
१७ चैत, काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाललाई बैठक सञ्चालनका लागि सत्तापक्षका सांसदहरूले दबाब दिएका छन् ।
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई बर्खास्त गर्नुको कारण माग गर्दै विपक्षी दलहरूले संघीय संसद्का दुवै सदन अवरोध गरिरहेका छन् ।
यसैबीच राष्ट्रिय सभा अध्यक्ष दाहाललाई भेटेर सत्तापक्षका सांसदहरूल सभा सञ्चालनका लागि दबाब दिएका हुन् ।
‘तपाईं अहिले माओवादी पार्टीमा हुनुहुन्न । त्यसकारण माओवादी अध्यक्षको निर्देशन कुर्ने होइन । तपाईंले अहिले बैठक चलाउने हो,’ सत्तापक्षका सांसदहरूले अध्यक्ष दाहाललाई भनेका छन्, ‘बहुमत सांसदले जे भन्छन् त्यही अनुसार अघि बढ्नुपर्छ । लोकतन्त्र भनेको यही हो । बैठक राख्नुस् ।’
प्रतिनिधिसभा बैठक स्थगित भइसकेको छ ।
नेपाली कांग्रेसका राष्ट्रिय सभा प्रमुख सचेतक कृष्ण रोकायले प्रतिस्थापन विधेयक अघि बढाउने दबाबमा संसद् भएको भन्दै चल्नुपर्ने बताए ।
‘आज संसद् चल्नुपर्छ भन्ने हाम्रो आग्रह हो । सभाध्यक्षले भूमिका निर्वाह गर्नुपर्छ,’ उनले भने । अर्का सांसद रेणु चन्दले भने आफ्ना मागहरू पूरा नभएकाले बैठक चल्न नसक्ने बताइन् ।
‘अब हामीले पहिल्यैदेखि जे भन्दै आएका छौं । तयो भएको छैन । त्यसकारण बैठक चल्ने बाटो बनिसकेको छैन,’ उनले भनिन् ।
प्रतिक्रिया 4