदेखिकै धारणा हो । तर वक्तव्यमा मेरो सहमति छैन ।’

आफूले प्रदर्शनमा मुठभेड हुनसक्ने भएकाले सजग हुनुपर्छ भनेको तर राजवादीको प्रदर्शनमा सहयोग गर्नुपर्छ नभनेको जिकिर उनले गरे ।

पत्रकार टिकाराम यात्रीले पनि उक्त वक्तव्य प्रति असहमति व्यक्त गरेका छन् । उनले आज भिडियो सार्वजनिक गर्दै आफू कार्यक्रममा सहभागी भएको स्वीकार गर्दै भनेका छन्, ‘राजनीतिक पद्दति र प्रणालीका दृष्टिकोणले अहिले खराब होला तर ताप के हो भने यहाँबाट जान खोजेको भुङ्ग्रो कदापि होइन भन्ने थियो । यो सार भए तपाईंहरूले बुझ्नु हुन्छ होला ।’

उनले कहिलेकाहिँ कुनै कार्यक्रममा जाँदा मनले खाएका टार्न नसकिनेहरूले बोलाउँदा पनि पुनर्विचार गर्नुपर्ने रहेछ भन्ने पाठ सिकेको बताएका छन् ।

यसैगरी, श्याम कँडेलले आफ्नो सहमति बेगर नाम प्रयोग गरिएको भन्दै आपत्ति जनाए । उनले अपिलको भाषा र भावसँग पनि आफ्नो सहमति नभएको बताए ।

उनले फेसबुकमा लेखेका छन्– ‘विभिन्न सञ्चार माध्यममा अपिल भन्दै सहमति र हस्ताक्षर बिना मेरो नाम उल्लेख भएको पाएँ । प्रस्तुत ‘अपिल’ प्रति मेरो सहमति छैन ।

आफू उक्त छलफलमा बोलाइएकाले पुगेको तर कुनै विचार नराखी फर्किएको भन्दै उनले अपिलमा प्रयोग गरिएको भाषा र भावप्रति आफ्नो असहमति रहेको बताए ।

‘अपिलको भाषा र भावसँग मेरो सहमति छैन, मेरो हस्ताक्षर र सहमति बेगर नाम प्रयोग गरिएकोमा म आपत्ति जनाउन चाहन्छु,’ कँडेलले अनलाइनखबरसँग भने, ‘व्यक्तिगत सम्बन्धका आधारमा उहाँहरूले विषय उल्लेख नगरी बोलाएको छलफलमा केही मिनेट म पुगेको थिएँ, त्यहाँ कुनै विचार मैले राखेको थिइनँ ।’

उनले आयोजकहरूले नाम प्रयोग गर्ने विषयमा सहमति पनि नलिएको भन्दै भने, ‘एकाएक मेरो नाम प्रयोग गरी अपिल जारी गरेको देखेर आश्चर्यमा परेको छु ।’

कसले गर्‍यो किर्ते ?

छलफलको आयोजना भाष्करराज राजकर्णिकारले गरेका थिए । कार्यक्रम आयोजना गर्न राजा फर्काउन भन्दै गठन गरिएको राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन परिचालन समितिका प्रवक्ता स्वागत नेपाल पनि सक्रिय थिए । उनले केही व्यक्तिलाई फोन गरेर कार्यक्रममा बोलाएको स्रोतले बतायो । स्रोतका अनुसार अपिलको भाषा र शैली लेखनमा पनि उनी नै संलग्न थिए ।

केही दिनयता राजसंस्थाको पक्षमा खुलेर वकालत गर्दै आएका नेपाललाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?