+
+
Shares

ट्रम्पले भने : अमेरिकी कर नीति सबै देशमा लागु हुन्छ

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १८ गते १३:०३

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी दिनमा लागु गर्न लागेको करमा अमेरिकासँग सबैभन्दा बढी व्यापार असन्तुलन भएका देशमात्र नभई ‘सबै देश’ समावेश हुने बताएका छन् ।

राष्ट्रपति ट्रम्पले व्यापार व्यवस्थालाई सम्बोधन गर्न पारस्परिक कर नीति सार्वजनिक गर्ने तयारी गरिरहेको र यो अप्रिल २ देखि लागु गरिनेछ ।

‘कर वृद्धि सबै देशहरूबाट सुरु हुनेछ, त्यसैले हेरौं के हुन्छ,’ ट्रम्पले एयर फोर्स वनमा पत्रकारहरूलाई भने ।

कर नीति कुन कुन देशमा लागु गरिनेछ भन्ने प्रश्नमा उनले भने, ‘मैले १० वा १५ वटा देशको बारेमा मात्रै भन्ने सञ्चारमाध्यममा हल्ला सुनेको छु। त्यसो होइन । मूलतः हामीले कुरा गरिरहेका सबै देशसहित सबै देशका बारेमा अमेरिकी अतिरिक्त कर नीति (कर समायोजन) लागू हुनेछ । कटौती होइन ।’

ट्रम्पको आगामी कर नीतिले संयुक्त राज्य अमेरिकासँग निरन्तर व्यापार असन्तुलन भएका ‘डर्टी १५’ भनिने १५ प्रतिशत साझेदारहरूलाई लक्षित गर्ने अपेक्षा गरिएको अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टको भनाइ छ ।

लक्ष्यलाई फराकिलो बनाए पनि राष्ट्रपति ट्रम्पले आफ्नो कर संयुक्त राज्य अमेरिकाविरुद्ध लगाइने करभन्दा बढी ‘उदार’ हुने दाबी गरे ।

उनले भने, ‘यी देशहरूको हाम्रा लागि भन्दा यो कर धेरै उदार हुनेछ ।’

ट्रम्पले स्टिल र आल्मुनियमको आयातमा कर लगाइसकेका छन् भने चीनबाट आयात हुने सामानमा थप कर लगाइसकेका छन् ।

आयातित सवारीसाधन (कार) मा पनि ३ अप्रिलदेखि अतिरिक्त कर लागु हुनेछ । ट्रम्पका प्रमुख व्यापार सहयोगी पिटर नाभारोले चार पाङ्ग्रे सवारीसाधनको आयातमा लगाइएको करले वार्षिक १०० अर्ब डलर उठाउन सक्ने दाबी गरे ।

‘यसबाहेक, अन्य करबाट वार्षिक लगभग छ खर्ब डलर उठ्नेछ र यो १० वर्षको अवधिमा करिब छ ट्रिलियन डलर हुनेछ,’ उनले भने ।

पारस्परिक ट्यारिफको एक विस्तृत श्रृङ्खला जारी गर्ने ट्रम्पको योजनाले विश्वव्यापी व्यापार युद्धको खतरा छ । कर नीतिबाट प्रभावित हुने देशहरूले पहिले नै प्रतिकार गर्ने प्रतिज्ञा गरेका छन् ।

अर्थशास्त्रीहरूले ट्रम्पको व्यापक कर वृद्धिको नीतिले मुद्रास्फीतिलाई बढावा दिने र मन्दीलाई बढाउने चेतावनी दिएका छन् ।

ट्रम्पले सरकारी राजस्व बढाउने र अमेरिकी उद्योगलाई पुनर्जीवित गर्ने तरिकाको रूपमा आफ्नो सरकारको कर नीतिको बचाउ गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?