
१९ चैत,बुटवल । कांग्रेस र एमालेले पालैपालो उम्मेदवार बनाएका थिए राप्रपाका दीपक बोहरालाई । पञ्चायतकालमा उनी ३१ वर्षकै उमेरमा सूर्यबहादुर थापाको क्याबिनेटमा मन्त्री बन्न पाएका थिए ।
बहुदलकालदेखि गणतन्त्रसम्मै शक्तिवृत्तमा रहेका बोहराले लङ कोभिडका कारण वाकशक्ति गुमाएका थिए । एकै शब्द बोल्न नसके पनि ०७९ मा रुपन्देही ३ को आम चुनाव उनले एमालेको सहयोगमा जिते ।
त्यसअघि ०७४ मा एमालेका घनश्याम भूसालले ठूलो अन्तरले बोहरालाई हराउँदा उनी कांग्रेसको समर्थनमा उम्मेदवार बनेका थिए । ०७९ मा भने उही एमालेले बोहरालाई जिताउन आफ्ना उम्मेदवार नै फिर्ता बोलाएबाट उनको राजनीतिक बर्चस्व कतिसम्म थियो भन्ने सानो झलक मिल्छ ।
पञ्चायत, बहुदल र गणतन्त्रमा गरी ९ पटक मन्त्री र चार पटक निर्वाचित तिनै राप्रपा वरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्य बोहराको ७४ वर्षको उमेरमा पोष्ट कोभिड क्यान्सरका कारण मंगलबार बिहान निधन भयो ।
२००७ साल चैत ७ गते पाल्पाको तानसेनमा जन्मिएका राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता बोहरा नेपाली राजनीतिमा सफलमध्येका एक खेलाडी मानिन्थे । गुल्मीको अग्लुङ पुख्यौली घर भएपनि बुबा तानसेनमा तत्कालीन बडाहाकिम भएका कारण बोहरा तानसेनमा जन्मिएका हुन् । उनी प्रतिमान र निमा बोहराका माइला छोरा हुन् । पछि बोहराको परिवार रुपन्देहीको भैरहवामा बसाई सरेको हो ।
२०३६ सालमा रुपन्देहीबाट पहिलोपटक राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित भएका उनी ३१ वर्षको उमरेमै सूर्यबहादुर थापा प्रधानमन्त्री भएको मन्त्रिपरिषदमा पर्यटन राज्यमन्त्री मनोनित भएका थिए । सोही साल दोस्रोपटक पर्यटन सहायक मन्त्री,२०४० सालमा पर्यटन राज्यमन्त्री,२०४३ सालमा निर्माण तथा यातायात राज्यमन्त्री र २०४४ सालमा निर्माण तथा यातायात मन्त्री भएर काम गरेका थिए ।
गणतन्त्रकालमा पनि बोहरा २०६७ सालमा वन तथा भू संरक्षण मन्त्री,२०७२ मा श्रम तथा रोजगार मन्त्री,२०७३ मा बाणिज्य तथा आपुर्ति मन्त्री र २०७४ मा स्वास्थ्य मन्त्री भए ।
बोहराका सहपाठी पुर्व गृहराज्यमन्त्री निरन्जन थापाका अनुसार विद्यार्थी राजनीति र सामाजिक काम गर्दागर्दै ३१ वर्षको कलिलो उमेरमै राष्ट्रिय राजनीतिमा उदाएका बोहरा सफल राजनीतिज्ञ, सफल व्यवसायी र समाजसेवीका रुपमा स्थापित भएको स्मरण गर्छन् ।
‘दीपक र म संगै रुपन्देहीमा विद्यार्थी राजनीति र सामाजिक काम गर्दागर्दै राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित भएका हौं,म भन्दा उनी धेरैपटक सांसद र मन्त्री भए’–थापाले सम्झिए–‘गणतन्त्रवादी नेताहरूले जे आरोप लगाएपनि बोहरा र म रुपन्देहीको विकासको जग हाल्ने नेता हौं, रुपन्देहीमा एकैपटक सिंचाई, विद्युत र बाटोको काम भएको भैरहवा–लुम्बिनी भूमिगत जल परियोजना (भैलभूज) बोहराको पालामा भएको हो ।’
अर्बौं लगानी भएको भैलभूज परियोजनालाई रुपन्देहीमा किसानहरूले बरदानकै रुपमा र जिल्लावासीले विकासको मेरुदण्डका रुपमा लिने गर्छन् ।
दीपक बोहरा विद्यार्थी राजनीतिदेखि नै निर्भीक, नयाँ काम गर्न रुचाउने, गरीब र सुकुम्बासीलाई माया गर्ने नेताको पहिचान बनाएको सहपाठी थापा बताउँछन् । बुटवलको दीपनगरको वस्ती, तिलोत्तमा ८ को दीपनगरको वस्ती, छपिया र शुद्धोधनका विभिन्न ठाउंका वस्ती दीपक बोहराकै पालामा बसेका थापा सम्झन्छन् । ‘दीपक बोहराले वस्ती बसालेकै कारण ती ठाउंको नाम दीपनगर रहन गएको हो’–उनले भने ।
भैरहवाको गौतमबुद्ध विमानस्थल निर्माणमा पनि बोहराको योगदान रहेको थापा बताउँछन् । बोहराले पहिलोपटक कालापथ्थरमा मन्त्रिपरिषद् बैठक राख्ने प्रस्ताव गरेको थापाले स्मरण गरे ।
राप्रपा नेता मात्र होइन फरक दलका नेता पनि बोहरा सुकुम्बासी र भूमिहीनको पक्षमा काम गर्ने विकासप्रेमी नेता भएको स्वीकार्छन् ।
नेकपा एकीकृत समाजवादीका नेता एवं राजनीतिक विश्लेषक सिद्धिचरण भट्टराईले सैद्धान्तिक पक्ष र विचार नमिले पनि व्यवहारमा बोहरा सधै भुमिहीन सुकुम्वासीका पक्षमा उभिने र उनीहरू बसोबासको अधिकारबारे बोल्ने नेता भएको बताउंछन् । ‘बुटवलको दिपनगर उहांकै नामबाट रहन गयो,रूपन्देहीका कयौं बस्ति बोहराले नै बसालेका हुन् भन्ने छाप छ’–भट्टराईले भने ।
बोहरा राजनीतिसंगै सफल व्यवसायी पनि थिए । बैंक अफ काठमाडौंका प्रमुख लगानीकर्ता बोहरा नै हुन् । बोहरा वि.सं. २०६७ मा राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्ष पनि थिए । विभिन्न राष्ट्रिय निकुञ्ज स्थापनामा पनि बोहराको देन रहेको मानिन्छ ।
काठमाडौंको फन पार्क पनि उनकै अग्रसरतामा स्थापना भएको हो भने बुबा प्रतिमान र आमा निमाको स्मृतिमा भैरहवामा प्रतिमान–निमा स्वास्थ्य प्रतिष्ठान स्थापना गरेका छन् । त्यहां स्वास्थ्य सम्बन्धी पढाई हुन्छ ।
चुनावी सभामा भाषणै नगरी गृहमन्त्रीलाई हराए, संसदमा नबोली अस्ताए
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई पराजित गर्दै निर्वाचित भएका थिए ।
चुनाव अघि नै घांटीमा समस्याका कारण उनी बोल्न सकेका थिएनन् । उनको तर्फबाट चुनावी सभामा उनका सहपाठी निरन्जन थापाले भाषण गरिदिन्थे । चुनावी सभामा भाषण नगरी चुनाव जितेका बोहरा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि पनि स्वास्थ्यमा सुधार नभएपछि बैठकमा एकपटक पनि बोल्न सकेनन् ।
बोहरा कोरोना महामारीको दोस्रो लहरमा (जेठ २०७७) बेलातिर संक्रमित भएका थिए ।
‘पोस्ट कोभिडको कारण उहाँको घाँटीमा भएको समस्या निको भएन, हामीले अमेरिका र भारतका राम्रा अस्पतालमा उपचार गरायौं तर बचाउन सकिएन’–बोहराकी नातिनी एवं राप्रपा केन्द्रीय सदस्य स्वाती थापाले भनिन्–‘सांंसद भएपछि पनि स्वास्थ्यमा सुधार नआएपछि संसदमा बोल्न पाउनुभएन, उहांको निधनले सिंगो रुपन्देहीलाई अपूरणीय क्षति भएको छ, उहां रुपन्देहीको विकासप्रेमी र समाजसेवी नेता हुनुहन्थ्यो,उहांको अभाव सधैं खड्किनेछ ।’
रुपन्देही जिल्ला एउटै निर्वाचन क्षेत्र हुंदा पनि उनी निर्वाचित भएका थिए ।
गणतन्त्र आएपछि बोहरा २०६४ सालको संविधानसभा चुनावमा रुपन्देही–१ मा माओवादी केन्द्रका घनश्याम यादवसँग पराजित भएका थिए । २०७० को संविधानसभा निर्वाचनमा भने तत्कालीन क्षेत्र नम्बर २ बाट कांग्रेसका रामकृष्ण ताम्राकारलाई पराजित गर्दै विजयी भएका थिए ।

प्रतिक्रिया 4