
१८ चैत, काठमाडौं । रसुवामा निर्माणाधीन २ सय १६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाले आयोजना प्रभावित आमाछोदिङमो गाउँपालिकालाई एम्बुलेन्स प्रदान गरेको छ ।
विपद्, दुर्घटना एवं गम्भीर प्रकृतिका रोगबाट प्रभावित घाइते, सुत्केरी लगायत आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई मानवीय सेवा पुर्याउने उद्देश्यले गाउँपालिकालाई आधुनिक सुविधा सम्पन्न एम्बुलेन्स प्रदान गरिएको कम्पनीले जनाएको छ ।
आयोजनाको सामुदायिक सहयोग कार्यक्रम अन्तर्गत प्रदान गरिएको एम्बुलेन्स आयोजना प्रभावित आमाछोदिङमो–१ हाकुस्थित हाकु हेल्थ पोस्टले सञ्चालन गर्ने छ । आयोजना प्रभावित अर्को उत्तरगया गाउँपालिकालाई पनि छिट्टै एम्बुलेन्स प्रदान गरिने जनाइएको छ ।
हेल्थ पोस्टले सञ्चालन गर्ने एम्बुलेन्सबाट आयोजना प्रभावित क्षेत्रका बिरामी तथा घाइतेलाई समयमै अस्पतालसम्म पुर्याइ जीवन रक्षा गर्न ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
आयोजना प्रवर्द्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रालिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बायोङ सु मिनले सोमबार हाकुमा आयोजित कार्यक्रममा एम्बुलेक्सको चाबी गाउँपालिका अध्यक्ष बुचुङ तामाङलाई हस्तान्तरण गरे ।
सीईओ बायोङले आयोजना प्रभावित क्षेत्रका बिरामी र दुर्घटनाका घाइतेलाई अस्पताल पुर्याउनु अगावै आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउन स्रोतसाधन सम्पन्न एम्बुलेन्स गाउँपालिकालाई प्रदान गरिएको बताए ।
गाउँपालिकाका अध्यक्ष तामाङले विकास आयोजना स्थानीयसँगको सहकार्य र समन्वयमा सञ्चालन गरिएमात्र सफल हुने बताउँदै आयोजनाबाट प्राप्त हुने लाभको पहिलो हकदार प्रभावितहरू हुने भएकाले सोही बमोजिम कार्यक्रम सञ्चालन गर्न आग्रह गरे ।
नेपाल सरकारले राष्ट्रिय एम्बुलेन्स निर्देशिकामा तोकिएका मापदण्ड बमोजिम एम्बुलेन्स खरिद गरिएको कम्पनीको भनाइ छ । एम्बुलेन्स आयातमा लाग्ने राजस्व नेपाल सरकारबाट छुट प्राप्त भएको छ ।
राजस्व छुटमा खरिद गरिएको एम्बुलेन्सको मूल्य २५ लाख रुपैयाँ छ । आयोजनाले प्रभावित क्षेत्रमा सामुदायिक सहयोग कार्यक्रम मार्फत हालसम्म करिब १७ करोड रुपैयाँ खर्च गरिसकेको छ ।
कोरियन कम्पनीहरूको अगुवाइमा प्रत्यक्ष वैदेशिक लगानीमा रसुवा आमाछोदिङमो गाउँपालिका–१ हाकुमा आयोजनाको बाँध लगायत संरचना र उत्तरगया गाउँपालिका–१ मा भूमिगत विद्युतगृह लगायत संरचना निर्माणाधीन छन् ।
उत्पादित विद्युत् आन्तरिक खपतका लागि प्रयोग हुने माथिल्लो त्रिशूली–१ प्रत्यक्ष वैदेशिक लगानीमा निर्माणाधीन सबैभन्दा ठूलो आयोजना हो ।
आयोजनाको मुख्य निर्माण २०७८ पुसदेखि सुरु गरिएको थियो । भूमिगत विद्युतगृह, मुख्य सुरुङ, बाँध लगायत संरचना निर्माण सबैतिरबाट तीव्र गतिमा भइरहेको छ । आयोजनाको समग्र भौतिक प्रगति ५६ प्रतिशत छ ।
आयोजना निर्माणका लागि इन्जिनियरिङ, खरिद र निर्माण मोडेलमा कोरियन कम्पनी डुसान एर्नबिलेटीले काम गरिरहेको छ । आयोजनाको प्रवद्र्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीमा कोरियाली सरकारको स्वामित्वमा रहेको कोएन, विश्व बैक समूह अन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम लगायतको सेयर लगानी (इक्विटी) छ ।
आयोजनाका लागि ७० प्रतिशत ऋण र ३० प्रतिशत इक्विटीबाट जुटाउने गरी वित्तीय व्यवस्थापन गरिएको छ । कुल अनुमानित लागत ६४ करोड ७३ लाख अमेरिकी डलर (निर्माण अवधिको ब्याजसहित) रहेको आयोजनामा ९ अन्तर्राष्ट्रिय वित्तीय संस्थाले ४५ करोड ३२ लाख डलर लगानी गर्ने सम्झौता गरेका छन् । बाँकी रकम इक्विटीबाट जुटाइएको छ ।
आयोजनाबाट वार्षिक १ अर्ब ५३ करोड ३१ लाख युनिट ऊर्जा उत्पादन हुनेछ । आयोजनाबाट उत्पादन हुने कुल वार्षिक ऊर्जामध्ये ३८.७५ प्रतिशत हिउँद र ६१.२५ प्रतिशत वर्षामा उत्पादन हुनेछ ।
उत्पादित ऊर्जा विद्युत् प्राधिकरणको त्रिशूली–३ बी हब सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिने छ । कम्पनी र प्राधिकरणबीच विद्युत् खरिद–बिक्री सम्झौता सम्पन्न भइसकेको छ ।
काठमाडौं लोडसेन्टरबाट नजिक रहेको र विद्युत् अत्यधिक माग हुने हिउँदमा समेत १ सय ४ मेगावाट प्राप्त हुने भएकाले मुलुकको विद्युत् प्रणालीका लागि आयोजना अत्यन्त्यै आकर्षक मानिएको छ ।
आयोजनाबाट वर्षभरि नै १ सय ४ मेगावाट स्थिर (फार्म) ऊर्जा प्राप्त हुनेछ । आयोजना निर्माण मंसिर २०८३ भित्र सम्पन्न गर्ने लक्ष्य छ ।
प्रतिक्रिया 4