
१८ चैत, काठमाडौं । स्थानीय तहमा प्रजनन स्वास्थ्य सचेतना अभिवृद्धि गर्न जोड दिइएको छ ।
स्थानीय तहमा प्रजनन स्वास्थ्य सचेतना पाइलट प्रोजेक्टसम्बन्धी राजधानीमा आयोजित कार्यक्रममा संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले नागरिक स्वस्थ रहे मात्र देश स्वस्थ रहने बताए ।
कैलालीको गोदावारी नगरपालिकामा सञ्चालित अधिकारमा आधारित यौन तथा प्रजनन स्वास्थ्य अधिकार र सेवामा पहुँच सुदृढीकरण परियोजना समीक्षा कार्यक्रममा सभापति थापाले यस्तो बताएका हुन् ।
रोग लागे पनि नदेखाउने प्रवृत्ति अन्त्य हुनुपर्ने, स्थानीय तहमा प्रजनन स्वास्थ्यमा सचेतना अभिवृद्धि गर्नुपर्ने र शिक्षा, स्वास्थ्य र विकासमा राजनीति गर्न नहुने सभापति थापाले बताए ।
कैलालीको गोदावारी नगरपालिकामा पाइलट प्रोजेक्टका रूपमा सेन्टर फर रिप्रोडक्टिभ राइट, केयर, महिला कानुन र विकास मञ्च (एफडब्लूएलडी) निड्स नेपाल र ह्युमननिट्रेन पार्टनरसिप प्लेटफर्मले परियोजना सञ्चालन गरेका थिए ।
विपद् व्यवस्थापन नीति तथा योजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार समावेश गर्दै आपतकालीन अवस्थामा पनि सुरक्षित, गुणस्तरीय र निरन्तर स्वास्थ्य सेवा सुनिश्चित गर्न परियोजना सञ्चालन गरिएको कन्सोर्टियम प्रोजेक्टका प्राविधिक संयोजक शंकर धामीले जानकारी दिए ।
संयोजक धामीले सामुदायिक जवाफदेहिता संयन्त्रको स्थापना तथा कार्यान्वयन, विपद् तयारी, प्रतिकार्य र पुनर्स्थापनासँग सम्बन्धित कानुन र नीतिहरूमा प्रमाण–आधारित वकालत, स्वास्थ्यकर्मी तथा मानवीय सहायता प्रदायकको क्षमता विकास र विपद् अनुगमन प्रणालीमा यौन तथा प्रजनन स्वास्थ्यका सूचकहरू समावेश गरी कार्यान्वयनका लागि मानवअधिकार संस्थाहरूसँग पैरवी गर्ने परियोजनाको मूल उद्देश्य रहको बताए ।
नगरपालिकासँग समन्वय गरेर परियोजना सञ्चालन भएको नगर उपप्रमुख शारदादेवी रोकायाले बताइन् । उपप्रमुख रोकायले परियोजना पूर्णरूपमा सफल रहेको र यस्ता कार्यक्रम पालिकामा निरन्तर सञ्चालन गरिराख्न आग्रह गरिन् । परियोजना सञ्चालनपछि गोदावरी नगरपालिकामा ऐन निर्माण भएको, स्वास्थ्य सचेतनामा उल्लेख्य वृद्धि भएको उनले बताइन् ।
उपमेयर रोकायाले गैरसरकारी संस्थाको सहयोगमा ऐन निर्माण भएपछि, ऐन कार्यान्वयनका लागि १ करोड रुपैयाँ विनियोजन भएको, स्वास्थ्य सेवाका लागि पालिकाले १५ लाख रुपैयाँ बजेट छुट्टाइएको, जेष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा पालिकाले उपलब्ध गराइएको लगायत प्रगति भएको बताइन् ।
यो परियोजना सम्पन्न भएपछि गोदावरी नगरपालिकाले सुरक्षित मातृत्वमा ठूलो उपलब्धि भएको स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले बताए । पालिकामा १८ वटा स्वास्थ्य संस्था रहे पनि सेवाका बारेमा सुसूचित नभएको उनले बताए ।
पालिकामा १०७ जना स्वास्थ्यकर्मी रहे पनि सबै समेट्न नसकेको, स्वास्थ्य स्वयमसेवकले ६ महिनादेखि तलब नपाएको, प्रदेश र केन्द्रले निःशुल्क उपलब्ध गराउने औषधि समयमा उपलब्ध नगराउने जस्ता स्वास्थ्य क्षेत्रका समस्या उनले सुनाए ।
प्रतिक्रिया 4