
१६ चैत, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजावादीले प्रेसमाथि अंकुश चाहेको बताएका छन् । विगतमा राजतन्त्र सक्रिय हुँदा प्रेसमाथि दमन भएको उल्लेख गर्दै उनले फेरि पनि उनीहरू प्रेसप्रति रुष्ट रहेको बताए ।
शनिबार राजधानीमा प्रेस सेन्टर नेपालको पाँचौ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।
‘चैत १५ को उनीहरूको प्रदर्शनका क्रममा मानिसको ज्यान गयो । गाडीहरू जलाइयो । एक जना पत्रकारको जलाएर हत्या गरियो,’ प्रचण्डले भने, ‘हिजो राजतन्त्रमा सबैभन्दा बढी आक्रमणको सिकार प्रेस भएको थियो । प्रेसमाथि अंकुश लगाउने उनीहरूको जोड हुन्थ्यो । उनीहरू अहिले पनि त्यस्तै चाहन्छन् ।’
तर, विगतमा जस्तो प्रेसमाथि नियन्त्रण सम्भव नरहेको ख्याल गर्न राजावादीलाई प्रचण्डको आग्रह छ ।
अध्यक्ष प्रचण्डले शुक्रबार समाजवादी मोर्चाको प्रदर्शनका कारणले समेत राजावादी हतोत्साहित हुन पुगेको टिप्पणी गरे ।
‘हिजो मोर्चाको कार्यक्रम राखेकोप्रति धेरैले बधाई र धन्यवाद दिए । समाजवादी मोर्चाले पचासौं हजारौं जनता हिजो सडकमा नउतारेको भए, हिजो धेरै ठूल्ठूला दुर्घटना हुने खतरा थियो,’ प्रचण्डले भने ।
उनी थप्छन्, ‘त्यहाँ (समाजवादी मोर्चाको प्रदर्शनमा) हिजो ५० औं हजार जनता नउत्रिएको भए, यतिमात्रै होइन, अझै ठूलो घटना हुन्थ्यो । हामीले हिजो कार्यक्रम राखेकै कारणले धेरै धनजनको क्षति हुनबाट बच्यो ।’
प्रतिक्रिया 4