+
+
Shares

मही व्यापार : हुँदै ‘अपार’

केही समययता महीको माग बढ्न थालेपछि डेरी उद्योगहरूले ‘ब्रान्डिङ’ गर्न थालेका छन् । मही ब्रान्डिङले उपभोक्तामा स्वदेशी गुणस्तरीय दुग्ध उत्पादनबारे सकारात्मक सन्देश गइरहेको उद्योगीहरूको भनाइ छ ।

ऋतु काफ्ले ऋतु काफ्ले
२०८१ चैत १८ गते ७:०२

१८ चैत, काठमाडौं । चितवनका साहिल पन्त काठमाडौं बुद्धनगर बसेर स्नातक अध्ययन गरिरहेका छन् । गर्मी मौसम लागेपछि उनी बहुराष्ट्रिय कम्पनीका चिसो पेय पदार्थभन्दा मही पिउन औधी रुचाउँछन् ।

आइतबार मध्याह्न बुद्धनगरकै एउटा डेरी पसलमा भेटिएका उनी मही किनेर पिउँदै थिए । ‘जेन–जी’ पुस्ता बहुराष्ट्रिय कम्पनीले उत्पादन गर्ने चिसो पेय छाडेर मही पिउँदै हुनुहुन्छ नि ?’

उनले जवाफ दिए, ‘स्वास्थ्यका लागि पनि फाइदा हुन्छ, अनि आफ्नो देशको पैसा देशमै रहन्छ, त्यही भएर मही नै मेरो पहिलो रोजाइ हो ।’

महीको स्वाद उनलाई खुबै मन पर्छ । पहिला–पहिला उनी डेरी (पसल) बाट खुला मही किनेर डेरामा लान्थे, अनि पिउने गर्थे । तर, पछिल्लो पटक नेपालकै केही डेरी उद्योगले बोतलमा मही बिक्री गर्न थालेपछि उनी बाटोमा हिँड्दा पनि मही किनेर पिउने गरेको सुनाउँछन् ।

‘अब त प्लास्टिकको बोतलमा पनि गुणस्तरीय र मिठो स्वादको मही छानिछानी किन्न पाइन्छ, स्वास्थ्यलाई पनि फाइदा हुने,’ उनी भन्छन्, ‘बहुराष्ट्रिय कम्पनीका चिसो पेय पदार्थभन्दा त मही कति मिठो कति, म गर्मी मौसमभरि मही नै किनेर खान्छु ।’

पछिल्लो पटक जेन–जी पुस्तामात्र होइन, मही किनेर खाने उपभोक्ता संख्या बिस्तारै बढ्न थालेको छ । दुग्ध उत्पादन भएकाले स्वास्थ्यका लागि पनि मही लाभदायक हुन्छ ।

अहिले कास्की, चितवन, झापा, मोरङ, सुनसरी, रुपन्देही लयायत जिल्लामा मोह ब्रान्डिङ हुँदै आएको छ । मही ब्रान्डिङ गरेका सबै उद्योगले दैनिक ५ सय देखि १ हजार लिटरसम्म मही उत्पादन गरी बिक्री गर्ने गरेका छन् ।

नेपालका करिब डेढ दर्जन डेरी उद्योगले हाल मही उत्पादन गरी बोतलमा राखेर बजारमा बेच्ने गरेका छन् । उपभोक्ता माग दिनहुँ बढ्न थालेपछि मही व्यापार राम्रो हुन थालेको सम्बद्ध व्यापारी बताउँछन् ।

बुद्धनगरमा रहेको बिन्ध्यबासिनी दुग्ध खरिद–बिक्री ट्रेडर्सकी सञ्चालक गीता तिमल्सिना चैत लागेसँगै महीको खपत बढेको बताउँछिन् । उनका अनुसार दही र मही किन्न आउने ग्राहक संख्या बढ्दै गएको छ ।

‘अहिले दैनिक १५ देखि २० लिटरसम्म मही बिक्री भइरहेको छ,’ उनले भनिन्, ‘बिस्तारै गर्मी बढ्दै छ, महीको खपत पनि बढ्दै जान्छ । दही त अहिले पनि दैनिक ६० देखि ७० लिटर बिक्री भइरहेको छ भने दूध सय लिटर छ । अहिले मही ७० रुपैयाँ लिटरमा बेचिरहेकी छु ।’

केही समययता महीको माग बढ्न थालेपछि डेरी उद्योगहरूले ‘ब्रान्डिङ’ गर्न थालेका छन् । मही ब्रान्डिङले उपभोक्तामा स्वदेशी गुणस्तरीय दुग्ध उत्पादनबारे सकारात्मक सन्देश गइरहेको उद्योगीहरूको भनाइ छ ।

दैनिक १० हजार लिटर बिक्री

नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहाल देशभरि १७ वटा डेरी उद्योगले मही ब्रान्डिङ गरेर बेचिरहेको बताउँछन् ।

दाहालका अनुसार फर्मल सेक्टर (औपचारिक क्षेत्र) मा दैनिक १० हजार लिटर मही खपत हुन्छ । ‘लेबलिङ र प्याकेजिङको मात्रै १० हजार लिटर खपत हो,’ उनी भन्छन्, ‘इनफर्मल (अनौपचारिक क्षेत्र) मा त धेरै नै हुन्छ । यति नै भन्ने तथ्यांक ठ्याक्कै छैन ।’

उनका अनुसार अहिले कास्की, चितवन, झापा, मोरङ, सुनसरी, रुपन्देही लयायत जिल्लामा मोह ब्रान्डिङ हुँदै आएको छ । मही ब्रान्डिङ गरेका सबै उद्योगले दैनिक ५ सय देखि १ हजार लिटरसम्म मही उत्पादन गरी बिक्री गर्ने गरेका छन् ।

डेरी एसोसिएसनले दुई वर्ष अगाडि दरबारमार्गमा हुने रैथाने कृषि हाट बजारमा ठेकीमा मही बनाएर त्यहाँ आउने ग्राहकलाई निःशुल्क खुवाएर मही अभियान सुरु गरेको थियो ।

यही अभियानले मानिसमा मही स्वास्थ्यका लागि फाइदाजनक पेय पदार्थ हो, यसको नियमित सेवन गर्नुपर्छ भन्ने चेतना जागेपछि मही प्रयोग बढ्दै गएको अध्यक्ष दाहाल बताउँछन् ।

‘बढी मात्रामा कोल्ड ड्रिंक्सहरूको प्रयोग बढ्दै गइराखेको अवस्थामा एउटा उद्योगले दैनिक रूपमा ५ सय लिटर मही खपत हुनु भनेको धेरै राम्रो कुरा हो,’ अध्यक्ष दाहाल भन्छन्, ‘अहिले त पाँचतारे होटलदेखि लिएर विवाह, पार्टी, भोजभतेरमा अतिथि सत्कारका लागि महीको प्रयोग बढ्दै गएको छ । यसो हुनु भनेको किसानका उत्पादनले बजार पाउनु हो ।’

महीको उपभोग्य मिति ७ दिन मात्रै राखेर उत्पादन गरिएको हुन्छ । यसलाई लामो समय टिकाउने प्रविधि पनि छन् । तर, त्यो प्रविधि भने अहिले उद्योगहरूले प्रयोगमा ल्याइसकेका छैनन् ।

दैनिक मही सेवन गर्नाले डिहाइड्रेसनबाट बच्न सकिने, एसिडिटी कम गर्ने, पेटका लागि फाइदाजनक, छालाका लागि राम्रो हुने, क्याल्सियम प्राप्त हुने र मोटोपन घटाउन पनि मद्दत मिल्ने लगायत धेरै लाभ लिन सकिने स्वास्थ्यकर्मी बताउँछन् ।

एसोसिएसन अध्यक्ष दाहाल अहिले लेबलिङ र ब्रान्डिङ गरेका यी उद्योगबाट देशैभरि दैनिक १० हजार लिटर मही बिक्री हुने गरेको बताउँछन् । महीको उपभोग्य मिति ७ दिन मात्रै राखेर उत्पादन गरिएको हुन्छ । यसलाई लामो समय टिकाउने प्रविधि पनि छन् । तर, त्यो प्रविधि भने अहिले उद्योगहरूले प्रयोगमा ल्याइसकेका छैनन् ।

‘त्यसका लागि हामी टेट्राप्याकमा जानुपर्छ, यो प्रविधि प्रयोग गर्न मुलुकमा खपत कम भएको हुनाले लगानी बढी हुन्छ,’ अध्यक्ष दाहाल भन्छन्, ‘तत्कालका लागि यो प्रविधि प्रयोगमा ल्याउन सकिने अवस्था छैन । यसको मार्केट बढ्दै गइसकेपछि बिस्तारै हामी त्यसलाई पनि प्रयोगमा ल्याउँछौं ।’

जाडो महिनामा पनि उद्योगहरूले दैनिक डेढ सयदेखि २ सय लिटरसम्म मोही बिक्री गर्ने गरेका छन् ।

महीको लेबलिङ र प्याकेजिङ

ललितपुरको नवप्रभात डेरी उद्योगले हालै लेबलिङ र प्याकेजिङ सहित महीको ब्रान्डिङ गरी ‘प्रभात मही’ बजार ल्याएको छ ।

नवप्रभात डेरीले २ चैतमा दरबारमार्गको रैथाने कृषि उपज हाट बजारमा एक कार्यक्रमबीच महीको ब्रान्डिङ गरी बिक्री सुरु गरेको जानकारी गराएको थियो ।

नवप्रभात डेरीका सञ्चालक शिव घिमिरे बजारमा छ्यापछ्याप्ती पाइने र मानव स्वास्थ्यलाई हानि गर्ने पेय पदार्थको विकल्पका रूपमा पौराणिक चलनचल्तीमा चलिआएको पेयलाई प्राथमिकता साथ अघि सारिएको बताउँछन् ।

‘पहिला हामीले मही खान्थ्यौं, अहिले मही खान धेरै कम भो, लोप नै हुने हो कि भन्ने हामीलाई लाग्यो,’ घिमिरे भन्छन्, ‘मही भनेको के हो ? कसरी बन्छ ? कहाँ पाइन्छ भन्ने नयाँ पुस्ताले थाहा नपाउने भए भनेर नै हामीले मही प्रवर्द्धन गरेका हौं ।’

उनका अनुसार अहिले हाम्रा पुराना संस्कार जगेर्ना गर्नुपर्ने अवस्था आइसकेको छ । त्यसका लागि महीलाई ब्रान्डिङ गरेर बिक्री गर्दा मानव स्वास्थ्य र किसान दुवैलाई फाइदा हुने देखिएको छ ।

खुला रूपमा सानातिना डेरी उद्योगमा पनि मही बिक्री हुँदै आइरहेको छ । यही वस्तुलाई ब्रान्डिङ गरेर जनमानसमा लैजान सकियो भने पुराना कुराहरूको याद पनि फर्किने र नयाँ पिढीलाई महीबारे बुझाउन सकिने हुनाले लेबलिङ र प्याकेजिङमा लैजाने प्रयास गरेको उनी बताउँछन् ।

नवप्रभात डेरीले अहिले दैनिक १ हजार ५ सयदेखि २ हजार लिटर मही उत्पादन गरिरहेको छ । र, १ हजारदेखि १ हजार २ सय लिटरसम्म बिक्री गरिरहेको छ ।

‘अब यसको डिमान्ड बढ्दै जाँदा र लामो समय स्टोर गरेर राख्न सकिने प्रविधि नहुँदा छोटो समयमा खपत गरिसक्नुपर्छ,’ उनी भन्छन्, ‘अब बाहिर जिल्लामा लैजान यो सम्भव नहुँदा अहिले समग्र काठमाडौं उपत्यकाका लागि मात्रै हुने गरी हामीले उत्पादन गरिरहेका छौं । हाम्रो ८० प्रतिशत उत्पादन ललितपुरमा नै खपत हुन्छ । काठमाडौंमा हाम्रो पर्याप्त आउटलेट छैन, अगाडि बढाउने विषय सोचिरहेका छौं ।’

नवप्रभात डेरीले अहिले दैनिक १ हजार ५ सयदेखि २ हजार लिटर मही उत्पादन गरिरहेको छ । र, १ हजारदेखि १ हजार २ सय लिटरसम्म बिक्री गरिरहेको छ ।

उनका अनुसार प्रचार–प्रसार बाहिरी जिल्लामा पनि भइराखेको छ । स्थानीय डेरीबाट नै बाहिरी माग पनि परिपूर्ति गर्ने योजनामा उद्योग छ ।

अहिले खुला रूपमा दुग्ध पदार्थ बेच्ने डेरीहरू मही प्रतिलिटर ७० देखि ८० रुपैयाँसम्ममा बेचिरहेका छन् । तर, लेबलिङ र प्याकेजिङ गरिएको मही प्रतिलिटर ९० रुपैयाँसम्म पर्न जाने उनी बताउँछन् ।

‘यो स्ट्यान्डर्डसँग म्यानेज हुने हो,’ उनी भन्छन्, ‘एक बोलतको लेबलिङ र प्याकेजिङको न्यूनतम खर्च ७ देखि १० रुपैयाँसम्म लाग्छ । हामीले ९ सय एमएलको बोतल ८० र ५ सय एमएलको बोतल ४५ रुपैयाँमा बेचिरहेका छौं ।’

नवप्रभात डेरीका सञ्चालक घिमिरे दूध व्यवस्थापन गर्नका लागि पनि महीको ब्रान्डिङमा लागिरहेको बताउँछन् ।

‘हामीले दैनिक १ हजारदेखि १५ सय लिटरसम्म मही उत्पादन गर्दा बजारमा दूधको समस्या पर्ला जस्तो देखिएको छैन,’ उनी भन्छन्, ‘आगामी दिनहरू कस्ता हुन्छन्, समय नआइ भन्न सकिने अवस्था छैन । उत्पादन भएका वस्तु खेर नजाउन् र स्वदेशमै खपत गरौं भन्ने कन्सेप्ट हाम्रो हो ।’

यदि महीको माग ठूलो परिमाणमा आउँदै गयो र उत्पादन पनि बढाउँदै जानुपर्ने अवस्था आयो भने आधुनिकीकरणमै फिलिङ गर्ने र बजारीकरण गर्ने सोच रहेको उनको भनाइ छ ।

कपिलवस्तुको ग्लोबल डेरी उद्योगले पनि गएको वैशाखदेखि महीको व्यावसायिक उत्पादन सुरु गरिसकेको छ । यस्तै चितवनमा पनि चितवन दुग्ध उत्पादन सहकारी, गंगानगर दुग्ध उत्पादक सहकारी, पवन डेरी, अन्नपूर्ण डेरी लगायतले पनि मही उत्पादन गरेर बजारमा पठाएका छन् ।

चितवनमा बढ्यो माग

चितवन दुग्ध उत्पादन सहकारी संघ अध्यक्ष किशोर बगाले चितवनमा गर्मी ह्वात्तै बढेकाले महीको खपत पनि बढेको बताउँछन् ।

‘गर्मी बढेसँगै अहिले ब्रान्डिङ र लेबलिङ गरेका ४–५ डेरी उद्योगले दैनिक २ देखि ३ हजार लिटरसम्म मही बिक्री गरिरहेका छन्,’ उनले भने, ‘अरू खुला पनि बिक्री भइरहेको छ, यसको माग अझै बढेर दैनिक नै १० हजार लिटर बढी पुग्छ ।’

दुग्ध सहकारीसँगै अरू उद्योगले पनि त्यही अनुसार मही उत्पादन गरिरहेको उनको भनाइ छ ।

गर्मी बढेसँगै बाहिरी जिल्लाबाट पनि महीको माग हुने अध्यक्ष बगाले बताउँछन् । उनका अनुसार मही एक सातासम्म स्टोरेज गरेर राख्न सकिने हुँदा अन्य जिल्लामा पनि पठाउन सकिने सम्भावना रहन्छ ।

‘माग आउँदा धादिङ, लमजुङ, गोरखा, तनहुँ लगायत जिल्लामा पनि जान्छ,’ उनी भन्छन्, ‘अब भने हामी छिमेकी जिल्लाको माग पनि नियमित आपूर्ति गर्ने बाटोतर्फ अघि बढ्छौं ।’

चितवन दूध उत्पादनमा धेरै अगाडि रहेकाले मही ब्रान्डिङ गरेर बाहिरी जिल्ला निर्यात सजिलै गर्न सकिने अवस्थामा रहेको अध्यक्ष बगालेको भनाइ छ ।

‘महीले उत्पादक किसासनलाई भन्दा पनि उपभोक्तालाई नै फाइदा गर्छ, थोरै पैसामा राम्रो चिज खान पाउने अवस्था हुन्छ,’ अध्यक्ष बगाले भन्छन्, ‘गुणस्तरकै कुरा गर्ने हो भने पनि चितवन यसमा अगाडि नै छ । हामीले खाद्य तथा गुण नियन्त्रण कार्यालयबाट मान्यता प्राप्त छौं । स्वच्छता र गुणस्तरमा पनि हाम्रो विशेष ध्यान छ ।’

उपभोक्ताले पैसा तिरेर दूध किन्छन्, दुग्ध किसान संस्थान र केही निजी उद्योगीले समयमा भुक्तानी नदिँदा दुग्ध उत्पादन व्यवसाय धरापमा पर्ने स्थिति सिर्जना हुँदै गएको अध्यक्ष बगालेको गुनासो छ ।

लेखक
ऋतु काफ्ले

काफ्ले अनलाइनखबरकाे बिजनेस ब्युराे संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?