
काठमाडौं । यसवर्षको प्रतीक्षित टेलिभिजन शो ‘कमेडी नाइट विथ च्याम्पिन्यस’ मंगलबारदेखि सुरु हुँदैछ । हिमालय टिभीमा दर्शकले आजदेखि प्रत्येक मंगलबार राती ९ बजे शो हेर्न पाउनेछन् ।
८ कमेडियनले पहिलो एपिसोडमा प्रस्तुति दिँदैछन्, जसमा विभिन्न कथा र चरित्रमा कलाकारले दमदार प्रस्तुति दिएका छन् । आकर्षक सेट डिजाइनसहित नयाँ संरचनासहित आउन लागेको नयाँ सिजनलाई लिएर दर्शकमाझ पर्खाइ छ ।
आजको एपिसोडमा सुमन कार्की र मेक्सम गौडेलले दुई वृद्धको आकर्षक र मर्मस्पर्शी गन्थनको प्रस्तुति दिएका छन् । मोबाइल र ट्याब्लेटले सम्बन्धमा ल्याउने असरदेखि परिवर्तित समाजले ज्येष्ठ नागरिकको जीवनमा ल्याएको दुःखजिलो जीवनको गहकिलो चित्रण यी दुईको प्रस्तुतिमा हेर्न पाइनेछ ।
सजन श्रेष्ठले सोलुसन बाबामार्फत समसामयिक विषयमा कटाक्ष गरेका छन् । पाहुना बनेर आएका दीपकराज गिरी र जितु नेपाललाई कटाक्ष गर्न भ्याएका उनले आफ्नो परिचित व्यंग्य शैलीलाई पस्किएका छन् । जंगलमा तपस्या गरेर सहर पसेको बाबाको भूमिकामा उनी चित्रित छन् ।
सुमन कोइरालाले तत्कालिन राणा खलकको एक सदस्य शमशेरसिंह चौलागाईंको भूमिका निर्वाह गरेका छन् । उनले आफ्नो प्रस्तुतिमार्फत बाहिर देखिने र हुने खानदान र तिनका पात्रलाई तीव्र कटाक्ष गरेका छन् । उनले सुन्दरीसहित शोमा गरेको इन्ट्रीले दर्शकको मन जित्न सक्छ ।
भरतमणी पौडेल घरबेटी बाको रोलमा देखिनेछन् । धरानका मेयर हर्क साम्पाङको भूमिकालाई कटाक्ष गर्दै कमेडियन प्रभात लामाले फर्क साम्पाङको रुपमा ब्यंग्य प्रस्तुति दिएका छन् । सन्तोष थापाले नेपाली शिक्षक र कैलाश कार्कीले भिकारीको भूमिकामा प्रस्तुति दिएका छन् ।
यो सिजनमा ५२ एपिसोड प्रसारण हुने निर्देशक विशाल भण्डारीले जानकारी दिए । शोको अध्यक्षको रुपमा दीपाश्री निरौला देखिएकी छन् । यो कार्यक्रमपछि कमेडी च्याम्पियनको तयारीमा जुट्ने जानकारी उनले दिए ।
प्रतिक्रिया 4