
१८ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाही मंगलबार बिहान जिल्ला प्रहरी परिसर भद्रकाली पुगे । उनले हिरासतमा रहेका आफ्ना पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री तथा सांसद डा. धवलशमशेर राणा र लाई भेट्ने प्रबन्ध मिलाइदिन आग्रह गरे ।
प्रहरीको अनुमतिपछि सांसद शाहीले राणा र मिश्रलाई भेटे अनि केहीबेर गफगाफ गरेर फर्किए । उनीहरूबीच पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा कुराकानी भएको प्रहरी स्रोत बताउँछन् । ‘राजनीतिक नेता हिरासत बस्दा हुने कुराकानी पनि राजनीतिक हुनु स्वभाविक हो । त्यही विषयमा गफगाफ भयो । केही समयपछि उहाँ बिदा हुनुभयो,’ परिसरका एक अधिकारीले भने ।
शाही फर्किएको केही घण्टापछि आजै ३ बजेतिर राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन परिसरको कार्यालय भद्रकाली पुगे । लिङ्देनले पनि राणा र मिश्रलाई हिरासत कक्षमै गएर भेटे । उच्च राजनीतिक व्यक्तिहरू हिरासतमा रहँदा छुट्टै कोठामा भेटघाट गराइने गरेको भए पनि उनीहरूले भने हिरासत कक्षमै गएर राणा र मिश्र लगायतलाई भेटेका थिए ।
लिङ्देन र शाही दुवै जना दोस्रो पटक परिसरको हिरासत पुगेर उनीहरूलाई भेट गरेका हुन् । यसअघि प्रकाशचन्द्र लोहनी, राप्रपा नेपालका अध्यक्ष कमल थापा, पशुपतिशमशेर जबरा, जयन्द्र चन्द लगायत नेताहरूले पनि हिरासतमा रहेका राप्रपाका नेताहरूलाई भेटिसकेका छन् । प्रहरीका अनुसार उनीहरूलाई भेट्न दिनहुँजसो राजसंस्था समर्थित दलहरूका नेताहरू गइरहन्छन् ।
हिरासतमा रहेका नेता भेट्न आउनेलाई प्रहरीले समन्वय गरी भेटघाट गराउँदै आएको छ । हिरासतमा रहेका व्यक्तिलाई भेट्न उनीहरूका आफन्तसमेत दिनहुँजसो आउने गरेका छन् । भेट्न गएका नेताहरूले प्रहरीका अधिकारीहरूसँग पनि कुराकानी गर्छन् । अधिकांशजसोले आन्दोलन हिंसात्मक बनाउने योजना नरहेकोदेखि घुसपैठ भएको र राज्यले अनावश्यक बल प्रयोग गर्दा यस्तो स्थिति भएको दाबी गर्ने गरेका छन् ।
२ जनाको ज्यान जानेगरी १५ चैतमा भएको तीनकुने घटनाका ओरोपीहरूले हिरासत कक्ष भरिभराउ छ । अन्य कसुरका प्रतिवादीहरू समेत त्यति नै मात्रामा रहेकाले हिरासतमा अहिले भरिभराउ रहेको परिसरका प्रवक्ता अपिलराज बोहरा बताउँछन् ।

भेटघाटमा आउने राजनीतिक व्यक्तिहरूसँग उनीहरू राज्यले आफूहरूविरुद्ध प्रतिशोध लिएर मुद्दा चलाएको दलिल पेर गर्छन् । परिवार आउँदा भने अवस्था सामान्य रहेकाले चाँडै छुट्ने आश्वासनसमेत दिने गरेका छन् । उनीहरू कुनै तनाव र प्रेसरमा भए जस्तो नदेखिएको प्रहरी अधिकारीहरू बताउँछन् ।
मिश्रले हिजो मात्रै पत्रिका मगाएका थिए । अन्य पुस्तकहरू पढ्नमा पनि उनले समय बिताउने गरेको सुरक्षा अधिकारीहरू बताउँछन् । ‘भेटघाटमा आउनेहरूसँग गफगाफ र अध्ययन गरेर उनीहरूको समय बित्छ । हिरासतमा रहेपछि सबै थुनुवा समान हुने भएकाले हामीले गर्ने व्यवहार पनि समान नै हुने भयो,’ परिसरका अधिकारीहरू बताउँछन् ।
प्रहरी अधिकारीहरू पनि बेला–बेलामा हिरासत कक्षमा गएर उनीहरूलाई केही साह्रो–गाह्रोबारे सोध्छन् । तर उनीहरूले भने सबै ठिक–ठिकै रहेको जवाफ दिने गरेको दाबी प्रहरी अधिकारीहरूको छ ।
धवल र रवीन्द्र रुम पार्टनर
गत शुक्रबार राति ललितपुरको ग्वार्कोस्थित बीएन्डबी अस्पतालमा उपचाररत घाइतेलाई भेटेर फर्कने क्रममा प्रहरीले मिश्र र सांसद राणालाई पक्राउ गरेको थियो । पक्राउपछि मेडिकल जाँच गराएर प्रहरीले उनीहरूलाई हिरासतमा राख्यो ।
शुक्रबार राति मिश्रलाई अन्य थुनुवाहरूसँगै राखिएको थियो भने राणालाई छुट्टै कोठामा राखिएको थियो । शुक्रबार राति अन्य थुनुवासँगै बसेका मिश्रले भोलिपल्ट भने यसबारे प्रहरीसमक्ष अनुरोधसहितको गुनासो पोखे । अरु थुनुवासँगै राख्दा हो-हल्ला भएर राम्रोसँग निदाउनसमेत नपाएको गुनासो गर्दै छुट्टै ठाउँ मिल्दैन ? भनेर प्रहरीसँग अनुरोध गरेका थिए ।
उनको अनुरोधपछि शनिबारदेखि भने मिश्रलाई राणासँगै एकै कोठामा राखिएको छ । ‘अहिले मिश्र र राणा रुम पार्टनर हुनुहुन्छ । उहाँहरूलाई सँगै राखेका छौं,’ परिसरका एक अधिकृतले भने ।
उनीहरूसँगै पक्राउ परेका अन्य ३१ थुनुवालाई भने प्रहरीले छुट्टै राखेको छ । उनीहरूलाई अन्य कसुरमा पक्राउ परेकाहरूसँग मिसाएर राखिएको छ । उच्च तहका नेताहरू हिरासत परेपछि अस्पताल भर्ना हुने प्रचलन भए पनि मिश्र र राणाले अस्पताल भर्ना भएर नबस्ने बताएका थिए ।
क्यान्टिनबाट मगाएर राख्छन् खाना
मिश्र र राणा हिरासत बसेको आज पाँच दिन पूरा हुँदैछ । पाँचौ दिन बित्दासम्म उनीहरूले घरबाट मगाएर खानेकुरा नखाएको प्रहरी अधिकारीहरू बताउँछन् ।
घरबाट मगाएर नखाए पनि अन्य थुनुवाको जस्तो मेसको खाना खाँदैनन् । उनीहरूले आफ्नो इच्छाअनुसार प्रहरीकै क्यान्टिनमा अर्डर गरेर खाना खाने गरेको प्रहरी अधिकारीहरू बताउँछन् । यसरी खाना खाएको रकम थुनुवा आफैंले तिर्नुपर्ने हुन्छ ।
उनीहरूले रोटी, दही, च्युरा, खाना, मासु लगायतका परिकार खाने गरेको स्रोत बताउँछ । ‘रेगुलर एउटै खाना हुँदैन । उहाँहरू फरक–फरक अर्डर गरेर खानुहुन्छ । आफ्नै रकममा आफ्नो इच्छाअनुसारको खाना खान सबै थुनुवालाई छुट छ,’ एक प्रहरी अधिकृत भन्छन् ।
राप्रपाका महामन्त्रीसमेत रहेका राणा क्यान्सर सर्भाइभर हुन् । उनले करिब तीन महिनासम्म भारतको टाटा क्यान्सर अस्पतालमा उपचार गराएका थिए । उपचार गराएर गत पुसको दोस्रो साता मात्रै उनी काठमाडौं फर्केका थिए । त्यतिबेला उनले सामाजिक सञ्जालमा लेखेका थिए, ‘अन्ततः म भोलि काठमाडौं फिर्ता हुनेछु ! तीन महिनाको लामो उपचारपश्चात् म निको भएको छु । आगामी दिनमा म मेरो पूर्वनिधारित कार्यक्रमहरूमा सरिक हुने नै छु । सम्पूर्ण परिवारजन, आफन्त, शुभेच्छुक एवं पार्टीका सम्पूर्ण साथीहरूप्रति धन्यवाद तथा आभार व्यक्त गर्दछु ।’
क्यान्सर जितेर फर्केको करिब ३ महिनापछि राणा अहिले प्रहरी हिरासतमा छन् । जसका कारण उनी खानपानमा विशेष ध्यान दिन्छन् । स्याउ र काजु मगाएर राणाले खाने गरेको स्रोत बताउँछ । उनी औषधिसमेत सेवन गर्दै आएका छन् ।
प्रतिक्रिया 4