१९ चैत, काठमाडौं । ‘सफलताको टाकुरामा पुग्छ उही नै, चढ्छ प्रत्येक पाइला जो लगनशील भई’, यो सन्दर्भ अहिले एक नेपाली खेलाडीले प्राप्त गरेको उपलब्धिसँग ठयाक्कै मेल खान्छ ।
तेक्वान्दो खेलमा सबैभन्दा माथिल्लो र अन्तिम उपाधि मानिने ९ डान प्राप्त गरेर तुलसी गुरुङले पहिलो नेपाली खेलाडी बनेर इतिहास रचेका छन् ।
गुरुङले गत वर्ष डिसेम्बरमा ९ डान प्राप्तिका लागि कोरियाको सियोलस्थित विश्व तेक्वान्दो महासंघमा प्रयोगात्मक र लिखित परीक्षा दिएका थिए । महासंघले १८ चैतमा नतिजा घोषणा गरेको हो । यसवर्ष जुनमा आयोजना हुने कार्यक्रममा गुरुङलाई प्रमाणपत्र प्रदान गरिनेछ ।
ओलम्पियन दीपक विष्ट कुनै पनि नेपालीले हालसम्म ७ डानभन्दा माथि प्राप्त गर्न नसकेको बताउँछन् । ७ डान प्राप्त गरिसकेपछि ८ डानको लागि ७ वर्ष, ९ डानको लागि ८ वर्ष तेक्वान्दोमै निरन्तर क्रियाशील रहनुपर्ने समेत उनले जनाए । ‘यो उपाधि प्राप्त गर्नु अत्यन्तै कठिन छ । गुरुङले पाउनुभएको यो उपाधिले तेक्वान्दोप्रति समर्पित सम्पूर्ण खेलाडी र देशकै शिर उचो बनाएको छ’ विष्टले भने, ‘यो उपाधि प्राप्त गर्ने व्यक्तिलाई संसारभर अत्यन्तै सम्मानजनकरूपमा ग्राण्डमास्टरका नामले सम्बोधन गरिन्छ।’
नेप्लिज तेक्वान्दो एकेडमीका अध्यक्ष अशोक खड्काले समेत तुलसी गुरुङबाहेक अरू कसैले ९ डान प्राप्त गरेको जानकारी नभएको बताए । ‘यो उपाधि प्राप्त गर्न ४०-४५ वर्ष निरन्तर तेक्वान्दोमै क्रियाशील रहेर शारीरिक रूपमा तन्दुरुस्त हुनैपर्छ’ खड्काले भने, ‘संसारमै यो उपाधि निकै दुर्लभ मानिन्छ, यो उपाधि प्राप्त गर्न निकै कठिन छ, यसका लागि समर्पण चाहिन्छ ।’
१७ वर्षको उमेरदेखि तेक्वान्दोमा निरन्तर सक्रिय गुरुङले ९ डान परीक्षा पास गर्न निकै चुनौतीपूर्ण रहे पनि सफल भएकोमा खुसी व्यक्त गरे । ‘तेक्वान्दो खेलप्रतिको मेरो प्रेम, निरन्तर मेहनत र समर्पणका कारण ९ डान प्राप्त हुन सकेको हो भन्ने मलाई लाग्छ’ गुरुङले भने, ‘यो उपाधि प्राप्त गर्न जति मेरो भूमिका छ, त्यतिनै मलाई मेरो परिवारको हौसलाले पनि यो उपलब्धि दिलाउन भूमिका खेलेको छ ।’
६३ वर्षका गुरुङ हाल fहङकङमा बसोबास गर्छन । उनी हङकङ तेक्वान्दोका प्रमुख प्रशिक्षकसमेत रहिसकेका छन् ।
नेपालमा मात्र होइन्,हङकङको खेलकुद इतिहासमा पनि यो स्थान हासिल गर्ने गुरुङ पहिलो नेपाली हुन् । पूर्वब्रिटिस गोर्खा सैनिक उनी सन् १९८२ र १९८३ मा आयोजित ‘हङकङ ओपन ब्ल्याक बेल्ट कम्पिटिसन’ का स्वर्ण पदक विजेता हुन् ।
सन् १९८३ मा उनले हङकङको प्रतिनिधित्व गर्दै डेनमार्कको कोपनहेगनमा आयोजित ‘वर्ल्ड तेक्वान्दो च्याम्पियनसिप’ मा सहभागिता जनाएका थिए । ब्रिटिस सैनिक खेलाडीबीचको प्रतिस्पर्धामा सर्वोत्कृष्ट भएपछि उनलाई हङकङ ओपनमा सहभागी हुने अवसर जुरेको थियो ।
सन् १९९३ मा अमेरिकामा आयोजित विश्व तेक्वान्दो च्याम्पियनसिप र १९९५ थाइल्याण्डमा आयोजित इष्ट एसियन गेम्समा गुरुङ अफिसियल रेफ्री थिए ।
नेपाली खेलकुदमा समेत उनले इतिहास रचेका छन् । २०४० मा पोखरामा आयोजित दोस्रो राष्ट्रिय खेलकुदमा गुरुङले मार्सल आट्र्सतर्फ स्वर्ण पदकसहित उत्कृष्ट फाइटरको उपाधि जितेका थिए । त्यतिबेला कराँतेका चर्चित खेलाडी मोहन राईलाई गुरुङले क्वाटरफाइनलमा पराजित गरेका थिए ।
सेनाबाट अवकाश लिइसकेपछि पनि उनी निरन्तर तेक्वान्दोमै सक्रिय रहे । सन् २००१ मा गुरुङले ‘हङकङ नेप्लिज तेक्वान्दो महासंघ’ गठन गरेका थिए । त्यसयता उनको प्रशिक्षणमा २ हजारभन्दा बढीले ब्ल्याक बेल्ट लिइसकेका छन् ।
प्रतिक्रिया 4