
१८ चैत, काठमाडौं । नेपालस्थित संयुक्त राष्ट्रसंघीय आवासीय प्रतिनिधि हाना सिंगरले नेपालको संक्रमणकालीन न्यायको प्रक्रिया अघि बढाउन भइरहेको प्रगतिबारेरे चासो व्यक्त गरेकी छन् ।
आवासीय प्रतिनिधि सिंगरले प्रधानमन्त्री केपी शर्मा ओलीलाई वालुवाटारमा भेटेर संक्रमणकालीन न्यायको काम अघि बढाउन भइरहेको क्रियाकलापबारे जानकारी लिएकी हुन् ।
त्यसक्रममा उनले संक्रमणकालीन न्यायका काम अघि बढाउन आवश्यक पर्ने सहयोग र सहजीकरणका लागि संयुक्त राष्ट्रसंघ तयार रहेको जानकारी दिएको प्रधानमन्त्री ओलीका मानव अधिकार तथा संक्रमणकालिन न्यायसम्बन्धी सल्लाहकार अग्नि खरेलले जानकारी दिए ।
नेपालको शान्ति प्रक्रिया अघि बढाउने कामवारे संयुक्त राष्ट्रसंघले चासो दिइरहेको उल्लेख गर्दै उनले छिट्टै दुई आयोग गठन भएर अरु प्रक्रिया अघि बढ्नेमा आफू आशावादी रहेको बताइन् ।
सरकारले अघिल्लो साता संक्रमणकालिन न्यायसम्बन्धी दुई आयोग गठनका लागि सिफारिस गर्न पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा सिफारिस समिति गठन गरेको थियो ।
समितिले पूर्णता पाएपछि आईतबार औपचारिक रुपमा काम सुरु गरेको छ । आइतबार प्रधानमन्त्री ओलीका सल्लाहकार खरेल अग्नि, कानुनमन्त्री अजय चौरसिया समेतको उपस्थितिमा परिचयात्मक कार्यक्रम भएको थियो । त्यसलगत्तै आईतबार नै समितिको औपचारिक बैठक समेत बसेको छ । सरकारले कानुन मन्त्रालयमा समितिको सचिवालय स्थापना गरेको छ ।
प्रतिक्रिया 4