
१९ चैत, काठमाडौं । ३९ महिनाअघि १४औं महाधिवेशनबाट सभापतिमा दोहोरिएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई चलायमान बनाउने बाचा दोहोर्याएका थिए । त्यसैमा बोली थप्दै निर्वाचित महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीका सबै अंगलाई चुस्त बनाउने र पार्टीलाई सुदृढ बनाउने प्रतिबद्धता जनाएका थिए ।
तर, लामो समय बितिसक्दा पनि नेपाली कांग्रेसका यी शीर्ष नेताको प्रतिबद्धता पूरा हुन सकेको छैन । अर्थात्, पार्टीका अंग मानिने भ्रातृ संस्थाहरूले महाधिवेशनसम्म गर्न सकेका छैनन् ।
कांग्रेस पार्टीले आफ्ना प्रमुख १३ भ्रातृ संस्थाहरूलाई यस वर्षको चैत महिनाभित्र महाधिवेशन सम्पन्न गर्न निर्देशन दिएको थियो । पार्टीले उपलब्ध गराएको समयसीमा भित्र ५ भ्रातृ संस्थाले महाधिवेशन गरेर नयाँ कार्यसमिति चयन गरेका छन् । ८ भ्रातृ संस्था अन्तरविरोधमै अल्झिएका छन् । आठमध्ये ७ वटाले महाधिवशेन गर्न सकेका छैनन् भने एकमा तदर्थ समितिको नेतृत्व समेत सभापति शेरबहादुर देउवाले मनोनीत गरेका छैनन् । ठाकुर संघ विघटन गरेका देउवाले तदर्थ समितिको अध्यक्ष तोकेका छैनन् ।
यसबीचमा लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, लोकतान्त्रिक अपाङ संघ, भूतपूर्व सैनिक संघ, प्रजातान्त्रिक सेनानी संघ र मुस्लिम संघले अधिवेशन गरेर नयाँ नेतृत्व चयन गरिसकेका छन् ।
लोकतान्त्रिक आदिवासी जनजाति महासंघमा ओमबहादुर घर्तिमगर, लोकतान्त्रिक अपाङमा संघमा माधव चम्लगाईं, भूतपूर्व सैनिक संघमा गर्जबहादुर गुरुङ, प्रजातान्त्रिक सेनानी संघमा बालकृष्ण दाहाल र मुस्लिम संघमा अताबुल मन्सुरीको नेतृत्वमा नयाँ कार्यसमिति बनेको छ । लोकतान्त्रिक आदिवासी जनजाति महासंघ र लोकतान्त्रिक अपाङ संघले पहिलोपटक महाधिवेशन गरेका हुन् ।
प्रमुख भ्रातृ संस्थाका रूपमा चिनिने नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघले महाधिवेशन गर्न सकेका छैनन् । महाधिवेशन गर्न नसक्ने अन्य भ्रातृ संस्थाहरूमा किसान महासंघ, दलित संघ, तामाङ संघ र मगर संघ छन् ।
नेविसंघमा दुजाङ शेर्पा, तरुण दलका विद्धान गुरुङ, महिला संघमा उषा राउत मिश्र, किसान महासंघमा गणेश तिमिल्सिना र दलित संघमा लोकबहादुर विश्वकर्मा तदर्थ समितिका सभापति छन् ।
नेविसंघका प्रवक्ता सुरज सेजुवालका अनुसार चैत महिनाभित्र महाधिवशेन गराउन सम्भव छैन । स्ववियु निर्वाचनमा केन्द्रित हुनुपरेकाले तोकिएको समयसीमामा महाधिवशेन गराउन कठिन भएको प्रवक्ता सेजुवाल बताउँछन् ।
‘पालिका तहदेखि अधिवेशन सुरु गरेर केन्द्रसम्म गराउन बाँकी दिनमा सम्भव छैन,’ सेजुवालले भने, ‘समयमा महाधिवशेन नहुनुमा हाम्रो पनि केही कमजोरी रह्यो । पार्टीले पनि अहिलेसम्म विधान अनुमोदन गरेको छैन ।’ वर्तमान समितिलाई पाँच महिना अवधि थप गरिएको अवस्थामा महाधिवशेन गर्न सकिने सेजुवालको भनाइ छ ।
पछिल्लो पटक २०७३ सालमा महाधिवेशन गरेका नेविसंघ, तरुण दल र महिला संघ त्यसयता तदर्थ समितिकै भरमा छन् ।
महाधिवशेन गर्न नसकेपछि २०७८ साउनमा भ्रातृ संस्थाहरू भंग गरिएको थियो । निर्वाचित समिति गठन गर्न भ्रातृ संस्थाहरू भंग गरेर पुन तदर्थ समिति नै बनाइएको थियो । पार्टीभित्रका समूहलाई भागवण्डा मिलाउनका लागि तदर्थ समितिमा पटक संख्या थपिएको छ । नेविसंघ ७५२, तरुण दल ४०१, महिला संघ ५३, किसान महासंघ ४६ सदस्यीय तदर्थ समिति छन् ।
पछिल्लो पटक २०७३ सालमा महाधिवेशन गरेका नेविसंघ, तरुण दल र महिला संघ त्यसयता तदर्थ समितिकै भरमा छन् । निर्देशक समितिका एक सदस्यका अनुसार महाधिवशेन गराउन नसकेका भ्रातृ संस्थाहरूमा नेविसंघ बाहेकलाई भंग गर्ने तयारी छ । उनले भने, ‘स्ववियु निर्वाचनमा केन्द्रित हुनु परेकाले नेविसंघ बाहेक अरुलाई यही महिनाभित्र अधिवेशन गराउने म्याद तोकिएको हो,’ उनले भने, ‘महाधिवशेन गराउन नसक्ने तदर्थ समिति अब विघटन हुन्छन् ।’

महाधिवशेन गराउन पार्टीबाट सहजीकरण र समन्वय गर्न निर्देशक समिति गठन गरे पनि प्रमुख भ्रातृ संस्थाले अधिवशेन गराउन सकेनन् । महाधिवशेन गराउन नसक्ने भ्रातृ संस्थालाई भंग गर्ने वा समयावधि थप्ने निर्णय पार्टीको केन्द्रीय समिति बैठकबाट लिनुपर्ने हुन्छ ।
पार्टी सभापति देउवा, महामन्त्रीद्वय थापा र शर्मा जिल्लाहरूका कार्यक्रममा व्यस्त रहनु पर्ने भएकाले चैत महिनाभित्र केन्द्रीय समितिको बैठक बस्ने सम्भावना नरहेको नेताहरू बताउँछन् ।
महामन्त्री शर्माले अधिवेशन गर्न नसक्ने भ्रातृ संस्थाका विषयमा अनौपचारिक छलफल भइरहेको जानकारी गराए । ‘महाधिवेशन गराउन नसक्नेलाई राख्ने वा विदा गर्नेबारे छिट्टै निर्णय लिन्छौं,’ शर्माले अनलाइनखबरसँग भने, ‘राख्ने हो भने के तर्कका साथ यथावत् गर्ने वा विदा गर्ने हो भने नयाँ व्यवस्थापन के कसरी गर्ने भनी दुई विकल्पमा छलफल गरेर टुंगोमा पुगिनेछ ।’
नेपाली कांग्रेस वर्तमान संसद्को सबैभन्दा ठूलो पार्टी हो । पार्टीका शीर्ष नेताहरूले २०८४ मा हुने आगामी निर्वाचनमा पार्टीले एक्लै बहुमत ल्याउने गरी क्रियाशील हुनु पर्ने भाषण गर्ने गरेका छन् । पार्टीका कतिपय नेताहरू यसलाई लोकप्रियताका लागि गरिएको अभिव्यक्ति मात्र मान्छन् ।
कांग्रेसका एक नेता भन्छन्, ‘तर, यस्ता भाषणको भरमा पार्टी क्रियाशील हुन सक्दैन । पार्टीलाई क्रियाशील बनाउन उसका अंगहरूलाई समयसापेक्ष चलायनमान बनाउनुपर्छ, अर्थात्, महाधिवेशन समयमा गर्नुपर्छ । तर, वर्षौंदेखि महाधिवेशनसम्म गर्न नसक्ने भ्रातृसंस्थाहरूलाई तदर्थको भरमा राखेर कांग्रेसलाई बलियो पार्टी बनाउने र एक्लै बहुमत ल्याउने कुरा कल्पना मात्र बन्नेछ ।’
प्रतिक्रिया 4