
१८ चैत, काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि जनआन्दोलन समितिका निवर्तमान संयोजक नवराज सुवेदी तीन दिनदेखि सुरक्षा घेराभित्र छन् ।
१५ चैतमा राजावादीहरूले गरेको प्रदर्शन उग्र भएपछि प्रहरीले उनलाई सुरक्षा नियन्त्रणमा राखेको थियो । १५ गतेको मध्यरातिबाटै प्रहरीले सुवेदीको गैरीधारास्थित घरमा नियन्त्रणमा राखेको थियो । तीन बित्दा समेत उनलाई सुरक्षा घेरामै राखिएको छ ।
घरबाट बाहिर निस्कन दिइएको छैन । सुरक्षा घेराभित्र राखेपछि प्रहरीले सुवेदी बयोवृद्ध रहेकाका कारण पक्राउ परेर हिरासतमा नलिई उनकै घरमा सुरक्षा घेरामा राखेको बताएको थियो । ‘उहाँको स्वास्थ्य अवस्थालाई ख्याल गरेर पक्राउ नगरी घरमै सुरक्षा नियन्त्रणमा राखिएको हो,’ एक अधिकृतले भने ।
यता जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले पनि उनलाई अहिले पनि सुरक्षा घेरामै राखिएको बताए । २ जनाको ज्यान जाने गरीको प्रदर्शन र आगजनी, तोडफोड र लुटपाट भएपछि प्रहरीले उनलाई सुरक्षा नियन्त्रणमा राखेको थियो ।
उनी निवर्तमान संयोजक समेत रहेकाले फेरि यस्ता गतिविधि नहुन् भनेर उनलाई सुरक्षा घेरामा राखिएको प्रहरी भनाइ थियो । अर्कोतफ भने उनकै सुरक्षा थ्रेटलाई समेत विश्लेषण गरेर उनको घरमा प्रहरी परिचालन गरिएको दाबी पनि प्रहरीको अधिकारीहरूको छ ।
नजरबन्दमा राखेको अवस्थामा भने २४ घण्टाभित्र त्यसको जानकारी प्रमुख जिल्ला अधिकारीले सम्बन्धित अधिकारीलाई दिइसक्नुपर्ने हुन्छ ।
‘नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५ को दफा ३ को उपदफा ३.१ अनुसार सार्वजनिक शान्ति र व्यवस्थामा तत्काल खलल पर्ने सक्ने कुनै काम कुरा गर्नबाट कुनै व्यक्तिलाई रोक्नुपर्ने उचित र पर्याप्त आधार भएमा स्थानीय अधिकारीले निजलाई कुनै खास अवधिसम्म कुनै खास ठाउँमा नजरबन्द राख्ने आदेश जारी गर्न सक्ने व्यवस्था उल्लेख छ ।
यसरी नजरबन्दमा राखिएको व्यक्तिलाई यसबारे २४ घण्टाभित्र जानकारी दिनुपर्ने हुन्छ । तर तीन दिन बित्दासम्म यसबारे उनलाई कुनै जानकारी दिइएको छैन । काठमाडौंका प्रमुख जिल्ला अधिकारीले उहाँलाई नजरबन्दमै नराखेको बताउँदै कुनै औपचारिक पत्रमार्फत यसबारे अहिलेसम्म उहाँलाई जानकारी समेत नदिएको बताए ।
मौखिक रूपमा जानकारी गराएर सुरक्षा निगरानीमा रहेको बताएको छ । जसकारण सुवेदीलाई नजरबन्दमा राखेको भन्न समेत नमिल्ने अवस्था छ ।
यता तोडफोड र आगजनीमा उत्रिएको र संलग्न भएको आरोपमा राप्रपाका नेतासहित ११ जनाविरुद्ध राज्यविरुद्धको कसुरमा अदालतबाट ५ दिनको म्याद लिएर हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको छ । तोडफोड र लुटपाटमा उत्रिएका ४१ जनालाई पनि नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ । तर सुवेदीको हकमा भने अहिलेसम्म कुनै पक्राउ पुर्जी समेत लिएर कानुनी प्रक्रिया अघि बढाइएको अवस्था छैन ।
प्रतिक्रिया 4