+
+
Shares

को राजा ? कस्तो राजतन्त्र ?

लोकतान्त्रिक र संवैधानिक तरिकाले संस्थागत भएको गणतन्त्रमा सामन्तवादी संरचना र त्यसका अवशेष बाँकी रहँदा समय–समयमा राजतन्त्रधर व्यक्ति र समूहले टाउको उठाउने गरेका छन् ।

हरि ज्ञवाली हरि ज्ञवाली
२०८१ चैत १९ गते १४:४५

नेपाली जनताको संघर्ष र बलिदानको बलमा शाहवंशीय निरंकुश राजतन्त्र १८ वर्षअघि नै समाप्त भएको हो । लोकतान्त्रिक र संवैधानिक तरिकाले संस्थागत भएको गणतन्त्रमा सामन्तवादी संरचना र त्यसका अवशेष बाँकी रहँदा समय–समयमा राजतन्त्र पक्षधर व्यक्ति र समूहले टाउको उठाउने गरेका छन् ।

इतिहासमा राजाहरूको वंश

नेपालमा राजतन्त्रको इतिहास झण्डै २५० वर्ष लामो छ । यसबीचमा विभिन्न राजवंशले शासन गरेका छन् । प्रारम्भिक कालमा किराँत राजाहरूको शासन थियो । यिनीहरू नेपालको पहिलो शासक मानिन्छन् । त्यसपछि लिच्छवी वंशका राजाले शासन गरे । मल्ल राजाहरूले लगभग ५ सय वर्षसम्म शासन गरेको इतिहास छ ।

काठमाडौं, भक्तपुर र ललितपुर तीन अलग–अलग राज्यमा अनेक राजा भए । गोपाल वंश सबैभन्दा पुरानो भनिन्छ । महिषपाल वंशका पनि राजा थिए । किरात वंशमा २९ जना राजा भएको इतिहास छ ।

नेपालको पहिलो राजा यलम्बरलाई भनिएको छ । लिच्छवीकालमा मानदेव, शिवदेव, नारायणदेव प्रसिद्ध राजा मानिन्छन् । मल्ल वंशमा पहिलो राजा अभय मल्ल भए पनि जयस्थिति मल्ल, यक्ष मल्ल, प्रताप मल्ल, सिद्धिनरसिंह मल्ल प्रसिद्ध राजा भए । बाइसे, चौबीसे राजा र तिनका सन्तान-उपसन्तान राजाहरूको नामावली लामै बन्न सक्छ ।

त्यसो त लिगलिग कोटको दौड प्रतियोगिता जितेर पनि राजा बनेको इतिहास छ । प्रजातन्त्र प्राप्तिको आन्दोलन चर्किरहेको बेला भागेर गएका राजालाई ल्याएर पुनः राजगद्दीमा राखिएको प्रसंग पनि उल्लेख्य घटना नै हो ।

नेपालमा शाह वंशका पहिलो राजा कुलमण्डल शाहलाई मानिएको छ । पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेको भए पनि उनकै वंशका ज्ञानेन्द्र शाह नेपालका अन्तिम राजा भए ।

२०६५ सालमा नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र बनेपछि राजतन्त्रको बिरासत र बर्चस्व दुवै समाप्त भयो । ती तमाम राजा भनिएकाहरूले नेपाली आम जनतालाई सुख, समृद्धि, विकास र सुशासन दिए कि उल्टै अत्याचार, दमन र कुशासन गरेर रैती बनाइरहे ? इतिहासका यी विषयको सही अध्ययन र अनुसन्धान हुनुपर्छ ।

राजतन्त्रको पक्षमा वकालत गर्ने चार प्रवृत्ति

यतिखेर सडक र सामाजिक सञ्जालमा राजतन्त्रको पक्षमा अस्वाभाविक किसिमले वकालत गर्ने चारथरी प्रवत्तिका मानिसहरू पाइन्छन् ।

एकथरी युवापङ्ति छ, जसले हिजोको पञ्चायती निरंकुशता भोगेकै छैन । दमन र अत्याचार सहनुपरेकै छैन । पञ्चायती निरंकुशताले सिर्जना गरेका बेथिति र विसङ्गति देखेकै छैन । मौलिक अधिकार र स्वतन्त्रता हनन भोग्नै परेन ।

अन्याय, अत्याचार र भ्रष्टाचारको विरुद्धमा मुख खोल्नेबित्तिकै प्रशासनको कुटपिट, धरपकड र जेलनेल भोग्नै परेन । आम जनताको चानचुने सङ्घर्ष र बलिदानीले आजको खुला व्यवस्था आएको होइन भन्ने कुरा उनीहरूलाई थाहै छैन ।

त्याग, दुःख, सङ््घर्ष र यातनाको अनुभव नै नगरेका केही युवापङ्ति लहलहैमा सडक र सामाजिक सञ्जालमा राजतन्त्रको पक्षमा उपयोग भएका छन् ।

अर्काथरी व्यक्ति वा समूह छन्, जसले राजतन्त्रको पञ्चायतीकालमा देश र जनतालाई प्रशस्त मात्रामा दोहन गरे । अनियमितता, बेथिति र भ्रष्टाचार गरेर अकुत सम्पत्ति आर्जन गरे । समाजमा हैकम बढाएर एकछत्र शासन गरिरहे । आम नागरिकमाथि अन्याय, अत्याचार र दमन गरिरहे ।

यिनै विवादास्पद ज्ञानेन्द्रलाई पुनः राजा बनाउन हो यो अभियान ? कुन संवैधानिक बाटोबाट, कसरी उनी राजा बन्न सम्भव छ ?

लोकतान्त्रिक व्यवस्थामा उनीहरूको त्यो हैकम, शान, शक्ति जस्ताको तस्तै रहने कुरै भएन । उनीहरूले पहिलाझैँ लुट, मनपरी र भ्रष्टाचार गर्न पाएनन् । अहिले पुरानै व्यवस्था फर्काएर देश र जनतालाई पुनः लुट्न चाहन्छन्, त्यसैले राजतन्त्रको अभियानलाई जगाइरहेका छन् ।

अर्कोथरी, नेपालविरोधी राष्ट्रिय–अन्तर्राष्ट्रिय तत्वहरू छन्, जसले नेपाली समाजमा अराजकता सिर्जना गरेर र जनतालाई विभाजित गरेर मुलुकमा अस्थिरता सिर्जना गर्ने अभीष्टमा छन् । तिनीहरू राजतन्त्रको पक्षमा जनमत सिर्जना गर्दै आफ्नो स्वार्थ पूरा गर्ने दाउमा लागेका छन् ।

एकथरी ती नेता कार्यकर्ता छन्, जो आफ्नै पार्टीका गणतन्त्रवादी नेता र नेतृत्वप्रति असन्तुष्ट छन् । मुलुकमा बढ्दै गएको आर्थिक संकट, युवा पलायन, भ्रष्टाचार, अराजकता, अशान्ति, बेरोजगारी लगायतका तमाम बेथितिका कारण खिन्न भएका छन् । गणतान्त्रिक पार्टीहरूले आशातीत काम गर्न नसकेको भन्दै कतिपय नेता–कार्यकर्ता विकल्प खोज्न राजावादी आन्दोलनमा लागेका छन् ।

कुन बाटोबाट, को राजा आउलान् ?

ज्ञानेन्द्र शाह नेपालका अन्तिम राजा हुन् । २०६५ सालमा नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र बनेपछि राजतन्त्र समाप्त भएको हो । पूर्वराजा ज्ञानेन्द्र शाहलाई विभिन्न समयमा विभिन्न आरोपहरू लागेका छन् ।

२०६१ माघ १९ मा ज्ञानेन्द्रले प्रत्यक्ष शासन लिँदै जनप्रतिनिधि संसद् विघटन गरेकै हुन् । उनको शासनकालमा प्रेस तथा मानव अधिकारमाथि कडा नियन्त्रण गरिएकै थियो । ज्ञानेन्द्रलगायत उनको परिवारलाई व्यावसायिक स्वार्थका लागि राजकीय शक्ति प्रयोग गरेको आरोप पनि छँदैछ । नारायणहिटी दरबार हत्याकाण्डको आरोपबाट समेत उनी मुक्त छैनन् ।

के यिनै विवादास्पद ज्ञानेन्द्रलाई पुनः राजा बनाउन यो अभियान हो यो ? कुन संवैधानिक बाटोबाट, कसरी उनी राजा बन्न सम्भव छ ? उनी नेपालको राजकीय अभिभावकत्व ग्रहण गर्न सक्षम र योग्य छन् ? के नेपाली जनताका लागि यो स्वीकार्य हुनसक्छ ? यक्ष प्रश्न यिनै हुन् ।

राजा र राजतन्त्र अब नेपालको इतिहास भइसकेको छ । भूत भइसकेको छ । सडक र सामाजिक सञ्जालमा अस्वाभाविक रूपले बौरिएका राजावादी समूहले इतिहासमध्येका कुन व्यक्तिलाई राजा बनाउन र कस्तो खालको राजतन्त्र ल्याउन आन्दोलन गरिरहेका छन् ?

कुन राजाको वंश र कस्तो राजतन्त्रको पक्षमा यतिखेर अस्वाभाविक गतिविधि र हर्कत भइरहेका छन् ? लोकतान्त्रिक र संवैधानिक तरिकाले बिदा गरिएको राजतन्त्र केही समूहको स्वार्थपूर्ण जुलुसकै भरमा कुन बाटोबाट कसरी पुनर्स्थापित हुन सक्छ ? यस्ता तमाम प्रश्नहरू थपिँदै जाँदा राजतन्त्रवादीहरुको यो अभियान कदापि सफल हुने अवस्था देखिँदैन ।

राजतन्त्र पक्षधरका फरक–फरक स्वार्थ

सडक र सामाजिक सञ्जालमा राजसंस्थाको पक्षमा केही सक्रियता देखिए तापनि राजावादी व्यक्ति तथा समूहहरू एउटै मुद्दामा एकजुट हुन सकेका छैनन् । उनीहरू सबैले आआफ्नै स्वार्थ बोकेर हिँडिरहेको अवस्था छ ।

राप्रपालाई चुनावमा बलियो शक्ति बन्नुपरेको छ । दुर्गा प्रसाईंलाई बैंकको ऋण मिनाहा गराउनुपरेको छ । कमल थापा र नवराज सुवेदी लगायतका पञ्च नेतालाई विगतको बिरासत प्राप्त गर्नुपरेको छ ।

रविन्द्र मिश्रले आफ्नो अभियान र व्यक्तिगत चाहनालाई पूरा गर्नुछ । अराजक अभियन्ताको आरोप लागेर राप्रपाबाट चुनाव जितेका ज्ञानेन्द्र शाहीले पार्टीमा हैकम जमाउनुपरेको छ । अन्य पार्टीका अवसरवादी नेता–कार्यकर्ताहरूले अवसरका लगि आआफ्ना पार्टीमा बार्गेनिङ गर्नु छ ।

केही अन्य ससाना संगठनहरूलाई आफ्नो अस्तित्व देखाउनु छ । केही शक्तिले सडकमा अराजकता सिर्जना गरेर आफ्नो स्वार्थ पूरा गर्नु छ । नेपालविरोधी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिहरूले यही बेला खेल्नु परेको छ । फरकफरक स्वार्थ र अलगअलग उद्देश्य बोकेका झुण्डहरूको यस्तो अभियान सफल हुने अवस्था देखिँदैन ।

निराशा र असन्तुष्टि नै अस्थिरताको कारक

यतिखेर राजतन्त्रको पक्षमा देखिएको ठूलो भिड व्यवस्थाविरूद्ध नभई राजनीतिक दल र नेताहरूको कार्यशैलीप्रतिको आक्रोश मात्र हो । तर विडम्बना, गणतान्त्रिक दलका नेताहरू देश र जनताप्रति त्यति गम्भीर र जिम्मेवार देखिँदैनन् ।

मुलुकमा आर्थिक संकट, बढ्दो भ्रष्टाचार, अराजकता, अशान्ति, बेरोजगारी लगायतका तमाम बेथितिका कारण चारैतिर असन्तुष्टि बढेको बढ्यै छ । गणतान्त्रिक पार्टीहरूले आशातीत काम नसक्दा आम जनतामा चरम निराशा र असन्तुष्टि छ । गणतन्त्रवादी राजनीतिक दलको उद्देश्य केवल मिलीजुली सत्तामा जाने र राज्यको ढुकुटीमा ब्रह्मलुट मच्चाउनेमा केन्द्रित भएका छन् । चिन्ता र आपत्तिको विषय यही हो ।

कमजोर छैन गणतन्त्रको जग

हालको लोकतान्त्रिक गणतन्त्र कसैले उपहार दिएको वा टिठाएर दिएको व्यवस्था होइन । नेपाली जनताको करिब ७० वर्षको निरन्तर सङ्घर्ष र आन्दोलनको उपलब्धि हो । हजारौँ नेपाली जनताको शहादतपछि मात्र यो प्राप्त भएको हो ।

जनताले आफ्नो रगतसँग साटेर ल्याएको यो लोकतान्त्रिक गणतन्त्रको जग त्यति कमजोर छैन । कुनै व्यक्ति वा समूहको मनोगत चाहना, सानोतिनो प्रयास र फगत हल्लाले मात्र यो बलियो जग हल्लिने अवस्था छैन ।

लोकतान्त्रिक गणतन्त्र संसारकै उन्नत व्यवस्था हो । योभन्दा उत्कृष्ट राजनीतिक व्यवस्था नेपालमा पनि छैन । गणतन्त्रवादी दलहरुप्रति केही असन्तुष्टि र गुनासा भए पनि अहिले नै आम जनताले व्यवस्थाकै विकल्प खोजिसकेका छैनन् । तसर्थ, इतिहास भइसकेको पुरानो राजतन्त्र अग्रगामी र उन्नत लोकतन्त्रको विकल्प हुन सक्दैन ।

अन्त्यमा, संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको दुई दशक नपुग्दै राजतन्त्रको भूतबाट तर्सिनुपर्ने अवस्था कसरी आयो ? गणतान्त्रिक व्यवस्थामाथि आँच आउन नदिन गर्नैपर्ने विषयहरू केके हुन् ? आम जनतामा बढ्दै गएको असन्तुष्टि र निराशालाई कसरी सम्बोधन गर्ने ? यी प्रश्नहरुको जवाफ खोज्न गणतन्त्रवादी दलहरू गम्भीर र चिन्तनशील हुनुपर्छ ।

लेखक
हरि ज्ञवाली

रुपन्देहीका शैक्षिक अगुवा विभिन्न विधामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?