+
+
Shares

आम आक्रोशलाई सदुपयोग गर्ने रविको चेष्टा

साढे पाँच महिनापछि रास्वपाको पार्टी काममा फर्केका रविको सन्देशः हामी यो व्यवस्थाको पक्षमा छौं, तर पुराना दलको कित्तामा छैनौं

लिलु डुम्रे लिलु डुम्रे
२०८१ चैत १८ गते २१:३१
सोमबार केन्द्रीय समिति बैठकमा सभापति रवि लामिछाने (तस्वीर : सचिवालय)

१८ चैत, काठमाडौं । साढे पाँच महिनापछि पार्टी जीवनमा फर्किँदा रास्वपा सभापति रवि लामिछाने आफ्नो वाक्पटुतासहित वनस्थली कार्यालयमा उपस्थित थिए ।

उनले आफू र आफ्नो दल वर्तमान प्रणालीको पक्षमा रहेको जिकिर गरे, तर स्थापित पुराना दलहरूको कित्तामा भने नउभिने ठोकुवा गरे । सहकारी संस्थाहरूमा बचतकर्ताहरूको रकम अपचलन अभियोगमा लामो हिरासत तथा अदालती बयानबाजीका बेला लामिछाने पार्टी जिम्मेवारीमुक्त थिए । उनको सांसद पद अझै निलम्बित छ । अनि सहकारी ठगीसम्बन्धी अभियोगमा धरौटी बुझाएर हिरासतमुक्त बने पनि उनले अदालती मुद्दामा सफाइ पाएका छैनन् ।

तर आज सोमबारको सुरुवात भने उनले आफूमाथि सहकारी बचतकर्ता नागरिकहरूले लगाएका अभियोगबाट थालेनन्, बरु राष्ट्रिय राजनीतिका मुद्दाहरूमा आफूलाई स्पष्ट उभ्याउने जमर्को गरे ।

उनले आफू र दल संविधानको पक्षधर भएको बताए ।

लामो समयपछि पार्टी कार्यालयमा पुगेका उनलाई स्वागत गर्न भेला भएका नेता कार्यकर्तालाई लामिछानेले संविधान र व्यवस्थालाई स्विकारेर दल गठन गरेको सुनाए ।

परिवर्तनलाई स्वीकार गरेर आएको दल रास्वपा भएको भन्दै लामिछानेले थपे, ‘वर्तमान संविधान, व्यवस्था, परिवर्तनलाई स्वीकार गरेर आएको राजनीतिक दल हो, रास्वपा । कतिपटक सुन्न चाहनुहुन्छ ?’
लोकतन्त्रभन्दा उन्नत व्यवस्था केही नभएको उनले सुनाए । अनि गणतन्त्र व्यवस्थाको आडमा कांग्रेस र एमालेले लुटतन्त्र मच्चाएको आरोपसमेत लगाए । लामिछाने यसअघि एमालेकै सहयोगमा दुईपल्ट गृहमन्त्री भइसकेका छन् ।

गणतन्त्रवादी भन्ने दलहरूले वास्तविक गणतन्त्रको अभ्यास नगरेर त्यसको खोल मात्रै ओडेको लामिछानेले आरोप लगाए । ‘जहाँ तपाईं उभिरहनु भएको छ । त्यो गणतन्त्र नभएर लुटतन्त्रको खोल ओडिरहनु भएको छ । रास्वपाले खोल ओड्दैन,’ लामिछानेले भने, ‘तपाईंको कर्तुत लुकाउन लागि तपाईंको कित्तामा उभिएर फोटो खिचाउने रहर रास्वपालाई छैन ।’

पार्टी बैठकमा बोल्दै गर्दा लामिछानेले गणतन्त्र भनेको ओलीतन्त्र र देउवातन्त्र नभएको बताए । गणतन्त्रमा पनि सुधारको आवश्यकता रहेको बताउँदै लामिछानेले भने, ‘गणतन्त्र भनेको जनताको तन्त्र हो र त्यो झन्डा हामीले बोक्छौ ।’

वर्तमान सरकारप्रति आक्रोशित सुनिएका लामिछानेले सत्तापक्षले संघीय गणतन्त्रको आडमा लुटतन्त्र मच्चाइरहेको र त्यसको खबरदारी रास्वपाले मात्रै गर्ने दाबी गरे । नेपाली कांग्रेस र नेकपा एमालेलाई वर्तमान सरकार सफल नहुने दाबी गर्दै दुई दललाई आरोपलाई अन्यथा नलिन आग्रह गर्दै भने, ‘दुईटा चोर मिलेर साधु हुँदैन ।’ संविधान संशोधन गर्ने भनी गठन भएको सरकार संविधान फेल हुने आशंका गरेका लामिछानेले वर्तमान सत्तालाई चेत नभएको बताए ।

पछिल्ला दिनहरूमा राजावादीहरूको प्रदर्शनमा आएका जनतामा राजतन्त्रको पक्षमा मात्रै नभएको लामिछानेको बुझाइ छ । १५ चैतमा तीनकुनेमा भएको घटनाको शिक्षा लिएर आफ्नो कमजोर लुकाउने प्रयास नगरोस् भन्दै उनले सरकारलाई चेतावनी दिए ।

गृहमन्त्री रमेश लेखकप्रति आक्रोशित लामिछानेले ४ हजार व्यक्ति प्रदर्शनमा आउँदा सुरक्षा कायम राख्न नसकेको बताए । ‘म पनि गृहमन्त्री भएको व्यक्ति हो । ४ हजार मान्छे आउँदा पनि जनतालाई जोगाउन नसक्ने गृहमन्त्री के नैतिकताले कुर्चीमा बसेको मलाई थाहा छैन,’ लामिछानेले भने । पार्टी बैठकमा धारणा राख्ने क्रममा पनि लामिछाने गृहमन्त्रीप्रति तिव्र असन्तुष्टि पोखे । नख्खुमा बाढी पहिरोको उद्धारको पर्खाइमा रहेका ४ नागरिक बचाउन भिजिबिलिटी नपुगेको गृह मन्त्रालयले तीनकुनेमा ४ हजारलाई मानिसलाई सम्हाल्न नसकेको बताए ।

सडकमा देखिएको असन्तुष्टि सत्तामा रहेका दललाई दण्डित गर्नका लागि आएको लामिछानेले बताए । ‘सडकमा आएको आक्रोश राजालाई विश्वास गरेर मात्रै आएको होइन, यिनीहरूलाई दण्डित गर्नपर्छ भनेर आएको हो । जसले दण्डित गरेपनि हुन्छ भनेर आएको हो,’ लामिछानेले भने, ‘मलाई थाहा छैन बाहिर आएका मान्छेहरू कति राजावादी हुन् । कतिले राजालाई मानेर आएका हुन् मलाई थाहा छैन । तर, यिनको नेतातन्त्र अन्त्य हुनुपर्छ भनेर आक्रोश पोख्न आएका हुन् भन्ने मलाई थाहा छ ।’ जनताको आक्रोशलाई नजर सत्तापक्षले नजरअन्दाज गरिरहेको तर सडकमा देखिएको आक्रोशबाट तातो सेक्ने पक्षमा आफू नभएको उनको जिकिर थियो ।

संसद्‌मा प्रतिपक्षविहीन जस्तै रहेको उनले सुनाए । ‘सदन प्रतिपक्षीय भूमिका खेल्नेमा यतिखेर सशक्त दह्रो प्रतिपक्षको आवश्यकता छ । यदि तपाईंको इन्टेन्सन लोकतन्त्र बचाउने हो भने । यतिखेर प्रतिपक्षीय मोर्चा बलियो हुन जरुरी छ ।’

सरकारको औचित्य सकिएको दाबी गरेका लामिछानेले दुई दलले संसद्‌बाट अर्को सरकार बनाउने विकल्प समेत नहुने अवस्था बनाएको बताए । प्रधानमन्त्री पदको अफर आए पनि त्यसलाई त्याग गरेको लामिछानेले फेरि पनि दाबी गरे ।

संसद्‌मा २१ जना रास्वपाका सांसदको उपस्थित भएपछि पुराना दलहृ सच्चिएलान् भन्ने आशा राखेपनि आफूलाई ती दलले सुधार नगरेको उनले बताए । सिंहदरबारमा घण्टी बजाउन आफूहरू लागेपनि घण्टी फुटाउनतिर वर्तमान सत्तापक्ष लागेको उनको आरोप थियो ।

सरकारबारे उत्तेजक अभिव्यक्ति

करिब १८ मिनेट केन्द्रीय कार्यालयको प्राङ्गणमा विचार राखेका लामिछानेले भावनात्मक अभिव्यक्ति समेत व्यक्त गरेका थिए । वर्तमान सरकारले जिउँदै छोड्नु नै आफ्नो जित भएको बताएका लामिछानेले सरकारले आफ्नाविरुद्ध गर्ने षडयन्त्रको शिलशिला नसकिएको बताए । सरकारले झुठा मुद्दा लगाएर पार्टी कार्यालयबाट पक्रिएको बताउँदै भने, ‘सरकारको षडयन्त्रको शिलशिला सकिएको छैन । तर, कुनै दिनमा पनि हार मानेको थिएन, हार मान्ने छैन ।’

जुनसुकै परिस्थितिको सामना गर्ने गरी राजनीतिमा आएको उनले सुनाए ।

२४ माघबाट अदालती प्रक्रियामा धाइरहन नपरेपनि लामिछाने मौनप्राय थिए । देशमा विकसित घटनाक्रमले तरंगित हुँदा समेत उनले आफ्ना धारणा बाहिर ल्याएनन् । लामिछानेका अनुसार उनी केही समय अझै शान्त र विश्राम लिने सोचेमा थिए । आफ्नो मौनतालाई फाइदा उठाउँदै पर्सामा मुद्दा प्रक्रियामा नलगेको बताए । ‘यिनलाई लागेको थियो होला, यसको टाउको एउटा तरबार लगाए त यो चुपचाप बस्छ । यो डराउँछ । शीरमाथि राखेको तरबार खसाल,’ चेतावनीको शैलीमा लामिछानेले भने, ‘म थाप्न तयार छु । लड्छु–लड्छु । जुनसुकै शक्तिसँग पनि म लड्छु ।’

सोमबार देखि सभापति पदमा सक्रिय हुन लागेका उनलाई पार्टी कार्यालय पुग्दा नेता कार्यकर्ताहरूले स्वागत गरेका थिए ।

मतदाता फकाउने प्रयास

चितवन २ बाट निर्वाचित भएका लामिछानेले त्यहाँका जनतालाई आफ्ना कुरा विस्तारमा राख्ने बताए । रास्वपाले आगामी शनिबार चितवनमा गर्ने सभामा लामिछानेले सम्बोधन गर्ने भएका छन् ।

चितवनले आफ्ना लागि २/२ पटक लाठी र अश्रुग्यास खाने परिस्थिति बनेको हुँदा त्यहाँ विस्तृत विचार राख्ने लामिछानेले बताए । चितवनबाट मध्यरातमा पोखरा पुर्‍याएको विषयलाई त्यहाँका जनतालाई सुनाउनुपर्ने रहेको उनले सुनाए ।

‘८४ दिन यिनले मलाई के गरे, चितवनका जनतालाई बताउनुछ । मध्यरातमा दासढुङ्गाको बाटो कुन नियतले लगे मैले जनतालाई बताउनु छ,’ लामिछानेले भने ।

वर्तमान सरकार कसरी बन्यो र अघिल्लो सरकार कसले ढलाए त्यसबारेमा जानकारी गराउने बताए । लामिछानेले भने, ‘के–के षडयन्त्र गरे । कस्को हातमा हत्कडी लाग्नुपर्ने थियो । कसको हातमा हत्कडी लाग्नपर्ने थिएन, चितवनलाई बताउन चाहन्छु ।’

लेखक
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?