
१८ चैत, काठमाडौं । नेकपा (एमाले) का सांसद योगेशकुमार भट्टराईले पुर्वराजा ज्ञानेन्द्र शाहले निर्मल निवासबाट केही व्यक्तिलाई माला लगाएर जनताको घर जलाउन पठाएको आरोप लगाएका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद भट्टराईले शाहले राज्यसँग गरेको सम्झौता भंग गरेको भन्दै उनलाई दिएको सेवासुविधा समेत कटौती गर्नेबारे सोच्न आवश्यक रहेको जिकिर गरे ।
‘उहाँले सम्झौता भंग गर्नुभयो । उहाँले लफंगाहरूलाई जनकमाण्डर बनायो । तीनकुनेमा ताण्डव नृत्य नचाउन पठाउनु भयो,’ उनले भने, ‘निर्मल निवासबाट लफंगाहरूलाई माला लगाएर जनताको घर जलाउन पठाउनुभयो । तपाईंको सम्झौता भंग भयो । त्यसैले तपाईंलाई दिइएको सेवासुविधा के हुन्छ ? सरकारले जवाफ दिनुपर्यो ।’
पूर्वराजाले शाहले राज्यसँग गरेको सम्झौता भंग गरेकोले उहाँलाई दिइएको सेवा सुविधा कायम रहन्छ कि रहँदैन ? भन्दै प्रश्न गर्दै सरकारसँग भट्टराईले जवाफ माग गरे ।
‘पूर्वराजा शाहलाई सरकार पूर्वराष्ट्राध्यक्षको हिसाबले यो राज्यले सेवा सम्मान दिन्छ भनेर दिएको हो । आज त्यो सम्झौता पनि ज्ञानेन्द्र शाहले भंग गर्नुभयो,’ भट्टराईले भने, ‘सम्झौता भंग भएपछि उहाँलाई दिएको सेवा सुविधा कायम हुन्छ कि हुदैन ? म सरकरालाई सोध्न चाहन्छु ।’
प्रतिक्रिया 4