+
+
Shares

पर्सामा रविविरुद्धको सहकारी ठगी मुद्दा दर्ता गर्न किन ढिलाइ ?

पर्साका प्रहरी प्रमुख तथा एसपी गौतम मिश्र भने जतिसक्दो चाँडो अनुसन्धान टुंग्याएर मुद्दा दर्ता गर्ने प्रक्रियामा रहेको बताउँछन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १९ गते २१:३०

१९ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सहकारी ठगीसम्बन्धी पर्साको मुद्दा दर्ता विलम्ब गरिएको भन्दै मंगलबार सिंहदरबारमा पत्रकारहरूसँग कुरा गर्दै असन्तुष्टि पोखे ।

‘सरकारले हतियार बनाएर राखेर पर्साको (मुद्दा) चाहिँ झुण्ड्याइराख्या छ । मान्छे लगाएर हालिएको मुद्दा हामीलाई थाहा छैन र ! हकदैया छैन, हदम्याद छैन । सबै थाहा छ । सब जगजाहेर छ,’ लामिछानेले भने ।

सरकारले छोप्यौं भन्ने ठानेको भएता पनि नछोपिएको उनको भनाइ छ । ‘सरकार छोप्यौं भन्ठान्छ हामी नाङ्गो देखिराख्या छौं । सरकार छोपिएको छ, छोपिएको छ भनिरहेको छ तीनकुनेको छोप्या जस्तो । तर, नांगो भइसक्यो,’ लामिछानेले भने ।

कास्कीको पोखरामा रहेको सूर्यदर्शन सहकारी, काठमाडौंको कालिमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारी, रूपन्देहीको बुटवलमा रहेको सुप्रिम सहकारी र चितवनको सहारा चितवन गरी चार वटा मुद्दा दर्ता भएर लामिछाने सबै मुद्दामा धरौटी बुझाएर रिहा भएका थिए ।

२ कात्तिक २०८१ मा पार्टी कार्यालयबाट पक्राउ परेका उनलाई पाँच जिल्लाका पाँचवटै सहकारी ठगी प्रकरणमा बयानका लागि लगिएको थियो । तर चारवटा जिल्लाका सहकारीको मुद्दा दर्ता भएर उनी धरौटीमा रिहा भएपनि पर्साको सानोपाइला सहकारी ठगी प्रकरणको मुद्दा भने अहिलेसम्म अदालत पुगेको छैन ।

यही विषयलाई समेट्दै उनले मंगलबार सिंहदरबारमा पत्रकारसँग गुनासो पोखे । यता पर्साका प्रहरी प्रमुख तथा एसपी गौतम मिश्र भने जतिसक्दो चाँडो अनुसन्धान टुंग्याएर मुद्दा दर्ता गर्ने प्रक्रियामा रहेको बताउँछन् ।

सरकारी वकिल कार्यालयको निर्देशनअनुसार गर्नुपर्ने अनुसन्धानका चरणहरूसमेत बाँकी नै रहेकोले केही ढिलाइ भएको एसपी मिश्र बताउँछन् ।

‘यो केसमा उहाँ एकल प्रतिवादी होइन । उहाँसँगै अन्य प्रतिवादीहरू पनि छन् । धेरै प्रतिवादी भएपछि अनुसन्धानका लागि पनि सोही अनुसारको समय लाग्नु स्वभाविक हो,’ एसपी मिश्रले भने ।

उनले भनेजस्तै सानोपाइला सहकारी ठगी प्रकरणमा पुरक जाहेरीमार्फत रविसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । १४ ओरापीमध्ये केहीको भने सम्पत्ति शुद्धिकरणको समेत अनुसन्धान गर्नुपर्ने भएकाले समय लागेको प्रहरीको तर्क छ ।

अर्कोतर्फ भने सरकारी वकिल कार्यालयको निर्देशनअनुसार गर्नुपर्ने अनुसन्धानका चरणहरूसमेत बाँकी नै रहेकोले केही ढिलाइ भएको एसपी मिश्र बताउँछन् ।

रविसहित १४ जनाविरुद्ध सानोपाइला सहकारीको रकम अपचलनको बारेमा १९ मंसिरमा पर्सा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।

यो सहकारीका पूर्वसंञ्चालक तथा संरक्षक जीबी राई हुन् । तत्कालीन वीरगन्ज उपमहानगरपालिकाको ८, १३, १४, १८ र १९ नम्बर वडा कार्यक्षेत्र रहेको सानो पाइला सहकारीले करिब ८ सय बचतकर्ताको १ अर्ब ३५ करोड रुपैयाँ बचत जम्मा गरेको थियो ।

सहकारीले ऐन विपरीत सदस्य समेत नरहेका वीरगन्ज बाहिरका व्यक्तिलाई ऋण दिएर रकम अपचलन गरेको आरोप छ । बचतमध्ये करिब ९२ करोड रुपैयाँ कार्यक्षेत्र बाहिर गएर लगानी गरेर अपचलन गरेको आरोप छ ।

यो सहकारीबाट जीबी राई सञ्चालक रहेको नेचर हब इन्टरनेशनलाई १ करोड ३७ लाख, नेचर नेष्ट प्रालिलाई १ करोड ८५ लाख र स्प्रीङ वुड रियल स्टेटलाई १ करोड एक लाख कर्जा प्रवाह गरिएको छ ।

त्यस्तै, विशाल तामाङको नाममा ६ करोड ८३ लाख, छविलाल जोशीको नाममा १ करोड ८६ लाख, तीर्थराज लामिछानेको नाममा १ करोड ६ लाख, विमला पौडेलको नाममा २ करोड सात लाख कर्जा प्रवाह गरिएको खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?