+
+
Shares

मुख्य सिजन सुरु हुनै लाग्दा घट्दो क्रममा देखियो पर्यटक आगमन

नेपाल पर्यटन बोर्डका अनुसार मार्च २०२५ मा १ लाख २१ हजार ६ सय ८७ पर्यटक नेपाल भ्रमणमा आएका छन् । यो २०२४ को तुलनामा ५.१ प्रतिशत कम हो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १९ गते २०:०४
फाइल तस्वीर

१९ चैत, काठमाडौं । नेपालमा मुख्य पर्यटन सिजन सुरु हुनै लाग्दा पर्यटक आगमन प्रवृत्ति भने घट्दो क्रममा देखिएको छ ।

सन् २०२५ सुरुवातबाटै पर्यटक आगमन अघिल्लो वर्षको तुलनामा घटेको छ । जनवरीमा २०२४ र २०२५ कै हाराहारी पर्यटक आएका थिए । फेब्रुअरी र मार्चमा आगमन घटेको छ ।

नेपाल पर्यटन बोर्डका अनुसार मार्च २०२५ मा १ लाख २१ हजार ६ सय ८७ पर्यटक नेपाल भ्रमणमा आएका छन् । यो २०२४ को तुलनामा ५.१ प्रतिशत कम हो ।

अघिल्लो वर्ष मार्चमा १ लाख २८ हजार १ य ७१ पर्यटक आएको बोर्डको तथ्यांक छ । २०१९ को तुलनामा समेत यस वर्ष पर्यटक आगमन खस्किएको छ । त्यो बेला १ लाख २७ हजार ३ सय ५१ पर्यटक नेपाल आएको देखिएको थिए ।

भारत सहित दक्षिण एसियाली भेगकै पर्यटक आगमन खस्किएपछि त्यसको असर पर्यटक आगमनमा देखिएको हो । मार्चमा दक्षिण एसियाली देशबाट अघिल्लो वर्ष ४० हजार ७ सय २७ र यस वर्ष ३५ हजार २ सय ८७ पर्यटक आएका छन् । जुन १३.४ प्रतिशत कम हो ।

उता, युरोपबाट हुने आगमन समेत यस महिना १०.५ प्रतिशतले खस्किएको छ । मध्यपूर्वबाट आउने पर्यटक संख्यामा भने ७९ प्रतिशतको बढोत्तरी देखिएको छ । अमेरिकी पर्यटक आगमनमा समेत सामान्य सुधार देखिएको छ ।

यस्तै प्रवृत्ति फेब्रुअरी २०२५ मा समेत देखिएको थियो । पर्यटन बोर्डका अनुसार उक्त महिना गत वर्ष ९७ हजार ४ सय २६ पर्यटक आएकोमा यस वर्ष ९६ हजार ८ सय ८० पुगेको छ ।

यस महिना पनि दक्षिण एसियाली देशको पर्यटक आगमन १४.२ प्रतिशतले खस्किएको थियो । अन्य भेगबाट भएको आगमन भने सुधार भएको छ । जनवरीमा भने अघिल्लो वर्ष ७९ हजार १ सय पर्यटक आएकोमा यस वर्ष ७९ हजार ९ सय ९१ जना आएका छन् ।

मार्च २०२५ मा सबैभन्दा धेरै भारतीय पर्यटक आउँदा दोस्रो नम्बरमा चिनियाँ छन् । यस महिना ११ हजार ४ सय ४३ चिनियाँ आएका छन् । अमेरिकी पर्यटक तेस्रो स्थानमा छन् । यस महिनामा ११ हजार ९२ जना अमेरिकी आएका छन् ।

चौथोमा श्रीलंकन देखिएका छन् । श्रीलंकाबाट ८ हजार ८ सय ८६ पर्यटक नेपाल आएका छन् । पाँचौं स्थानमा बेलायत छ । त्यहाँबाट ५ हजार ९ सय ९५ जना आएका छन् ।

भारतीय निरन्तर घट्दै

पछिल्लो समय भारतीय पर्यटक आगमन निरन्तर घट्दो क्रममा देखिन्छ । व्यवसायीका अनुसार यसमा चर्को हवाई भाडा एक प्रमुख कारण हो । मार्च २०२५ मा २१ हजार ४ सय १२ भारतीय पर्यटक नेपाल आएका छन् । मार्च २०२४ मा ३० हजार ६ सय ९८ आएका थिए ।

फेब्रुअरीमा भारतबाट १९ हजार १ सय ८७ पर्यटक आएका थिए । गत वर्ष सोही महिना २५ हजार ५ सय ७८ आएका थिए । जनवरीमा २० हजार ४ सय ८५ भारतीय आएका थिए । अघिल्लो वर्ष जनवरीमा २४ हजार १ सय ३९ पर्यटक आएको तथ्यांक छ ।

यस्तो छ भारतीय पर्यटक आवागमन प्रवृत्ति

महिना २०२४ २०२५
जनवरी २४,१३९ २०,४८५
फेब्रुअरी २५,५७८ १९,१८७
मार्च ३०,६९८ २१,४१२

३ महिनामा झन्डै ३ लाख पर्यटक

सन् २०२५ को पहिलो तीन महिनामा झन्डै ३ लाख पर्यटक नेपाल आएको देखिएको छ । पर्यटन बोर्डका अनुसार तीन महिनामा २ लाख ९८ हजार ५ सय ५८ पर्यटक आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?