+

वीरमा पार्किन्सन रोगको ‘डिप ब्रेन स्टिमुलेसन’ प्रविधिबाट शल्यक्रिया, अमेरिकी चिकित्सक पनि संलग्न

२०८१ चैत  १८ गते १८:२४ २०८१ चैत १८ गते १८:२४
वीरमा पार्किन्सन रोगको ‘डिप ब्रेन स्टिमुलेसन’ प्रविधिबाट शल्यक्रिया, अमेरिकी चिकित्सक पनि संलग्न

काठमाडौं । वीर अस्पतालमा पार्किन्सन तथा छारे रोगको उपचारका लागि अत्याधुनिक ‘डिप ब्रेन स्टिमुलेसन’ तथा ‘स्पाइनल स्टिमुलेसन’ प्रविधि सञ्चालनमा आएको छ । आइतबारबाट अमेरिकी न्यूरो विशेषज्ञहरूको सहयोगमा सो सेवा सञ्चालन गरिएको अस्पतलालले जनाएको हो।

उक्त सेवा एक सातासम्म चल्ने सो शल्यक्रियाको नेतृत्व गरिरहेका वरिष्ठ न्यूरो सर्जन डा. राजीव झाले जानकारी दिए ।

उनका अनुसार यो सेवाका लागि अहिले २० जना स्नायुका बिरामी तयारी अवस्थामा छन् । जसमा दुई जना जतिको शल्यक्रिया भैसकेको छ।  बिरामीहरू पनि यो सेवा लिन पाउँदा उत्साहित रहेको डा. झा बताउछन् ।

के हो ‘डिप ब्रेन स्टुम्युलेसन शल्यक्रिया’ र ‘स्पाइनल स्टुम्युलेसन प्रविधि’ ?

डिप ब्रेन स्टुम्युलेसन शल्यक्रियामा टाउकोमा सानो प्वाल पारेर कोष नष्ट भएको भागमा सानो विद्युतीय तार राखिन्छ। उक्त तारलाई ब्याट्रीको माध्यमबाट तरंग दिइन्छ । यसरी तरंग दिएपछि प्रभावित भाग सक्रिय हुन्छ ।

यस विधिबाट पार्किन्सन (शरीरको सन्तुलन बिग्रिने), क्षारेरोग, हातखुट्टा काँप्ने, डिप्रेसन, डिस्टोनिया, ओसिडी, शारीरिक कम्पन जस्तो समस्यामा उपचार गरिन्छ । यसले उनीहरूको शारीरिक गतिविधिलाई सामान्य प्रक्रियामै फर्काउँछ। जस्तो कि, हात हल्लिरहने समस्या भए कम हुन्छ, खुट्टा काँपिरहने वा जिउ हल्लिरहने समस्या नियन्त्रणमा आउने डा. झा बताउछन् ।

त्यस्तै, स्पाइनल स्टुम्युलेसन प्रविधिले जटिल मेरुदण्ड सम्बन्धी ढाड बांगो भएका बिरामीको उपचार गर्ने आधुनिक विधि हो । जसमा मेरुदण्डमा विद्युतीय तरंग पठाएर दुखाइ नियन्त्रण गर्ने वा स्नायु प्रणालीलाई सक्रिय पार्ने काम गरिन्छ ।

यसले दुखाइ कम गर्ने मात्र होइन, कतिपय अवस्थामा प्यारालाइसिस भएका व्यक्तिहरूलाई फेरि हिँडडुल गर्न मद्दत गर्ने पनि देखिएको छ । स्पाइनल स्टुम्युलेसन प्रविधि नेपालको सरकारीमा भेटिएको पहिलोपटक हो।

आजबाट सुरु भएको सेवाका लागि हाल अमेरिकाकै विश्वविद्यालयको स्पाइन सर्जनहरू पनि सहभागी भएका छन् । त्यस्तै, निजी क्षेत्रमा डिप ब्रेन स्टुम्युलेशन शल्यक्रिया डा. वसन्त पन्तले पहिल्यै गरिसकेको भए पनि वीर अस्पतालमा सरकारी क्षेत्रमा गत वर्ष पहिलो पटक भित्रिएको डा. झाले बताए ।

नयाँ प्रविधि स्नायु समस्याको लागि वरदान

डा. झाका अनुसार यी नयाँ प्रविधि भने स्नायु समस्याको लागि वरदान साबित भएको छ । यी विधिबाट सफल उपचार भएमा व्यक्ति पहिलाको जस्तो स्वस्थ भई सामान्य दैनिकिमा फर्किन सक्ने उनको भनाइ छ।

यसको शल्यक्रियाको लागि बिरामी बेहोस पार्न पर्दैन। उनीहरू बोलिरहेको अवस्थामा शल्यक्रिया गरेर उपचार गर्न सकिने डा. झा बताउँछन् ।

पार्किन्सन, छारेरोग, हातखुट्टा काँप्ने जस्ता रोगहरू मस्तिष्कमा ‘डोपामाइन’ भन्ने रसायनको कमीले हुन्छ । उमेर या अन्य कारणले मस्तिष्कको ‘डोपामाइन’ उत्पादन गर्ने कोष सुकेमा रसायन उत्पादन हुने क्रम बन्द हुन्छ या कम उत्पादन हुन्छ।

यो रसायनले शरीरका अन्य भागलाई चलायमान गराउँछ। यसको कमी भएमा शरीरको सन्तुलन बिग्रिने, हातखुट्टा काँप्ने, डिपे्रसन जस्ता रोग लाग्छन्। यी रोग नियन्त्रणका लागि औषधि दिइन्छ ।

नेपालमा यी रोगमा औषधि सेवन वा पुरानो विधिबाट शल्यक्रिया हुँदै आएका छन् । तर, यी दुवै उपचारले सबै बिरामीको लागि राम्रो परिणाम आउन नसकेको उनको भनाइ छ।

एक साताका लागि शल्यक्रियाको खर्च बाहेक अन्य लागत निःशुल्क 

अस्पताल गत वर्षदेखि नै डिप ब्रेन स्टुम्युलेशन शल्यक्रिया सेवा संचालनमा आएको छ। तर यो साता अमेरिकी विशेषज्ञहरूको सहयोग र संलग्नतामा शल्यक्रिया सम्पन्न भैरहेको डा. झा बताउँछन्।

उनका अनुसार यो शल्यक्रिया प्रविधि अत्यन्त महँगो भएकाले विपन्न बिरामीको पहुँचमा छैन। यो प्रविधिवाट शल्यक्रिया गर्दा मस्तिष्कमा राखिने तार तथा ब्याट्री अत्यन्त महँगो हुने भएकाले शल्यक्रिया शुल्क महँगो पर्छ।

‘डिप ब्रेन स्टुम्युलेशन शल्यक्रिया गरी पेस मेकर राख्न निकै महंगो छ । विदेशमा यो शल्यक्रियाका लागि ३० लाख पर्न भए पनि वीर अस्पतालमा सामग्रीसहित १४ देखि १५ लाख रूपैयाँ पर्ने लाग्छ । तर, यो साता विशेष छ। किनकि, सामानको बाहेक अन्य लागत खर्च लिइएको छैन। अमेरिकी द्क्ष चिकित्सक सहितको उत्कृष्ट सेवा बिरामीले पाउने छन्, ’उनले भने ।

यो शुल्क विपन्न नागरिकका लागि पहुँचबाहिर भएकोले उचित सरकारी पहल र अनुदानको व्यवस्था भएमा यसले हजारौं बिरामीलाई नयाँ जीवन दिन सकिने डा. झा सुनाउँछन् ।

सबै बिरामीलाई उपयुक्त हुँदैन

डा. झाले बताए अनुसार, डिप ब्रेन स्टिमुलेसन उपचार सबै बिरामीका लागि प्रभावकारी हुँदैन। जसलाई औषधिले राम्रो असर गरिरहेको छ, तिनका लागि यो प्रविधि लाभदायक हुनसक्छ ।

तर, जसलाई औषधिले कुनै असर गर्दैन, तिनका लागि शल्यक्रियाले पनि सकारात्मक परिणाम दिन नसक्ने सम्भावना रहन्छ ।

पार्किन्स तथा छारे रोग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय