+
+
Shares

राजावादी आन्दोलनबारे अन्तर्राष्ट्रिय मिडियाले के लेखे ?

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १७ गते २१:४०

१७ चैत, काठमाडौं । राजावादी समूहले शुक्रबार गरेको हिंसात्मक प्रदर्शनको खबरलाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले समेत प्राथमिकता दिएका छन् ।

दक्षिण छिमेकी भारतका केही सञ्चारमाध्यमले अहिलेको अवस्थामा राजतन्त्र फर्कन असम्भव रहेको उल्लेख गरेका छन् भने अमेरिका, बेलायतबाट प्रकाशित हुने अखबारहरूले ज्ञानेन्द्र शाहको पृष्ठभूमि विवादित रहेको उल्लेख गरेका छन् ।

अमेरिकाको द न्यूयोर्क टाइम्सले नेपालका अन्तिम शाह वंशीय राजा ज्ञानेन्द्र शाहको पक्षमा भएको आन्दोलनले कम्तिमा दुई जनाको मृत्यु र दर्जनौं घाइते भएको लेखेको छ ।

प्रदर्शनकारीहरुले नेपालमा हिन्दु राष्ट्रसहितको संवैधानिक राजसंस्थाको माग गरेको उल्लेख गरेको छ । उसले पूर्वराजा ज्ञानेन्द्र शाहको नेपालमा विवादित छवि रहेको समेत उल्लेख गरेको छ ।

बेलायतको अखबार द गार्डियनले पनि प्राथमिकताका साथ शुक्रबारको हिंसाबारे समाचार लेखेको छ ।

शनिबारको संस्करणमा उसले राजा फर्काउन भन्दै समर्थकले गरेको प्रदर्शनले हिंसात्मक रुप लिएको लेखेको छ । शुक्रबार गणन्त्रवादी पक्षले समेत काउन्टर प्रदर्शन राखेको समेत समाचारमा उल्लेख गरिएको छ ।

‘अन्तर्राष्ट्रिय’ पेजमा प्रकाशित समाचारमा राजनीतिक र आर्थिक अस्थिरताका साथ सरकारप्रति असन्तुष्टि बढिरहेका बेला नेपालमा राजावादीको पक्षमा आन्दोलन भएको उल्लेख गरिएको छ ।

समाचारमा पोखराबाट ज्ञानेन्द्र शाह फर्किएर आउँदा यसअघि समेत काठमाडौंमा स्वागतमा उनका पक्षका मानिसहरू भेला भएको उल्लेख गरेका छन् ।

युरोपको युरोन्यूजले पनि शाहको पक्षमा केही समर्थन देखिए पनि उनी शक्तिमा फर्किने सम्भावना न्यून रहेको उल्लेख गरेको छ ।

भारतको सीएनएनन्यूज१८ को अनलाइन संस्करणले त नेपालमा राजसंस्था फर्किन असम्भव रहेको भनेको छ ।

पूर्वराजाका समर्थकले गरेको प्रदर्शनका क्रममा दुई जनाको घाइते र दर्जनौंको मृत्यु भए पनि नेपालमा राजसंस्था फर्किन असम्भव रहेको स्रोतहरुले बताएको समाचारमा उल्लेख गरिएको छ ।

‘जारी प्रदर्शनहरु लोकतन्त्रप्रतिको असन्तोष नभइ अरु नै गुनासोहरु सम्बोधन गराउन खोजेको हुनसक्छ’, स्रोतहरु भन्दै समाचारमा लेखिएको छ, ‘अहिले कसैले पनि संविधान संशोधन गरेर सारा शक्ति सीमित व्यक्तिको हातमा केन्द्रित गर्दैन ।’

भारतको अखबर द हिन्दुले दुई दशकअघि ज्ञानेन्द्र शाहले गरेको कूलाई सम्झाउँदै अहिले काठमाडौंको सडकमा सेना उत्रिएको विषय उल्लेख गरेको छ । तर, यसपटक शाहका समर्थकहरुले हिंसात्मक गतिविधि गरेपछि नागरिक सरकारले स्थितिलाई नियन्त्रणमा लिन सेनालाई परिचालन गरेको उल्लेख गरेको छ ।

शुक्रबार अपराह्न परिस्थिति नियन्त्रणभन्दा बाहिर गएपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले कर्फ्यु आदेश जारी गरेको थियो । त्यसपछि सेना समेत सडकमा देखिएको थियो ।

अनलाइन पोर्टल ‘द प्रिन्ट’ले भारतको नजिकको छिमेकी नेपालमा सरकारप्रति बढ्दो असन्तुष्टिका कारण राजतन्त्र वहालीको माग उठ्न थालेको भनेको छ । उसले राजतन्त्रको अन्त्यपछि १६ वर्षमा १४ सरकार परिवर्तन भएको समेत उल्लेख गरेको छ । ‘यस्तोमा अहिलेको अशान्ति गहिरो राजनीतिक र आर्थिक चिन्ताको अभिव्यक्ति हो’, भनिएको छ ।

भारतको द हिन्दुस्तान टाइम्सले चाहिँ नेपालमा हिन्दु राजतन्त्रको माग गर्दै भएको प्रदर्शनका क्रममा झडप भएको भन्दै थुप्रै अपडेटहरु दिएको छ । समाचार संस्था, रोयटर्सले राजसंसथा समर्थकको र्‍यालीमा भएको घातक हिंसाबारे अनुसन्धान सुरु भएको विषयलाई समेत प्राथमिकता दिएको छ ।

जर्मन न्यूज एजेन्सी डिब्लूले ‘नेपालमा राजसंस्था पुनरुत्थानको संकेत के छ ?’ भनेर विश्लेषणसहितको समाचार लेखेको छ । यसमा सबैले राजतन्त्र पुनःस्थापनालाई व्यवहारिक विकल्पका रुपमा नहेर्ने भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?