
इद उल–फित्र अर्थात इद । विश्वभरका मुस्लिम समुदायको विशेष पर्व हो । यो पर्व पवित्र महिना रमजानको समापनपछि आउँछ, जुन इस्लामिक पात्रोको नवौं महिना हो ।दशौं महिना अर्थात शवालको सुरुवात भएको दिन इद मनाइन्छ ।
तर यो दिन कहिले पर्छ भन्ने कुरा पहिल्यै निश्चित हुँदैन।आकाशमा अर्धचन्द्रमा देखिएपछि रमजान सकिएर शवाल महिना सुरु भएको मानिन्छ । इस्लामिक पात्रो चन्द्रमास अनुसार निर्धारण गरिएको हुन्छ।
चन्द्रमास कुनै २९ र कुनै ३० दिनको हुन्छ। रमजान महिना सुरु भएको २९औँ दिनको साँझदेखि यस धर्मावलम्बीहरू चन्द्रमा देखिने प्रतीक्षामा बस्छन्। जहिले चन्द्रमा देखिन्छ, त्यसको भोलिपल्ट इद मनाइन्छ।
सर्वसाधारण आफैँले चन्द्रमा हेरेर पनि कुन दिन मनाउने भनेर निर्धारण गर्ने प्रचलन छ। तर अहिले मुस्लिम समुदायका अगुवाले खगोल अवलोकन गरी एक-दुई दिन पहिला निर्धारण गर्ने र सोही अनुसार इदको दिन तय गर्ने प्रचलन छ।
यही कारणले विश्वभर एकैदिन इद मनाइँदैन । एक वा दुई दिनको फरक हुन सक्छ ।
किन मनाइन्छ ?
इद उल–फित्रलाई रमजानको कठिन तपस्याको समापन र ईश्वरको कृपाको कदर गर्ने अवसरका रूपमा लिइन्छ । रमजानको महिनामा कुरान (इस्लामको पवित्र ग्रन्थ) अवतरण भएको थियो विश्वास गरिन्छ ।
यो महिना आत्मशुद्धि, प्रार्थना, दान र ईश्वरसँग नजिक हुने समय हो भन्ने मान्यता इस्लाम धर्ममा छ। रमजानको अन्त्यमा इद मनाउनुको अर्थ हो, ईश्वरले दिएको आशीर्वादको लागि धन्यवाद दिनु र एक-अर्कासँग खुसी साट्नु ।
यो पर्वले मानवताको भावनालाई पनि जोड दिन्छ। रमजान महिनाभर रोजा बस्ने हुन्छ । यसमा महिनादिन सम्म दिनभर पानी समेत निपई साँझ परेपछि मात्रै खाना खाने गरिन्छ। यसरी रोजा बस्दा भोक र तिर्खाको अनुभव हुन्छ, जसले गरिब र अभावमा बाँच्नेहरूको पीडालाई बुझ्न मद्दत गर्छ भन्ने यसको मान्यता छ।
इदले यो संवेदनशीलतालाई उत्सवमा बदल्छ, जहाँ सबैले एकसाथ खुसी मनाउन सकून् भनेर दान र सहयोगको परम्परा पनि जोडिएको छ ।
कसरी मनाइन्छ ?
इद उल–फित्रको उत्सव सामान्यतया तीन दिनसम्म चल्छ, तर मुख्य उत्सव पहिलो दिन नै हुन्छ। यो दिनको सुरुवात विशेष तयारीबाट हुन्छ। बिहान सबेरै मुस्लिमहरू नुहाउँछन्, सफा र नयाँ कपडा लगाउँछन् र इदको प्रार्थनाका लागि मस्जिद वा खुला ठाउँ (इदगाह) मा जम्मा हुन्छन्।
यो नमाज सामूहिक रूपमा पढिन्छ र यसले एकता र भाइचाराको सन्देश दिन्छ। नमाजअघि ‘जकात–उल–फित्र’ नामक दान गर्नु अनिवार्य मानिन्छ। यो दान गरिबहरूलाई दिइन्छ ता कि उनीहरू पनि इदको खुसीमा सहभागी हुन सकून्।
नमाजपछि घर फर्केर परिवार र साथीभाइसँग उत्सव सुरु हुन्छ। इदलाई ‘मिठी इद’ पनि भनिन्छ, किनकी यो दिन मिठा परिकारहरूको विशेष महत्त्व हुन्छ। नेपालमा सेवाइ, खीर, मिठाई र विभिन्न प्रकारका पकवान बनाइन्छ। घरमा पाहुनाहरू आउँछन्, एक–अर्कालाई ‘इद मुबारक’ भन्दै शुभकामना दिइन्छ र मिठाई बाँडिन्छ। बच्चाहरूलाई खुसी बनाउन इदी (नगद वा उपहार) दिने चलन पनि छ, जसले उनीहरूमा उत्साह थप्छ।
इदको दिन आफन्त र छिमेकीहरूसँग भेटघाट गरी, पुराना मनमुटाव बिर्सेर माफी माग्छन् र सम्बन्ध सुधार्छन्। यो पर्वले सामाजिक सद्भाव र एकताको भावनालाई बलियो बनाउँछ। नेपालजस्तो बहुसाँस्कृतिक देशमा इदले विभिन्न समुदायबीचको मित्रता र समझदारी पनि बढाउँछ।
महिमा
इद उल–फित्रको महत्त्व केबल उत्सवमा सीमित छैन, यसले गहिरो धार्मिक, सामाजिक र नैतिक सन्देश बोकेको छ। पहिलो, यो ईश्वरप्रति कृतज्ञताको प्रतीक हो। रमजानको कठिनाइपछि इदले जीवनका साना–साना सुखको मूल्य बुझाउँछ।
दोस्रो, यो पर्वले दान र सहयोगको महत्त्व सिकाउँछ। जकात–उल–फित्रको प्रावधानले समाजमा आर्थिक असमानता घटाउन र सबैलाई खुसीको हिस्सेदार बनाउन प्रेरित गर्छ ।
इदले एकता र भाइचाराको सन्देश पनि दिन्छ। नमाजमा काँध–काँध जोडेर उभिनु, एकसाथ खाना खानु र शुभकामना साट्नुले सामाजिक बन्धन बलियो हुन्छ। यो पर्वले मानिसलाई क्षमा, प्रेम र शान्तिको मार्गमा हिँड्न प्रेरणा दिन्छ।
नेपालमा मुस्लिम समुदायले यो चाडलाई अन्य समुदायसँग मिलेर मनाउँदा यहाँको साँस्कृतिक विविधताको सुन्दर उदाहरण देखिन्छ।
इदको अर्को महत्त्वपूर्ण पक्ष भनेको आत्म-अनुशासन र संयम हो। रमजानमा रोजा राखेर प्राप्त भएको संयमलाई इदमा पनि कायम राख्नुपर्छ भन्ने सन्देश यो पर्वले दिन्छ। यो केबल खानपिन र रमाइलोको चाड नभएर जीवनलाई सन्तुलित र अर्थपूर्ण बनाउने अवसर हो।
नेपालमा इद
नेपालमा मुस्लिम समुदायले इदलाई उत्साहसँग मनाउँछ। तराई क्षेत्रका नेपालगञ्ज, विराटनगर, वीरगन्ज, कपिलवस्तु साथै राजधानी काठमाडौंमा यो पर्वको रौनक देखिन्छ। यहाँका मस्जिदहरू सजाइन्छ, बजारहरूमा चहलपहल बढ्छ र मिठाइका पसलहरूमा भीड लाग्छ। कतिपय समुदायमा गैरमुस्लिम समुदायका व्यक्ति पनि यो उत्सवमा सहभागी हुन्छन्, जसले नेपालको साम्प्रदायिक सद्भावलाई झल्काउँछ।
इदको दिन सरकारले सार्वजनिक विदा दिँदै आएको छ । यसले सबैलाई यो पर्वको महत्त्व बुझ्ने मौका दिन्छ। इदको उत्सवले यहाँको नेपालको संस्कृतिमा उपस्थिति र योगदानलाई उजागर गर्छ।
प्रतिक्रिया 4