
२०४० देखि २०४६ सालबीचमा इलाममा साहित्यिक चहलपहल निकै चलेको थियो । कविता तथा साहित्य गोष्ठीहरू बाक्लै हुन्थे । गाउँ-गाउँमा कविता यात्रा गरिन्थ्यो । एकपटक त हामीले कवि गोष्ठीमा टिकट लगायौं, पाँच रुपैयाँ दरको । जम्मा भएको पैसाले त्यहाँ वाचन गरिएका मुक्तकहरू प्रकाशित गर्यौं, सानो पकेट बुकका रूपमा । यिनै गतिविधको उत्कर्षको रूप जस्तै थियो, तेस्रो महानन्द पुस्कारण वितरण समारोह ।
इलामको यो ऐतिहासिक साहित्यिक सम्मिलनमा नेपाल मात्रै होइन, भारतमा रहेका नेपाली साहित्यकारहरूको समेत उल्लासपूर्ण सहभागिता रहेको थियो । त्यस समारोहका प्रमुख अतिथि कविवर केदारमान व्यथित थिए । समारोहको व्यवस्थापन भव्य थियो र त्यसको चर्चा त्यस बखत निकै चुलिएको थियो ।
उसबेला विभिन्न अवसर पारेर आयोजित साहित्य गोष्ठीमा वाचन गरिएका कति कवितालाई लिएर पञ्च प्रशासनले हामीलाई दु:ख दिन्थे । सेन्सरको कुरा उठाउँथे । झमेला पर्थ्यो । तर हाम्रो भित्री उद्देश्य राजनीतिक चेतना जागरणसमेत भएकाले हामी त्यसलाई कुनै न कुनै रूपमा झेल्न तयार थियौं र फत्ते गरिछाड्थ्यौं ।
त्यसताका इलाम नगर पञ्चायतमा नगर प्रतिभा शाखाअन्तर्गत साहित्य उपसमिति पनि थियो । शाखा संयोजक उप-प्रधानपञ्च भीष्म वैद्य पढेलेखेका युवा र मिलनसार व्यक्ति हुनुहुन्थ्यो। प्रशासनको प्रत्यक्ष कोपबाट जोगिन हामी अधिकतर नगरपालिकाको त्यही ब्यानर उपयोग गर्थ्यौं ।
इलाममा सडक नाटक त्यसैबेलादेखि प्रदर्शन हुन थालेको हो । हरेक महिनाको पहिलो शुक्रबार बिहान आठ बजेबाट नाटक सुरु हुन्थ्यो । सडक नाटक भए पनि अधिकतर प्रदर्शन जिल्ला पञ्चायतको सभाकक्षमा हुन्थ्यो । कलाकार भेला नहुँदै दर्शकले सभाकक्ष भरिइससकेको हुन्थ्यो ।
हामीले त्यहाँ धेरैजसो अशेष मल्लका नाटक मञ्चन गर्यौं । नाटकमा प्रयुक्त नयाँ शैलीले इलामका पुराना र अग्रज कलाकार समेतलाई विशेष आकर्षित गरेको थियो । त्यसैले दर्शकदीर्घामा पाका मानिसको समेत उपस्थिति हुन्थ्यो । नाटकका सिप सिक्न हामीले चर्चित नाट्यकर्मी सुनिल पोखरेललाई निम्त्याएर एक साताजसो इलाममा राखेका थियौं ।
२०४६ सालको जनआन्दोलनको तयारी चल्दै थियो, अशेष मल्लको ‘हामी बसन्त खोजिरहेछौं’ सडक नाटक लिएर हामी फिदिम पुग्यौं । राम्रै संख्यामा दर्शक जम्मा भएका थिए । तिनताका फिदिममा दुईवटा फोटो स्टुडियो थिए । दुवै स्टुडियोका फोटोग्राफर पनि क्यामेराका साथ दर्शकको अग्रभागमा उपस्थित थिए, जिल्ला पञ्चायतको प्राङ्गणमा । बिहान ८ बजेबाट नाटक सुरु भयो । २ घण्टा २० मिनेटमा नाटक सकिएको घोषणा भएपछि थाहा भयो, नाटकको फोटो खिच्न आएका ती दुवै ग्राफर नाटकका दृश्यमा यति निमग्न भएछन्- एक स्न्याप पनि फोटो लिन भ्याएनछन् ।
नाटक मञ्चन समापनपछि त्यहाँ कवि वैरागी काइँलाले प्रस्तुत नाटकबारे विषद चर्चा गर्नुभएको थियो । त्यसले त्यहाँ हाम्रा लागि अभिभावकीय भूमिका खेलेको थियो । त्यही दिउँसो भएको कविता वाचन र बेलुकी भएको सांस्कृतिक कार्यक्रममा मानिसको उपिस्थिति देखेर पञ्च प्रशासन निकै आत्तिएको थियो भन्ने कुरा हामीले पछि थाहा पाएका थियौं ।
यस्तै एक दिन बेलुकीपख मित्र भरत भुर्तेल मेरो कोठामा आए । उनी त्यसताका इलाममा कानुन व्यववसायमा संलग्न थिए । पर्सिपल्ट एउटा कविता गोष्ठी गर्ने सल्लाह गर्यौं । भोलिपल्ट भरत र म नगरपालिका गएर त्यहाँको सभाकक्ष र उप-प्रधानपञ्च वैद्यको समय लियौं । बिदाको दिन परेको थियो, सायद शनिबार थियो । कार्यक्रमका बारेमा साथीभाइलाई खबर गरियो ।
सो दिन निर्धारित समय दिनको १ बजे नगरपालिका सभाकक्षमा भेला भइयो । वैद्यजी पनि अइपुग्नुभयो । आधा घण्टा जति गफगाफ गर्दा अपेक्षित कवि तथा साहित्यानुरागी साथीहरू भेला भइसके । कवि तथा नाटककार अशेष मल्ल इलाम आएको अवसर पारेर आयोजित त्यो कार्यक्रमका प्रति सबै उत्सुक थिए ।
एक साथी (अहिले को भनेर सम्झना भएन) ले सभाकक्षमा प्रवेश गर्दै भने- अशेष मल्लहरू तल खोला झरिसक्नुभएछ । कार्यक्रम सुरु गर्दै गर्नु भनेर खबर गरेको रहेछ । यहाँ सकेर उहाँहरू माईपोखरी जाने रे !
भरतजीले उठेर कार्यक्रमलाई औपचारिकतातिर लान थाल्नुभयो । कार्यक्रमको अध्यक्षता शाखा संयोजक वैद्यजीलाई गराइयो, प्रमुख अतिथिको आसन खाली राखेर कविता वाचन सुरु भयो । सबै कविलाई मुख्य अतिथि मल्लकै सामनेमा कविता भन्ने रहर त हुने नै भयो तथापि, नाम बोलाइएपछि अगाडि गएर कविता भन्नै पर्यो । चोटिला चोटिला मुक्तक र कविताहरू सुन्न थालियो ।
२०/२२ कवि थिए होला जम्मा, आधाउधीले कविता वाचन सिध्याएपछि भरतजीले जानकारी गराए- अशेष मल्लहरू आइपुगेर अगाडिपट्टिको पसलमा चिया खाँदै हुनुहुन्छ । उहाँहरू आएपछि समय रहे हामी अहिले वाचन गरिसक्नुभएका कविहरूमध्ये केहीका कविता दोहोर्याउन पनि भ्याउँछौं कि !
कविता वाचन जारी नै रह्यो । भरतजीको सूचना जारी भएको आधा घण्टा जति बितिसक्यो, हाम्रा लागि पनि चिया आइसक्यो तर पाहुना देखा पर्दैनन् । वैद्यजीले मलाई भन्नु भयो- उहाँहरूलाई लिन जानु पर्छ कि !
म उठेर बाहिर निस्किएँ । पाँच सात मिनट जसो पछि फर्केर आएर भने- अब पाँच मिनटमा आइपुग्नुहुन्छ । कविता वाचन गर्ने कवि संख्या दुई तीन मात्रै बाँकी थियो ।
सबैका नजर ढोकातिरै पुग्ने गरेका थिए । एक प्रकारको छटपटी जस्तो थियो वातावरणमा । बाँकी कविले पनि आ-आफ्ना कविता वाचन गरिसकेपछि भरतजीले मुस्काउँदै भने- साथीहरूलाई थाहै होला, आज ढाँट्ने दिन, अप्रिल फर्स्ट । हामीले यहाँहरूलाई पनि अशेष मल्ल आउने भनेर ढाँट्यौं । तपाईंहरूले पत्याइदिनुभयो, रमाइलो भयो, धेरै धेरै धन्यवाद । असुविधाका लागि विशेष क्षमायाचनाका साथ यस कार्यक्रमका सभापतिलाई आजको कार्यक्रमको बिट यहीँ मारिदिनुहुन आग्रह गर्दछु ।
प्रतिक्रिया 4