१६ चैत, काठमाडौं । नेपाल पुलिस क्लबका स्पीनर ललित राजवंशी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।
शनिबार सम्पन्न पीएम कप क्रिकेटको उपाधि विजेता नेपाल पुलिसका लागि उच्च प्रदर्शन गरेका ललित सर्वोत्कृष्ट घोषित भएका हुन् ।
ललितले प्रतियोगिताभर १० खेलमा ४१ विकेट लिएका थिए । उनले ३ खेलमा ६-६ विकेट लिएका भने २ खेलमा ५-५ तथा २ खेलमा ४-४ विकेट लिएका थिए ।
उनको बेस्ट बलिङ प्रदर्शन सुदूरपश्चिम प्रदेशविरुद्ध ७ ओभरमा १५ रन दिएर ६ विकेट थियो । उनको इकोनोमी २.७५ को मात्र रह्यो । उत्कृष्ट बलर पनि ललित नै घोषित भए ।
त्यस्तै प्रतियोगिताको उत्कृष्ट ब्याटर गण्डकी प्रदेशका अर्जुन कुमाल घोषित भए । उनको टोली २ जितसहित नवौं स्थानमा फिनिस गरेपनि उनले प्रतियोगितामा सर्वाधिक रन बनाए ।
उनले ९ खेलमा १ शतक र २ अर्धशतकसहित ३७४ रन बनाए । ४१.५५ को औसतमा ब्याटिङ गरेका उनले मधेश प्रदेशविरुद्ध शतक बनाएका थिए ।
उदीयमान खेलाडीमा त्रिभुवन आर्मी क्लबका तृतराज दास घोषित भए । उनले १० खेलमा १ शतकसहित ३६५ रन बनाएका थिए ।
प्रतिक्रिया 4