प्रायगरी सामान्य व्यक्तिलाई अस्पतालको सबै किसिमको सेवा, उपचार पद्धति, त्यहाँ बोलिने अस्पतालको भाषा बारे थाहा हुँदैन । सुरुमा कहाँ जाने ? भर्ना कसरी लिइन्छ ? कसलाई भेट्ने ?
अस्पतालमा गए देखिको उपचार प्रक्रिया कसरी हुन्छ ? जानकारी नहुनसक्छ । जस्तो कि, बिरामी भेट्न जाँदा कसैलाई सोध्दा आइसियूमा जानुहोस् भन्दा कता जाने ? अलमल हुनसक्छ । किनकी अस्पतालमा धेरै विभाग हुन्छन् । विभाग अनुसार उपचार प्रक्रिया अघि बढ्छ । यस्तो सामान्य जानकारी हुन जरुरी छ।
बहिरङ्ग विभाग के हो ?
बहिरङ्ग विभाग भनेको कुनै पनि अस्पताल वा स्वास्थ्य संस्थामा डाक्टरले बिरामीलाई परामर्श दिने र सामान्य जाँच गर्ने ठाउँ हो । यो विभागलाई छोट्करीमा ओपीडी पनि भन्ने गरिन्छ । प्रायले ओपीडी नै भनेर सम्बोधन गर्छन्।
यो विभागमा आउने सबै बिरामी अस्पतालमा भर्ना भएर बस्नुपर्दैन। यो विभागमा बिरामीहरू दिनको समयमा आएर आफ्नो स्वास्थ्य समस्याको जाँच र उपचार गराएर घर फर्किन्छन् ।
बहिरङ्ग विभागमा के के हुन्छ ?
सामान्य उपचार : यहाँ सामान्य रोगहरू (जस्तै ज्वरो, रुघाखोकी, टाउको दुखाइ)को जाँच र औषधि सिफारिस गरिन्छ।
विशेषज्ञ परामर्श : विभिन्न रोगका विशेषज्ञ चिकित्सकहरू (जस्तै हाडजोर्नी, छाला, मुटु) ले पनि ओपीडीका मा बिरामी हेर्छन् ।
जाँच र पहिचान : चिकित्सकले बिरामीको लक्षण हेरर आवश्यक परे रगत जाँच, एक्स–रे, अल्ट्रासाउन्ड जस्ता परीक्षणहरूको सिफारिस गर्न सक्छन्।
बिरामी भर्ना : यदि बिरामीको अवस्था गम्भीर छैन भने उनीहरूले ओपीडीबाटै उपचार पाउँछन् । गम्भीर अवस्थामा छ भने भर्नाका लागि वार्डमा पठाइन्छ ।
बहिरङ्ग विभाग कसरी सञ्चालन हुन्छ ?
बिरामीले पहिले अस्पतालको हलनजिक काउन्टर लेखिएको ठाँउमा टिकट काट्छन् वा दर्ता गर्छन् । अहिले धेरैजसो अस्पतालले अनलाइन टिकटको पनि व्यवस्था गरेका छन्। जुन अस्पतालको वेबसाइटमा राखिएको हुन्छ ।
टिकट काटिसके पछि
टिकट काटेपछि सम्बन्धित चिकित्सकलाई भेट्न लाइनमा बसेर पालो पर्खनुपर्ने हुन्छ । चिकित्सकले जाँच गरेर औषधि लेख्छन् वा थप परीक्षण गर्न सुझाउँछन् । आवश्यक परे औषधि पनि अस्पतालको फार्मेसीबाट उपलब्ध हुन्छ । औषधि अस्पताल बाहिरको फार्मेसीबाट पनि खरिद गर्न सकिन्छ ।
महत्व
बहिरङ्ग विभाग स्वास्थ्य सेवाको पहिलो सम्पर्क विन्दु हो । यसले बिरामीलाई सजिलो र छिटो सेवा प्रदान गर्छ, अस्पतालमा भर्ना हुने भार कम गर्छ । र, सामान्य स्वास्थ्य समस्याको समाधान दिन्छ ।
वार्ड
जनरल वार्ड भनेको अस्पतालमा रहेको एउटा यस्तो कक्ष वा विभाग हो, जहाँ सामान्य अवस्थाका बिरामीलाई भर्ना गरी राखेर उपचार गरिन्छ ।यो वार्डमा गम्भीर अवस्था नभएका वा विशेष निगरानी (जस्तै आइसीयू) आवश्यक नपर्ने बिरामीहरू बस्छन् । जनरल वार्ड अस्पतालको सबैभन्दा आधारभूत र सामान्य इकाइ हो, जहाँ धेरै बिरामीले एकै ठाउँमा उपचार पाउँछन् ।
जनरल वार्डमा के हुन्छ ?
सामान्य उपचार : यहाँ सामान्य रोग (जस्तै ज्वरो, निमोनिया, पेट दुखाइ) भएमा राखिन्छ । शल्यक्रिया गर्नुअघि र सानोतिनो शल्यक्रिया पछिको हेरचाह पनि यही वार्डमा हुन्छ।
साझा ठाउँ : एउटै कोठामा धेरै बिरामीका लागि बेड राखिन्छ, सामान्यतया ४ देखि २० वा सोभन्दा बढी बेड पनि हुन सक्छ।
आधारभूत सुविधा : बेड, औषधि, नर्सिङ सेवा र नियमित चिकित्सकको जाँच हुन्छ, तर विशेष मेसिन वा उपकरण कम हुन्छ । यहाँ विशेषज्ञले राउण्ड लगाएर बिरामीको अवस्था पनि बुझ्ने काम हुन्छ ।
कम खर्च : आइसीयू वा प्राइभेट वार्डको तुलनामा जनरल वार्ड सस्तो हुन्छ । त्यसैले यो सर्वसाधारणका लागि पहुँचयोग्य हुन्छ।
नर्सिङ हेरचाह : नर्सहरूले नियमित रूपमा बिरामीको अवस्था जाँच गरी औषधि दिन्छन्।
जनरल वार्ड अरु वार्ड भन्दा कति फरक ?
प्राइभेट वार्डमा एउटा बिरामीलाई छुट्टै कोठा दिइन्छ । जहाँ बिरामीका लागि शौचालय छुट्टै हुन्छ । कुरुवालाई बस्ने ठाँउको व्यवस्था हुन्छ । जनरल वार्ड भन्दा महँगो पनि हुन्छ । तर जनरल वार्डमा धेरै बिरामी सँगै बस्नुपर्छ । शौचालय पनि साझा नै हुन्छ।
नेपालमा जनरल वार्डको अवस्था
नेपालका सरकारी अस्पतालहरू र निजी अस्पतालहरूमा जनरल वार्ड हुन्छ । सरकारी अस्पतालमा यो सेवा सस्तो वा निःशुल्क पनि हुनसक्छ, तर सुविधा सीमित हुनसक्छ। निजी अस्पतालमा भने अलि बढी सुविधा र शुल्क लाग्छ।
आईसीयू
आईसीयू भनेको सघन उपचार कक्ष हो, जुन अस्पतालको एउटा विशेष विभाग हो । यो यस्तो ठाउँ हो जहाँ गम्भीर अवस्थाका बिरामीहरूलाई भर्ना गरेर विशेष निगरानी र उपचार गरिन्छ।
आईसीयू प्राय गम्भीर अवस्थामा रहेका वा जटिल स्वास्थ्य समस्याबाट गुज्रिरहेका बिरामीहरूलाई राखिन्छ, जसलाई निरन्तर हेरचाह, विशेष उपकरण र तुरुन्तै चिकित्सकीय उपचार आवश्यक हुन्छ ।
आईसीयूमा के के हुन्छ ?
गम्भीर अवस्थाका बिरामी : मुटुको समस्या, श्वासप्र-श्वासमा कठिनाइ, गम्भीर दुर्घटना, ठूलो शल्यक्रिया पछिको अवस्था वा मस्तिष्कघात भएका बिरामी यहाँ राखिन्छन् ।
विशेष उपकरण : भेन्टिलेटर (श्वास-प्रश्वास मेसिन), हार्ट मोनिटर, अक्सिजन सप्लाइ, डायलाइसिस मेसिन जस्ता उपकरणहरू आवश्यक परे तुरुन्तै दिइन्छ ।
निरन्तर निगरानी : बिरामीको उपचार तथा हेरचाहका लागि चिकित्सक र नर्सहरू २४ सैं घण्टा खटिएका हुन्छन् । हरेक बिरामीको स्वास्थ्य डाटा (जस्तै मुटुको धड्कन, रक्तचाप) मेसिनले रेकर्ड गर्छ।
सीमित पहुँच : आइसीयूमा बिरामीको संक्रमणबाट जोगाउन र शान्त वातावरण कायम राख्न परिवारका सदस्यलाई कमै प्रवेश दिइन्छ ।
उच्च लागत : यो सुविधा महँगो हुन्छ किनभने विशेषज्ञ टिम, उपकरण र औषधिको प्रयोग यो कक्षमा बढी हुन्छ
आईसीयूमा कसरी काम हुन्छ ?
बिरामीको अवस्था स्थिर नभएसम्म आइसीयूमा राखिन्छ। यहाँ हरेक सेकेन्डको महत्त्व हुन्छ, त्यसैले तुरुन्तै औषधि, शल्यक्रिया वा अन्य उपचार गर्न सकिन्छ। अवस्था सुध्रिएपछि बिरामीलाई जनरल वार्ड वा घर पठाइन्छ। जस्तो कि, कसैलाई सडक दुर्घटनामा गम्भीर चोट लाग्यो र श्वास फेर्न गाह्रो भयो। यस्ता बिरामीलाई आइसीयूमा राखेर भेन्टिलेटरको सहायताले उपचार गरिन्छ ।
नेपालमा आईसीयूको अवस्था
नेपालका थुप्रै सरकारी अस्पताल र निजी अस्पतालहरूमा आइसीयू सुविधा छ । सरकारी अस्पतालमा आइसीयूको शुल्क सस्तो भए पनि बिरामीको चापका कारण बेड पाउन मुस्किल हुनेगर्छ । निजी अस्पतालमा चर्को शुल्क लिने गर्दा कम आय भएका व्यक्तिलाई आइसीयू सुविधा लिन कठिन भइरहेको अवस्था नेपालमा छ ।
जनरल वार्ड र आईसीयूबीच फरक
जनरल वार्डमा सामान्य बिरामी राखिन्छन्, तर आईसीयूमा जीवन जोखिममा भएका बिरामी राखिन्छ । जहाँ विशेष उपकरण र निरन्तर निगरानी हुन्छ । जनरल वार्डमा यस्तो सुविधा हुँदैन । जनरल वार्ड सस्तो र साझा हुन्छ, आईसीयू महँगो र विशेष हुन्छ।
इमर्जेन्सी
इमर्जेन्सी भनेको आपतकालीन अवस्था हो, जुन स्वास्थ्य सेवाको सन्दर्भमा अस्पतालको एउटा विशेष विभागलाई बुझाउँछ । यो विभागलाई इमर्जेन्सी वार्ड वा आकस्मिक कक्ष पनि भनिन्छ। यहाँ तुरुन्तै उपचार आवश्यक पर्ने बिरामीहरूलाई ल्याइन्छ, जस्तै दुर्घटना, हृदयघात, अचानक बेहोस हुने, गम्भीर चोटपटक वा लाइनमा कुर्न नसक्ने शारीरिक रुपले कमजोर बिरामी ल्याइन्छ । यसका लागि छुटै टिकट काटेर लाइनमा बस्नु पर्दैन । उपचार छिटो हुन्छ ।
इमर्जेन्सी विभागमा कस्तो हुन्छ ?
तुरुन्त उपचार : बिरामीको ज्यान जोगाउन तत्काल सोधपुछ गरी चिकित्सकीय उपचार गरिन्छ ।
२४सैं घण्टा खुला : यो विभाग दिनरात सधैं सञ्चालनमा हुन्छ ।
आपतकालीन सुविधा : प्राथमिक उपचार, अक्सिजन, रक्तसञ्चार, सामान्य शल्यक्रिया वा औषधि यहाँ उपलब्ध हुन्छ ।
विशेष टिम : चिकित्सक, नर्स र स्वास्थ्यकर्मीहरू आपतकालीन अवस्थामा खटिएका हुन्छन् ।
बिरामीको अवस्था स्थिर भएपछि आईसीयू, जनरल वार्ड वा घर पठाइन्छ।
मानौं, कसैलाई बाइक दुर्घटनामा टाउकोमा चोट लाग्यो र रगत बगिरहेको छ। उसलाई तुरुन्तै इमर्जेन्सीमा ल्याएर रक्तस्राव रोक्ने, जाँच गर्ने र आवश्यक उपचार सुरु गरिन्छ।
एनआईसीयू वार्ड
एनआईसीयू के हो ?
एनआईसीयू नवजात शिशुका लागि विशेष हेरचाह तथा उपचार दिने गहन चिकित्सा कक्ष हो । यो विभागमा समयभन्दा अगाडि जन्मिएका, कम तौल भएका, जन्मजात समस्या भएका, संक्रमण वा श्वास-प्रश्वासमा कठिनाइ भएका नवजात शिशुहरूको उपचार गरिन्छ ।
एनआईसीयू कस्तो हुन्छ ?
एनआईसीयुमा बच्चालाई उचित तापक्रममा राख्ने विशेष उपकरण इन्क्युबेटर हुन्छ । बच्चालाई सास फेर्न गाह्रो भएमा भेन्टिलेटर मेसिनबाट सहायता प्रदान गरिन्छ । जण्डिस भएका बच्चाहरूको उपचारका लागि फोटोथेरापी लाइट एनआईसीयूमा व्यवस्था गरिएको हुन्छ ।
हर्ट रेट तथा अक्सिजन मनिटर पनि एनआईसीयूमा हुन्छ, जसले बच्चाको मुटुको धड्कन र अक्सिजन स्तर निगरानी गर्छ । बच्चाहरूको प्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले, एनआईसीयू अत्यन्तै सफा र संक्रमणरहित वातावरणमा राखिन्छ।
एनआईसीयूमा बच्चा कति दिन रहन्छन् ?
बच्चाको स्वास्थ्य अवस्था अनुसार केही दिनदेखि केही हप्ता वा महिना सम्म एनआईसीयूमा राख्न सकिन्छ।
अप्रेसन थिएटर
अप्रेसन थ्रिएटर भनेको शल्यक्रिया गर्ने विशेष कक्ष हो, जहाँ शल्यचिकित्सक, नर्सहरू अनि एनेस्थेसियाका विशेषज्ञहरू मिलेर बिरामीको उपचार गर्छन्।
अप्रेसन थिएटरमा के–के हुन्छ ?
सर्जिकल टेबलमा बिरामीलाई सुताएर अप्रेसन गर्न प्रयोग गरिन्छ । जहाँ सर्जिकल लाइट्स, काट्ने, सिलाउने, चिरफार गर्ने औजार, भेन्टिलेटर तथा एनेस्थेसिया मेसिन राखिएको हुन्छ।
सहायक स्वास्थ्यकर्मीहरूले रक्तचाप, तापक्रम, हृदयगति जाँच गरिन्छ।जरुरी परेमा बिरामीलाई एनेस्थेसिया (बेहोस बनाउने औषधि) दिइएर आवश्यक शल्यक्रिया गरिन्छ ।
सर्जरीपछि काटिएको भागलाई सिलाइन्छ।शल्यक्रिया सकेपछि बिरामीलाई होस खुल्ने समयसम्म निगरानी कक्ष मा राखेर वार्डमा राखिन्छ ।
जस्तै, गम्भीर पत्थरी, ट्युमर, अपाङ्गता सुधार, वा भाँचिएको हड्डी मिलाउन सर्जरी अनिवार्य हुन्छ।गर्भवती महिलाका लागि आकस्मिक सर्जरी गरिन्छ ।
हाल लेप्रोस्कोपिक सर्जरी, रोबोटिक सर्जरी जस्ता अत्याधुनिक प्रविधि प्रयोग गरी सानो चिरा पारेर पनि अप्रेसन गर्न सकिन्छ ।
प्रतिक्रिया 4