
१९ चैत, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्यका बजेट समयमै खर्च गर्ने वातावरण बनाउन सक्रियता देखाएका छन् ।
मन्त्रालय अन्तर्गतका विभिन्न महाशाखा तथा केन्द्रलाई मन्त्रालयमा बोलाएर मन्त्री पौडेलले समय बाँकी छँदै अधिकतम नतिजा देखिने गरी काम गर्न भनेका हुन् ।
मन्त्रालयको कार्य प्रगतिबारे नियमित बैठक राखेर जानकारी लिइरहेका मन्त्री पौडेलले चालु आर्थिक वर्षको अन्त्यसम्ममा अधिकतम नतिजा देखिने गरी कर्मचारीतन्त्रलाई सक्रिय बनाएका हुन् ।
मन्त्री पौडेलले मन्त्रालय अन्तर्गतका महाशाखा तथा केन्द्रहरूको नियमित रूपमा कार्य प्रगतिको रिपोर्टका आधारमा आवश्यक पृष्ठपोषण दिँदै आइरहेका छन् ।
यसक्रममा मंगलबार प्रगति कमजोर भएका महाशाखा तथा केन्द्रहरूलाई मन्त्री पौडेलले लक्ष्यअनुसार काम गर्नका लागि सजग बनाएका हुन् ।
‘दातृ निकायहरूबाट बजेट कटौतीका समस्या हाम्रा आम समस्या हुन्,’ मन्त्री पौडेलले भने, ‘समस्या जसले पनि देखाउन सक्छ । तर हामीले भएका स्रोतको अधिकतम उपयोग गरेर त्यसको समाधान पनि निकालौं ।’
मन्त्री पौडेलले चालु आर्थिक वर्षको बजेट प्रगतिको अधिकतम नतिजा निकाल्नका लागि बचेको समय सक्रिय भएर काम गर्नका लागि विभागीय प्रमुखसँग आग्रह गरे ।
‘हामीसँग बजेटमा स्रोत छ तर सोचजस्तो कार्यान्वयन हुन नसकेको विषय समीक्षा गरौं,’ उनले भने, ‘अब ४ महिना बाँकी छ पूर्ण उपयोग र परिणाममुखी नतिजा दिनुहोला ।’
मन्त्री पौडेलले परम्परागत शैली बदलेर काममा नयाँपन आवश्यक रहेको भन्दै त्यसका नयाँ सोचका साथ काम गर्नेहरूलाई सदैव साथ रहने बताए ।
‘तपाईंको काम प्रभावकारी बनाउन नीतिगत सुधार आवश्यक छ भने भन्नुहोला,’ मन्त्री पौडेलले भने, ‘हामी त्यसमा हरसम्भव प्रयास गर्नेछौं ।’
स्वास्थ्यमा दाताको बजेट कटौतीले परेका समस्याबारे आफू जानकार रहेको भन्दै मन्त्री पौडेलले अनिवार्य आवश्यक विषयमा सरकारले विकल्प दिने प्रतिबद्धता जनाए ।
प्रतिक्रिया 4