+
+
Shares

सरकारले पूर्वराजालाई तीनकुने घटनासँग जोड्न खोजेको भन्दै सचिवालय असन्तुष्ट

दुर्गा प्रसाईं र नवराज सुवेदीलाई निर्मल निवासमा ज्ञानेन्द्रले भेटेको प्रश्नमा अनलाइनखबरसँग कुरा गर्दै पूर्वराजा शाहका प्रमुख संवाद सचिवले भने, ‘राजाले कसैलाई भेट्ने, कसैलाई नभेट्ने भन्ने हुँदैन । उहाँहरूकै दलका मान्छे पनि आउनु भएको होला, भेट्दिनँ भन्नु त भएन ।’

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १९ गते २१:३८

१९ चैत, काठमाडौं । तीनकुनेमा १५ चैतमा भएको हिंसात्मक प्रदर्शनमा पूर्वराजा ज्ञानेन्द्र शाह जोडिएको, उनले सम्झौता उल्लंघन गरेको सरकारको निष्कर्ष छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा सोमबार बोल्दै आपराधिक घटनामा कसैले पनि उन्मुक्ति पाउनुहुँदैन, पूर्वराजाले फेरि राजा बन्छु भन्ने चाहेको हो भने पछिल्ला शंखलाबद्ध घटनाबारे आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने भनेका छन् ।

ज्ञानेन्द्र बस्दै आएको निर्मल निवासमा नवराज सुवेदी र दुर्गा प्रसाईंसँग भएको भेटले पनि प्रधानमन्त्रीलाई अझै आशंकित बनाएको छ । उनले संविधानप्रति अनास्था, घृणा र भ्रम फैलाउन निर्मल निवास र निकटस्थहरू नै सक्रिय रहेको विश्लेषण गरेका थिए ।

पूर्वराजा ज्ञानेन्द्र शाहको संवाद सचिवालयले प्रधानमन्त्रीको वक्तव्यबारे टिप्पणी गर्न अस्वीकार गरेको छ । संवाद सचिव फणिराज पाठकले राजनीतिक ढंगबाट आएका वक्तव्यहरूको जवाफ नहुने भन्दै तीनकुने प्रदर्शन र हिंसामा पूर्वराजालाई जोड्न खोजिएकामा आपत्ति जनाए ।

संवाद सचिव फणिराज पाठकले पूर्वराजाबाट आएका धारणा यसअघि नै सार्वजनिक भइसकेको भन्दै राष्ट्रिय एकता र मेलमिलापबाहेक अरु चाहना पूर्वराजाको नभएको प्रष्ट गरे ।

उनले पूर्वराजाबाट आएका धारणा यसअघि नै सार्वजनिक भइसकेको भन्दै राष्ट्रिय एकता र मेलमिलापबाहेक अरु चाहना पूर्वराजाको नभएको प्रष्ट गरे ।

‘राजाले दिएको वक्तव्य सार्वजनिक रूपमै आएको छ । त्यसमा कुनै अनौठो कुरा आएको छ र ? तिमीहरू काम लाग्दैनौं म मात्रै काम लाग्छु भनेको छ र ?,’ पूर्वराजा शाहका संवाद सचिव पाठकले अनलाइनखबरसँग भने, ‘देशमा सहजता हुनुपर्‍यो, कसैलाई पनि माइनस गर्ने होइन, बरु त्यसका लागि अझै त्याग गर्नुपर्ने केही छ भने म तयार छु, आउँ छलफल गरौं भन्ने आह्वान छ । कि यसो भन्न पनि हुँदैन ?’

१५ चैतको हिंसात्मक प्रदर्शनभन्दा अघिल्लो दिन पूर्वराजा शाहले राजावादी आन्दोलन समितिका संयोजक नवराज सुवेदी र दुर्गा प्रसाईंसँग बेग्लाबेग्लै भेटेका थिए । सो भेटेको प्रसंगले पूर्वराजाको सरोकारलाई जनाउँदैन र भनी सोधिएको प्रश्नमा पाठकले त्यसैका कारण पूर्वराजालाई जोड्नु पुरा अनुचित हुने बताए । उनले कतिपय दलकै नेताहरू पनि पूर्वराजासँग भेटिरहेको भन्दै कति प्रसंग बाहिर आउने, कतिले बाहिर नल्याउने दृष्टान्त रहेको सुनाए ।

‘राजाले कसैलाई भेट्ने, कसैलाई नभेट्ने भन्ने हुँदैन । सबैलाई भेट्ने, सबैका कुरा सुन्ने हो, राजाले,’ उनले भने, ‘उहाँहरूकै दलका मान्छे पनि आउनु भएको होला, भेट्दिनँ भन्नु त भएन । त्यसैले सुवेदी, प्रसाईंलाई पनि भेटेको हो, तर कुनै षड्यन्त्र गर्न भेटेको होइन । नियमित र सामान्य किसिमकै भेट हो ।’

नागरिकमा सरकारका कामकारबाहीबारे प्रश्न र कतिपय क्षेत्रमा असन्तोष बढ्दै जाँदा राजावादीहरूले त्यो स्पेस लिन खोजेका छन् । पूर्वराजाको संवाद सचिवालयले भने शान्तिपूर्ण र सौम्य प्रदर्शन गर्ने शैली नबदलिने भन्दै २५ फागुनको एयरपोर्टदेखि निर्मलनिवाससम्मको सवारी त्यसैको दृष्टान्त रहेको बतायो ।

१५ चैतमा भएको प्रदर्शनको आयोजक र सहभागीहरूले नै त्यसमा भएका घटनाक्रमको जवाफ दिइसकेको भन्दै त्यसमा पूर्वराजालाई जोड्ने काम नगर्न संवाद सचिव पाठकले आग्रह गरे ।

१५ चैतमा भएको प्रदर्शनको आयोजक र सहभागीहरूले नै त्यसमा भएका घटनाक्रमको जवाफ दिइसकेको भन्दै त्यसमा पूर्वराजालाई जोड्ने काम नगर्न संवाद सचिव पाठकले आग्रह गरे ।

कांग्रेस, एमाले, माओवादी र नेकपा एसका नेताहरूले भने पूर्वराजाको प्रत्यक्ष, परोक्ष संलग्नताकै कारण तीनकुनेको माहोल हिंसात्मक बनेको भन्दै उनलाई समेत छानबिनको दायरामा ल्याउनुपर्ने बताइरहेका छन् । कतिपय नेताहरूले भने उनको सेवासुविधा समेत कटौती हुनुपर्ने माग राखिरहेका छन् ।

पूर्वराजा ज्ञानेन्द्रका प्रमुख संवाद सचिव पाठकले भने १८ वर्षअघि गद्दी छाड्दा समेत हाँसीहाँसी गएका ज्ञानेन्द्रले यतिका वर्ष बाँचेको जीवनशैली हेरेर समेत गलत भाष्य नबनाउन आग्रह गरे ।

‘उहाँले त्यस्तो भनेको भए अस्ति २५ फागुनमा समेत लफडा हुन्थ्यो होला नि, किन भएन ?’ उनले प्रश्न गरे, ‘त्यसैले राजालाई जथाभावी मुछ्ने कुरा भनेको षड्यन्त्र पनि हुन सक्छ । राजाको सबैलाई सद्भाव हुन्छ । कसैलाई पनि नजिक वा टाढा हुँदैन ।’

लेखक
अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?