+
+
Shares

कुखुराको मासुमा लाग्दै आएको भ्याट हटाउन माग

आयात गरेको कुखुराको मासुमा ५ प्रतिशत अन्तःशुल्क लाग्ने गरेकोमा अहिले भने नेपालमा उत्पादित कुखुराको मासु फ्रिजमा राखेर बेच्दा १३ प्रतिशत भ्याट लगाउने गरेकोमा त्यसलाई संशोधन गर्न माग गरिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १९ गते २०:०२

१९ चैत, काठमाडौं । नेपाल पोल्ट्री महासंघले कुखुराको फ्रोजन मासुमा लाग्दै आएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन माग गरेको छ ।

मंगलबार महासंघको एक प्रतिनिधिमण्डलले अर्थमन्त्री विष्णु पौडेललाई भेटेर आयातमा ५ प्रतिशत अन्तःशुल्क मात्र लगाउन माग गरेका हो ।

आयात गरेको कुखुराको मासुमा ५ प्रतिशत अन्तःशुल्क लाग्ने गरेकोमा अहिले भने नेपालमा उत्पादित कुखुराको मासु फ्रिजमा राखेर बेच्दा १३ प्रतिशत भ्याट लगाउने गरेकोमा त्यसलाई संशोधन गर्न माग गरिएको हो ।

नेपाल उत्पादित कृषिजन्य प्राथमिक उत्पादनमा भ्याट लगाउँदा उपभोक्ता मूल्य बढ्न गएको र चोरी पैठारी बढेको भन्दै भ्याट हटाउन उनीहरूले अर्थमन्त्री पौडेललाई ज्ञापनपत्र बुझाएका छन् ।

२०७९ सम्म आर्थिक ऐनमा सिंगो र टुक्रा पारिएका फ्रोजन कुखुराको मासुमा आयातमा भ्याट करमा छुट रहेको र ५ प्रतिशतमात्र अन्तःशुल्क थियो । आर्थिक ऐन २०८० मा आएर यी दुवैमा लाग्ने गरेको अन्तःशुल्क हटाएर भ्याट लगाइएको थियो ।

महासंघका महासचिव दिनेश मिश्रले ताजा मासु बेच्दा कर नलाग्ने तर त्यही मासु फ्रिजमा राखेर बेच्दा १३ प्रतिशत कर लाग्ने व्यवस्था अव्यावहारिक भएकाले १३ प्रतिशत भ्याट करको प्रावधान हटाउनुपर्ने बताए ।

मिश्रका अनुसार भेटमा अर्थमन्त्री पौडेलले महासंघको मागमा सरकार सकारात्मक रहेको र आगामी बजेटबाट समस्या समाधान गर्ने बताएका छन् ।

आर्थिक ऐन २०८० मा भएको कर परिवर्तनले पोल्ट्री उद्योगलाई नराम्रो असर गरेको र आत्मनिर्भर रहेको उद्योगलाई परनिर्भरतामा जाने जोखिम बढेको संघको दाबी छ ।

पोल्ट्री क्षेत्रमा करिब १ खर्ब ६० अर्बको लगानी रहेको, प्रत्यक्ष ३ लाख र अप्रत्यक्ष गरी करिब ५ लाख जनाले रोजगारी पाएको संघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?