+
+
Shares
सामाजिक सञ्जालमा जो हाँसोको पात्र बने :

‘राजा लिन गएका थिए, पाउरोटी लिएर फर्किए’

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १७ गते १९:५२

विषय वा प्रसंगले अर्को अर्थ नलागे केपी ओलीको उही भनाइ फेरि चरितार्थ भएको छ, ‘चान्स पायो भने नेपालीले गर्छ ।’

के गर्छ, कसो गर्छ भन्ने चाहिँ सामाजिक सञ्जालमा छताछुल्ल भइसकेको छ । यतिबेला फेसबुक स्क्रोल गर्दै जाने हो भने रुँनु कि हाँस्नु भनेझैँ हुन्छ । धेरै लम्बाई–चौडाई गर्नै पर्दैन, चैत १५ को यस प्रसंगबारे ।

‘राजावादी प्रदर्शन’का अँध्यारो र संवेदनशील पाटोलाई यहाँ छोइएको छैन । बरु सोही तमासाका बीच भएका एउटा यस्तो घटनाक्रमको बेलिबिस्तार लगाइनेछ, जसले जग हँसायो। ‘राजा ल्याउन’ प्रदर्शनमा होमिएकाहरू आखिर के–के लिएर घर फर्किए ? देखेर दुनियाँ मरीमरी हाँसे ।

हाँस्ने मेलो त्यसबेला बन्यो, जब तिनीहरू एकपछि अर्को गर्दै सामाजिक सञ्जालमा ‘ट्रोल’ भए । एकातिर उत्तेजना, आक्रोश र अत्यास पोखिँदै गर्दा अर्कोतिर मान्छेहरू हाँसो, मजाक गर्न थाले । मान्छेहरू फुर्सदिला भएर हो वा रचनात्मक भएर हो वा प्रविधिले फड्को मारेर, सेन्स अफ ह्युमर चाहिँ काइदाकै देखियो ।

खासगरी कोटेश्वरस्थित भाटभाटेनी सुपरमार्केटमा आक्रमण गर्न प्रवेश गरेका राजावादी प्रदर्शनकारीहरू आखिर ‘चोर’ बनेर बाहिरिए । कसैले पंखा चोरे, कसैले रक्सी । कसैले लत्ताकपडा चोरे, कसैले घडी । सम्भवत: आफ्नो आवश्यकता र अनुकुलताअनुसार उनीहरूले सामान उठाए । यसले के पनि देखायो भने को, के का लागि चिन्तित छन् ।

जस्तो गृहणीले लत्ताकपडा र पाउरोटी आवश्यक देखिन्, बुज्रुकले फलफूल । तन्नेरीले मोबाइल र घडी आवश्यक ठाने, वयस्कले मदिरा ।

यसै सेरोफेरोमा एक फेसबुक प्रयोगकर्ता लेख्छन्, ‘पुरुषहरुको मन ज्यादा रक्सीमा गयो । महिलाको घरायसी सामानमा । भाटभाटेनी लुट कान्डमा कसले आफूलाई केन्द्रमा राख्यो र कसले परिवारलाई ? भन्ने कुरा सोच्दा सोच्दै म भावुक भएको छु ।’

मौकामा चौका हान्न हतारिएका उनीहरूले देखेनन् सायद, ‘तपाईं सिसिटिभी क्यामेराको निगरानीमा हुनुहुन्छ ।’ अरुले पक्राउ गर्न नसके पनि उनीहरूलाई क्यामेराले कैद गरिछाड्यो। अन्ततः त्यसैले भाइरल बनाइदियो ।

यद्यपि भाइरलको सिलसिला चाहिँ सिक्री हराएको काण्डबाट सुरु भयो, जहाँ जोसिएर ‘हाम्रो राजा..प्राणभन्दा प्यारो छ’ नाराबाजी गरिरहेका पुरुष सिक्री हराएको भन्दै रोइकराई गर्न थाले । सिक्री हराउनुअघि उनी कस्तो मुडमा थिए र सिक्री हराएपछि कस्तो मनोदशामा पुगे ? कसैले फरक दुई फुटेज जोडेर सामाजिक सञ्जालमा पोस्ट गरिदिए ।

त्यसपछि हरिवंश आचार्यको चर्चित पुस्तक ‘चिना हराएको मान्छे’को कभरमा उनको विस्मयकारी फोटो राखियो । यस्तो लेखेर, ‘सिक्री हराएको मान्छे ।’

अब लागौँ मूल पात्रतर्फ ।

एउटा पात्र, जसले टेबल पंखा लिएर भागे । यी ‘होनहार’ युवा कुन जोश लिएर प्रदर्शनमा पुगेका थिए होलान्, पंखा लिएर घर फर्किए । आखिर उनले पंखा नै किन उठाए ? मान्छेहरूले यस्तो लख काटे, ‘राजा त आउलान्, नआउलान् । गर्मी त अवश्य आउनेछ ।’

अर्की महिला, जसले लत्ताकपडा र खाद्यन्न जोहो गरिन् । काखीमा च्याप्न सकिनेसम्म कपडाहरू लिएर दौडिएकी उनले पाउरोटी पनि छुटाइनन् । मान्छेहरूलाई के लाग्यो भने, ‘राजा ल्याउन गएकी दिदी, कपडा र पाउरोटी बोकेर फर्किइन्।’

अर्का परे ‘हेल्थ कन्सियस अंकल’ । न उनले मदिरा उठाए, न लुगाफाटो । बरु कोटको गोजीभरी अट्नेगरी फलफूल उठाए ।

एक ‘जल्दोबल्दो’ युवाले हातभरी अटाई-नअँटाई बियर बोकेर टाप कसे । उनको दुई वटा हातमा दुई थरी ब्राण्डका चार वटा बियरका सिसी थिए। यी युवाका सन्दर्भमा केदार घिमिरे ‘माग्ने बुढा’को टिप्पणी यस्तो थियो, ‘किङ लिन गएको मान्छे किङफिसर लिएर फर्किँदा टोलमा चै लाज हुँदैन केटा ?’

अर्का युवा, जसले भाटभाटेनी तोडफोडका क्रममा मदिरामा नजर लगाए । उनले सस्तो माल उठाएनन् । दुई वटा रेड लेबल र दुई वटा ब्ल्याक लेबल उठाइदिए ।

समयले कसैलाई हिरो बनाउँछ त कसैलाघ भिलेन पनि ।

त्यही एउटा घटनाले कति महिला तथा सज्जनवृन्दलाई रातारात हाँसोको पात्र बनाइदियो भने कतिलाई हिरो पनि ।

अचानक हुलदंगा मच्याउँदै, तोडफोड गर्दै भाटभाटेनी छिरेका ‘प्रदर्शनकारी’हरूलाई लाठीले हिर्काउँदै लखेट्ने सुरक्षा गार्ड भने यतिबेला ‘हिरो’ भएका छन् । जसले घर, गाडीमा ढुंगा हान्दै, आगो सल्काउँदै भाटभाटेनीमा पुगे, त्यहाँ खटिएका सुरक्षा गार्ड डगमगाएनन् । प्रदर्शनकारीलाई पिट्दै लखेट्न थाले । कस्तो जब्बर सुरक्षा गार्ड ।

त्यसो त प्रदर्शनमा गएर सरसामन उठाउनेहरू पनि कम्ता ‘बहादुर’ होइनन् । राष्ट्रवादको नारा लगाउँदै, ढुंगामुडा गर्दै आखिरमा मनलाग्दी सामान उठाउनु पनि सानो हिम्मतले पुग्दैन ।

गायक स्वप्न सुमनको टिप्पणी सही थियो, ‘हिजोको गतिबिधि हेर्दा त जनता नै फेर्नुपर्ने पो देखियो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?