
१९ चैत, काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) छैटौं शिखर सम्मेलनमा भाग लिन नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी टोली प्रधानमन्त्री केपी शर्मा ओलीसँगै थाइल्यान्ड गएको छ ।
निजी क्षेत्रबाट प्रतिनिधित्व गर्दै अध्यक्ष कमलेशकुमार अग्रवाल, चेम्बर सल्लाहकार परिषद् अध्यक्ष राजेशकाजी श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रा र मानार्थ उपाध्यक्ष एवं अन्तर्राष्ट्रिय सम्बन्ध समिति सभापति अर्जुनप्रसाद शर्मा प्रधानमन्त्री ओलीसँगै आज थाइल्यान्ड प्रस्थान गरेका छन् ।
थाइल्यान्ड भ्रमण क्रममा द्विपक्षीय व्यापार सहजीकरण, पर्यटन प्रवर्द्धन, लगानी अभिवृद्धि लगायत विषयमा समझदारी एवं सम्झौता हुने चेम्बरले जनाएको छ ।
चेम्बर र टुरिज्म काउन्सिल अफ थाइल्यान्डबीच व्यापार, पर्यटन र नागरिक उड्डयन क्षेत्रमा छुट्टै सम्झौताको तयारी समेत भएको छ ।
चेम्बर पदाधिकारी टोलीले त्यहाँका प्रतिष्ठित व्यवसायीसँग भेटघाट र छलफल गर्ने कार्यक्रम तय भएको छ ।
थाइल्यान्डको निजी क्षेत्रसँग द्विपक्षीय व्यापार सहजकीरण, नेपालमा लगानी अभिवृद्धि जस्ता विषयमा छलफल गर्न लागिएको चेम्बर अध्यक्ष अग्रवालले बताए ।
नेपाल र थाइल्यान्डका पर्यटकीय क्षेत्र पहिचान र प्रवर्द्धन गर्दै संयुक्त रूपमा बजार प्रवर्द्धनात्मक अभियान, नागरिक उड्डयन क्षेत्रमा संयुक्त सहकार्य, सम्पदा र संस्कृति आदान–प्रदान, व्यापार एवं लगानी अभिवृद्धिका लागि सहकार्य गर्ने चेम्बरको तयारी छ । चेम्बर पदाधिकारी टोली २२ चैतमा फर्किने तालिका छ ।
प्रतिक्रिया 4