+
+
Shares
सेलिब्रेटी :

जन्मदिन मनाउँदै अनमोल, १० करोड क्लबमा प्रवेशको चुनौती

उनका कुनैपनि फिल्मले अहिलेसम्म १० करोड कमाउन सकेका छैनन् । होस्टेल, जेरी, ड्रीम्स, गाजलु, कृ, क्याप्टेन, ए मेरो हजुर ३ र ४, फर्की फर्की उनका चर्चित फिल्म हुन् । ‘छड्के २’ उनको करिअरको सबैभन्दा न्यून कमाइ गर्ने फिल्म बन्यो जसको ग्रस कलेक्सन २७ लाख रुपैयाँ मात्र थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १७ गते १३:५९

काठमाडौं । अनमोल केसीले बालकलाकारको रुपमा अभिनय गर्दै फिल्म ‘धर्म’बाट अभिनयमा डेब्यु गरे । त्यसपछि ‘सुपरस्टार’ र ‘नेपाली बाबु’मा बालकलाकारको भूमिकामा देखिए ।

‘होस्टेल’ उनको करिअरको यस्तो फिल्म थियो जहाँबाट उनले पछाडि फर्केर हेर्नुपरेन । अहिलेसम्म उनले १६ फिल्ममा काम गरे । निर्माताको रुपमा ‘म तिमीबिना मरिहाल्छु’, ‘सुपरस्टार’ र ‘म त तिम्रै हुँ’बाहेक अरु फिल्ममा उनी अभिनेताको भूमिकामा छन् ।

उनका कुनैपनि फिल्मले अहिलेसम्म १० करोड कमाउन सकेका छैनन् । होस्टेल, जेरी, ड्रीम्स, गाजलु, कृ, क्याप्टेन, ए मेरो हजुर ३ र ४, फर्की फर्की उनका चर्चित फिल्म हुन् । ‘छड्के २’ उनको करिअरको सबैभन्दा न्यून कमाइ गर्ने फिल्म बन्यो जसको ग्रस कलेक्सन २७ लाख रुपैयाँ मात्र थियो ।

यतिबेला आएर १० करोड रुपैयाँ घरेलु बक्सअफिसको लागि टाढाको लक्ष्य हैन । न्यून लगानीका फिल्मले समेत १० करोड रुपैयाँ सजिलै कमाएका छन् । अहिलेसम्म ‘पूर्णबहादुरको सारंगी’ त सर्वकालिन ब्लकबस्टर बन्दै नेपाली फिल्मको अर्थतन्त्रको आकार कतिसम्म हुनसक्छ भन्ने उदाहरण हो ।

यस्तोमा, अनमोलसामु १० करोड रुपैयाँ कमाएर बक्सअफिसको खडेरी तोड्ने मौका र चुनौती दुबै छ । उनले हालै ‘जेरी अन टप’मा अभिनय गरे, यो फिल्मले के १० करोड क्लबमा प्रवेश गर्ला ? अनमोलको करिअरमा यतिबेलाको महत्वपूर्ण प्रश्न हो यो । उनको पछिल्लो फिल्म ‘फर्की फर्की’ले घरेलु बक्सअफिसमा ठीकठाक ब्यापार गरेको थियो ।

उनको अभिनय कलामा समीक्षक र दर्शकबाट प्रश्न उठ्नु नयाँ कुरा हैन, यतिबेला सर्वकालिन टपटेन (बक्सअफिसको आधारमा) उनका कुनैपनि फिल्म प्रवेश नहुनु त्यो महत्वपूर्ण प्रश्न हो । सम्भवतः अनमोल स्वयमले यो दबाब खेपेको हुनुपर्छ । उनको आशा सुुयोग गुरुङ निर्देशित ‘जेरी अन टप’तिर सोझिएको छ ।

यसबीचमा धेरै नयाँ ‘स्टार’ घरेलु फिल्ममा आइसके । अनमोललाई अभिनय र बक्सअफिसको आँकडासँग लड्नुपर्ने चुनौती छ । यतिबेला उनी ‘करिअर डिफाइनिङ’ चरणबाट गुज्रिएका छन् । के उनको यो साख ‘जेरी अन टप’ले जोगाउला ? उनै अनमोल आइतबार जन्मदिन मनाउँदैछन् । उनलाई जन्मदिनको शुभकामना !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?