
१९ चैत, काठमाडौँ । हिउँदे अधिवेशनमा प्रतिनिधि सभाका २७ वटा बैठक बसे। २७ मध्ये ११ वटा बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अनुपस्थित रहे ।
अधिवेशन अवधिभर १० भन्दा बढी बैठकमा अनुपस्थित सांसदको अनुपस्थितिबारे सभामुख देवराज घिमिरेले मंगलबार सभामा जानकारी गराए । अनुपस्थिति स्वीकृतीका लागि सभामुखले प्रस्तुत गरेको विवरणमा देउवा ११ वटा बैठकमा अनुपस्थित रहेको उल्लेख छ ।
सभामुख घिमिरेका अनुसार देउवाले पार्टीका काममा व्यस्त रहेकाले संसद बैठकमा उपस्थित हुन नसकेको कारण देखाएका छन् । जसलाई सभाले स्वीकृत गरेको छ ।
प्रतिनिधि सभा नियमावलीको नियम २१३ मा अनुपस्थितिको सूचना दिनुपर्ने सम्बन्धी व्यवस्था छ ।
‘कुनै सदस्य अस्वस्थ वा काबु बाहिरको परिस्थिति परि संविधानको धारा ८९ को खण्ड (घ) बमोजिम लगातार दशवटा बैठकमा अनुपस्थित रहनु पर्ने भएमा सो सम्बन्धी अग्रिम सूचना सभामुख मार्फत् सदनलाई दिनु पर्नेछ’ नियमावलीको नियम २१३ को उपनियम १ मा छ ।
यस्तो सूचना सभामुखले सभाको स्वीकृतिको निमित्त प्रस्तुत गर्नुपर्ने व्यवस्था छ । यस अनुसार अधिवेशनको अन्तिम दिन सभामुखले सभामा प्रस्तुत गरेका हुन् । जसलाई सभाले स्वीकृत गरेको हो ।
संघीय संसदको हिउँदे अधिवेशन गत माघ १८ गते सुरु भएको थियो । मंगलबार राति १२ बजेबाट अन्त्य हुँदैछ । अधिवेशन अन्त्य हुनु अगाडि सभामुखले सभामा सांसदहरूको अनुपस्थिति स्वीकृतिका लागि प्रस्तुत गरेका हुन् ।
प्रतिक्रिया 4