
१६ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आर्थिक जरिवाना गरेको विषयलाई राप्रपा नेपालका अध्यक्ष कमल थापाले हास्यास्पद भनेका छन् ।
काठमाडौं महानगरपालिकाले पूर्वराजा शाहलाई विभिन्न शीर्षकमा सात लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेको समाचार सार्वजनिक भएसँगै थापाले सामाजिक सञ्जाल मार्फत प्रतिक्रिया जनाएका हुन् ।
‘तीनकुनेमा चैत १५ गते भएको कार्यक्रमलाई लिएर राजा ज्ञानेन्द्रलाई जरिवाना गर्ने काठमाडौं महानगरपालिकाको निर्णय हास्यास्पद छ । ‘गलत ठेगानामा पठाइएको पत्र’ जस्तो ‘स्टन्ट’ भयो,’ अध्यक्ष थापाले भनेका छन् ।
उनले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहबाट त्रुटि भएको भन्दै यसबाट आफू अलमलमा परेको जनाएका छन् ।
‘संयुक्त जनआन्दोलन समिति र नागरिक बचाउ अभियानले जिल्ला प्रशासनसँग स्वीकृति लिएर कार्यक्रम गरेको रेकर्ड हेर्न महानगरपालिकालाई आग्रह छ,’ थापाले लेखेका छन्, ‘पत्रको भाषा पनि अशिष्ट र अमर्यादित छ । राजाको कुरा छोडिदिउँ, उहाँ पूर्वराष्ट्राध्यक्ष पनि हुन्छ भन्ने महानगरपालिकाले हेक्का राख्नु पर्ने थियो ।’
थापाले आर्थिक जरिवानाको पत्र फिर्ता लिनु बुद्धिमानी हुने भन्दै बालेनलाई सुझाव दिएका छन् ।
महानगरले शुक्रबार तीनकुनेमा भएको प्रदर्शनलले विभिन्न किसिमका क्षति पुर्याएको भन्दै विभिन्न ९ वटा शीर्षकमा गरेर सो रकमको जरिवाना तोकेको हो ।
शुक्रबारको प्रदर्शनलाई थापा नेतृत्वको राप्रपा नेपालले पनि समर्थन जनाएको थियो । बिहीबार साँझ विज्ञप्ति निकाली प्रदर्शनमा सक्रिय सहभागी हुन आफ्नो पार्टीका समर्थकलाई आह्वान गरेका थिए ।
प्रतिक्रिया 4