
सन् १९८० को दशकमा हुर्किएको पुस्तासँग एउटा प्रेमिल स्मृति अझै रहलपहल होला, अटो भर्ने । अपरिचितसँग सम्बन्धको हात बढाउने, रचनात्मक भावना पोख्ने र त्यसलाई संग्रहित गर्ने एउटा काइदाको चलन थियो यो ।
स्कुले जीवनको उत्तरार्द्धमा र कलेज जीवनको प्रारम्भमा धेरैले यस्तो अनुभव पक्कै लिए । किनभने बैंसालु उमेरमा यो एउटा अनिवार्य हिस्सा जस्तै थियो । अव्यक्त प्रेम भावनालाई कलात्मक अक्षरहरूमा खिप्ने यो प्रचलनले कतिको मित्रतालाई मधुर बनाइदियो, कतिको सम्बन्धलाई प्रेममा रुपान्तरण गरिदियो । सायद कतिको त वैवाहिक सम्बन्ध नै जोडिदियो होला । जसरी अहिले फेसबुक जस्ता सामाजिक सञ्जालबाट भइरहेका छन् ।
त्यसबेला बैंसालुवयका केटाकेटीहरू आफ्नो नामको छुटै अटो बनाउँथे र साथीसंगीलाई भर्न लगाउथे । अटोमा साथीहरूले प्रेममय शब्दहरू भरिदिन्थे र अनेक साजसज्जामा फोटो टाँसिदिन्थे । यसरी एकपछि अर्को हुँदै थुप्रै साथी त्यसमा समाहित हुन्थे । र, साथीहरूको प्रेमिल हस्ताक्षरको यही स्मृति जतनसाथ राख्ने गर्थे ।
संभवत अहिले पनि कतिपयले आफ्नो अटो सुरक्षित राखेका होलान् । किनभने डिजिटल युगको प्रवेशसँगै अटोको चलन पनि पटाक्षेप भइदियो । यद्यपि त्यस दशकमा हुर्किएकाहरूमा यसको धुमिल स्मृति बाँकी नै होला ।
त्यही स्मृतिलाई ब्यूँताउनेगरी टिजर सार्वजनिक भएको छ, ऊनको स्वीटर ।
भनिहालौं, नविन चौहान निर्देशित फिल्म ‘ऊनको स्वीटर’ आउँदो वैशाख तेस्रो साता प्रदर्शनमा आउँदैछ । विपीन कार्की, मिरुना मगर फिल्ममा मुख्य पात्रको रुपमा देखिनेछन् । त्यससँगै माओत्से गुरुङ, विल्सनविक्रम राई, प्रेम सुब, परीक्षा लिम्बु, मेनुका प्रधानलाई फिल्ममा देख्न सकिनेछ ।
गीत एवं म्युजिक भिडियोबाट छुटै ख्याती कमाएको आर्टमान्डुले निर्माण गरेको कारण पनि यस फिल्मले राम्रो हाइप पाएको छ । यही प्रतिक्षित फिल्मको टिजरले दर्शकमा अरु उत्सुकता बढाइदिएको छ । एउटा पुस्तासँगै हुर्केर गएको प्रेमकथा टिजरमा देख्न सकिन्छ । त्यसले समेटेको भूगोल, रहनसहन, बोलीचाली उत्तिकै झरिलोभरिलो छ ।
फिल्ममा सुजन चापागाईंको संगीत छ । गीत रचना हर्क साउद र युवराज काफ्लेले गरेका छन् ।
प्रतिक्रिया 4