
१८ चैत, काठमाडौं । नेपालमा पछिल्लो केही दिनयता बढिरहेको प्रदर्शन हिंसात्मक बन्दै गएसँगै अन्तर्राष्ट्रिय पर्यटन बजारमा नकारात्मक सन्देशको जोखिम बढेको छ ।
राजावादी समूहले शुक्रबार गरेको हिंसात्मक प्रदर्शनको खबर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्राथमिकता साथ प्रकाशन गरेका छन् । सामाजिक सञ्जाल मार्फत विश्वभरि पुगेका छन् । यसले नेपालबारे नकारात्मक खबर फैलिएको छ । जसको असर नेपाल भ्रमणमा आउने पर्यटकमा पर्ने चिन्ता सरोकारवालाको छ ।
नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछाने भन्छन्, ‘सहरी भेगमा हुने प्रदर्शन र आन्दोलनले केही लक्जरी वा सिटी टुर गर्ने पर्यटक बाहेक पदयात्रा वा अन्य घुमफिरमा रहने पर्यटकलाई असर पर्दैन, तर यसले नकारात्मक सन्देश भने फैलिन्छ।’
उनी अगाडि थप्छन्, ‘हामी बडो मुस्किलले कोभिड महामारीको असरबाट माथि उठ्दैछौं, सकेसम्म यस्तो सन्देश नगए राम्रो हुन्थ्यो ।’
शुक्रबारको प्रदर्शन लक्षित गरी नेपालस्थित अस्ट्रेलियाली दूतावासले आफ्ना नागरिकलाई ट्राभल एडभाइजरी जारी गरेको थियो । जसमा सोही दिन काठमाडौं घुम्न ननिस्कन र सुरक्षित रहन आह्वान गरिएको थियो ।
शुक्रबार प्रदर्शन हिंसात्मक भएसँगै प्रशासनले कर्फ्यु आदेश जारी गरेको थियो । उक्त आदेश तीनकुनेदेखि जडीबुटीसम्मको केही सीमित क्षेत्रमा थियो । तर, यसको सन्देश काठमाडौंभरि कफ्र्यु आदेश जारी भएको सरह प्रवाह भएको होटल संघ नेपाल (हान) अध्यक्ष विनायक शाह बताउँछन् ।
‘विदेशीलाई तीनकुने वा जडबुटी भनेर टोलको नाम त याद हुँदैन,’ उनी भन्छन्, ‘सन्देश काठमाडौंभरि कर्फ्यु भन्ने प्रकारले जान्छ ।’
यो प्रदर्शन र गतिविधिपछि होटल व्यवसायीलाई पर्यटकले पछिल्लो अवस्था के छ भनेर उच्च चासोसाथ सोधिरहेको अवस्था छ । हानका अध्यक्ष शाहका अनुसार धेरै पर्यटक अहिले पर्ख र हेरको अवस्थामा छन् ।
‘यो नेपालको मुख्य पर्यटन सिजन हो, यसबेला पर्यटक आगमन प्रभावित भयो भने वर्षभरि असर पर्छ,’ उनले भने ।
त्यसो त नेपालमा १० वर्षे द्वन्द्वका बेला पनि पर्यटक लक्षित आक्रमण भएनन् । त्यसयताका आन्दोलनमा पनि पर्यटकलाई विशेष सुरक्षा दिएर ‘ट्रिट’ गरिएको थियो । त्यसको सकारात्मक प्रभाव अन्तर्राष्ट्रिय पर्यटन बजारमा अहिले पनि रहेको शाह बताउँछन् ।
शुक्रबार प्रशासनले कफ्र्यु आदेश जारी गरेलगत्तै हवाई यात्रुलाई लक्षित गरी प्रशासनले सहजीकरणको सूचना जारी गरेको थियो । सोही दिन नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले एक ‘सिचुएसन अपडेट’ जारी गर्यो। जसमा पर्यटकलाई आपतकालीन अवस्थामा सहयोग गर्न मोबाइल नम्बरहरू समेत राखिएको थियो ।
यस्तै काम सरकारी निकायले भने गरेनन् । पर्यटनमन्त्री, मन्त्रालय वा नेपाल पर्यटन बोर्डका तर्फबाट कुनै पनि प्रकारको अपडेट सार्वजनिक भएन । यस्तो बेला अविभावकत्व देखाउन सक्ने हो भने पर्यटकले आफ सुरक्षित रहको महसुस गर्ने हानका अध्यक्ष शाह बताउँछन् ।
पर्यटकले आफ घुम्न जाने वा घुम्ने योजना बनाएको गन्तव्य शतप्रतिशत सुरक्षित होसर भन्ने चाहने भएकाले त्यसको सुनिश्चितता गर्ने दायित्व राज्यको हुने व्यवसायीको भनाइ छ ।
नेपालले पर्यटक लक्षित गर्दै छुट्टै पर्यटक प्रहरी युनिट राखेको छ । तुलनात्मक रूपमा नेपालमा घुमफिरमा आउने पर्यटक ग्रामीण भेगमा पर्छन् । जहाँ प्रदर्शन कम हुन्छन् । यसले पर्यटकको आत्मविश्वास बढाउँछ । सोहीकारण आफ्नो प्रदर्शन शान्तिपूर्ण बनाएर नकारात्मक खबर फैलनबाट बचाउनु पर्ने व्यवसायीको माग छ ।
पछिल्ला महिना पर्यटक आगमन कोभिड महामारी अगाडिको अवस्थामा पुग्न थालेको देखिन्छ । फेब्रुअरी २०२५ मा ९६ हजार ८ सय ८० पर्यटक आएका थिए । यो २०१९ को तुलनामा ५.४ प्रतिशत कम हो । सोही वर्ष फेब्रुअरीमा १ लाख २ हजार ४ सय २३ पर्यटक आएका थिए ।
फेब्रुअरी, मार्च–अप्रिल नेपालको मुख्य पर्यटन सिजन हो । यसै मौसममा सर्वोच्च शिखर सगरमाथामा मुख्य आरोहण हुन्छ । साथै, पदयात्राका लागि लाखौं पर्यटक नेपाल आउने गर्छन् । यो मध्य जेठसम्म लागु हुन्छ । त्यसपछि भने वर्षायाम सुरु हुन्छ ।
प्रतिक्रिया 4