१७ चैत, काठमाडौं । विकास समिति अन्तर्गत सञ्चालन भइरहेका संघीय अस्पतालको आम्दानीबाट एक प्रतिशत रकम स्वास्थ्य बीमा कोषमा जम्मा हुने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले संघीय अस्पताल विकास समितिको कुल आम्दानीको एक प्रतिशत कोषमा जम्मा गराउने निर्णय गरेका छन् ।
आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्री पौडेलले यसबारे निर्णय गरेको मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले जानकारी दिएका छन् । प्रवक्ता डा.बुढाथोकीका अनुसार विकास समिति अन्तर्गत सञ्चालन भइरहेका अस्पतालहरूको आम्दानी कोष जम्मा गर्ने निर्णय भएको हो ।
२२ संघीय अस्पतालमध्ये १६-१७ वटा अस्पताल विकास समितिमार्फत सञ्चालन हुँदै आएका छन् ।
स्वास्थ्य बीमा ऐनमा व्यवस्था भए पनि हालसम्म सक्रिय नभएको स्वास्थ्य बीमा कोष सक्रिय बनाउने र सो रकम कोषमार्फत नै जम्मा गराउने निर्णय मन्त्री पौडेलले गरेका हुन्। स्वास्थ्य मन्त्रालयको यो तयारीलाई अर्थ मन्त्रालयले सहमति समेत दिइसकेको छ।
यो निर्णयसँगै कोषमा केही रकम थप जम्मा हुने मन्त्री पौडेलले बताए । ‘स्वास्थ्य बीमा कोषलाई बलियो पारेर मात्र स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारिता वृद्धि गर्न सकिन्छ भन्ने हाम्रो विश्वास हो’ मन्त्री पौडेलले भने, ‘हामीले यो कोष बलियो पार्नका लागि सानो बिन्दुबाट सुधार थालेका हौँ।’ मन्त्री पौडेलले आगामी दिनमा स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदनमा आधारित रहेर थप सुधार कार्य अघि बढाउने बताए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले प्रगतिशिल प्रिमियम, राज्यका विभिन्न स्वास्थ्य बीमा योजनाको रकमका अतिरिक्त सरकारले दिँदै आएको उपचार सहायता तथा विभिन्न तहका सरकारका नागरिक उपचार सहायतासमेत थपेर कोष बलियो पार्न सकिने राय राख्दै आएका छन्।
मन्त्री पौडेलले बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदन सार्वजनिक गर्दै राज्यबाट वेतन खाने कर्मचारीहरुको तलबको एक प्रतिशत कर्मचारी र बाँकी एक प्रतिशत राज्यले दिनुपर्ने र स्वास्थ्यमा असर पर्ने पदार्थको करको रकम कोषमा जाने व्यवस्था मिलाउन सकिने बताउँदै आएका छन्।
विकास समिति अन्तर्गत सञ्चालन हुने प्रदेश अस्पतालहरू पनि रहेकाले संघीय मन्त्रालयको यो निर्णयपछि प्रदेशस्तरमा पनि निर्णय हुने विश्वास रहेको प्रवक्ता डा.बुढाथोकीले बताए ।
प्रतिक्रिया 4