+
+
Shares

अमेरिकाबाट निष्कासित शरणार्थी : ‘भुटानले पैसा दिएर भारत पठायो, नेपालले थुन्यो’

न नागरिक न शरणार्थी : अमेरिकाबाट फर्काइएका भुटानी अलपत्र

अमेरिकाबाट डिपोर्ट भएका १० शरणार्थीलाई भुटान सरकारले ३० हजार भारु दिएर भारतीय सीमामा छाडिदिएको थियो । नेपाल जानू भन्दै पठाइएका उनीहरु भारतमा पनि विचौलियालाई रकम बुझाएर काँकडभिट्टा नाका प्रवेश गरेका थिए ।

गौरव पोखरेल गौरव पोखरेल
२०८१ चैत १९ गते २२:००

१९ चैत, काठमाडौं । भुटानी शरणार्थीको तेस्रो मुलुक पुनर्वास कार्यक्रम अन्तरगत छोरो अमेरिका जाने तरखरमा छँदा बुबा नारायणकुमार सुवेदीलाई लागेको थियो, ‘धेरैका लागि सपनाको देशबाट फर्किएर फेरि के नेपाल आउला ?’

हुन त भुटानबाट लखेटिएका अरु नेपाली भाषीसँगै २ फेब्रुअरी १९९३ मा भुटानको गेलेफुबाट हिँडेर काँकरभिट्टा प्रवेश गरेका नारायणले पनि तेस्रो मुलुक जान आवेदन दिएका थिए । काँकडभिट्टा नाका हुँदै झापा प्रवेश गरेका उनी त्यसबेला खुदुनाबारी क्याम्पका नेता समेत थिए ।

‘पुनर्वासमा जान त्यसबेला जीएसएस (ग्लोबल सपोर्ट अफ भुटनिज रेफ्यूजी) को फारम भर्नु पर्थ्यो, त्यसमा म पास भइनँ’, उनी सम्झन्छन्, ‘कतिपय शरणार्थी कागजात अंग्रेजीमा अनुवाद गर्नेको गल्ती हुँदा पनि जान पाएनन्, म त्यही मध्येमा परेँ ।’

त्यक्रममा उनले कर्मचारीसँग प्रतिवाद गर्न खोजे, आफ्नो कागजातहरु सबै देखाए । यद्यपि, वादविवाद भएपछि आफूलाई शरणार्थीसम्बन्धी अन्तर्राष्ट्रिय संगठन (आईओएम) का प्रतिनिधिहरुले निलम्बन गरेको उनी बताउँछन् । यसपछि उनका छोराछोरी अमेरिका गए भने सुवेदी झापाको शरणार्थी शिविरमै रहे ।

योबीचमा छोरासँग छिटपुट फोन सम्पर्क भइरहन्थ्यो । सुवेदी बेलडाँगी शरणार्थी शिविरको बी हट नं. १ मा जेनतेन जिन्दगी चलाइरहेका थिए ।

तर, एक साताअघि एक्कासी उनलाई अमेरिकाबाट छोरीको फोन आयो, जसले उनको बेचैनी बढायो । उनलाई छोरो आशिष आफूलाई भेट्न नेपाल आउओस् भन्ने त थियो, तर जस्तो किसिमले अमेरिकाबाट बाहिरिँदै थिए, त्यो कल्पना गरेभन्दा निकै पर थियो ।

‘त्यो दिन अमेरिकाबाट छोरीले फोन गरेर आशिषलाई भुटान डिपोर्ट गर्दैछ भनिन्’, उनले सम्झिए, ‘हिरासतमा ६/७ दिनसम्म राखेर डिपोर्ट गर्न लागेपछि छोराले उसलाई फोन गरेर लाँदैछ भनेको रहेछ, त्यसपछि छोरीले मलाई खबर गरिन् ।’

सुवेदीका अनुसार, छोराबुहारीबीच भएको झगडाको विषय अमेरिकी प्रहरीसम्म पुगेको थियो । त्यसपछि आशिषलाई केही समय हिरासतमा राखिएको थियो । ‘पछि देशबाट निष्कासन गर्ने निर्णय भएको रहेछ’, उनले सुनाए, ‘छाड्ने बेला रिसिभ गर्ने कोही मान्छेसँग सम्पर्क गराउँदो रहेछ, त्यसपछि बल्ल छोरीले सबै थाहा पाइछन् ।’

भुटान लग्यो भयो भनेपछि पहिल्यै पारपाचुके भएर भुटानमै रहेकी श्रीमतीलाई नारायणकुमारले सम्पर्क गर्ने कोशिश गरे ।

‘शुक्रबारै आइपुग्ने भन्ने सुनेपछि मैले छोरा यसरी आउँदैछ भनेर भन्नुपर्‍यो भनेर प्रयास गरेको थिएँ, तर सम्पर्क हुनै सकेन’, उनले थपे, ‘भुटानमा लगेपछि के होला भन्ने हिसाबले निकै डर थियो, त्यसैले कोही त्यहाँ भएर सजिलो हुन्थ्यो कि भनेर सम्झिएको थिएँ ।’

तर, परिस्थिति उनले सोचेभन्दा ठिक विपरीत भयो ।

अमेरिकाबाट डिपोर्ट भएर आउनेमा उनका छोरा आशिषसँगै अरु १० जना भुटानी शरणार्थी थिए । उनीहरुलाई सम्मानका साथ विमानले भारतको नयाँ दिल्लीसम्म ल्यायो ।

‘दिल्लीमा ट्रान्जिट रहेछ, त्यहाँ फाइभ स्टार होटलमै राखेछन्’, बुबा नारायणकुमार भन्छन्, ‘अर्को दिन ड्रुक एयरमा भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलमा लगेको रहेछ ।’

आशिषलाई उदृत गर्दै बुबाले बताएअनुसार, भुटानले पनि उनीहरुलाई सम्मानका साथ स्वागत गरेको थियो । ‘भुटानसम्म पुर्‍याउनलाई अमेरिकाबाट समेत २० जना गएका रहेछन्, त्यहाँ के होला भन्ने छोराहरुलाई डर थियो’, उनले भने, ‘तर, भुटानमा पनि राम्रै होटलमा राखेछन् ।’

तर, भोलिपल्ट बिहानै सामान्य सोधपुछ गरेर उनीहरुलाई १० हजार भारतीय रुपैयाँ दिएर भारतीय सीमा क्षेत्र फुन्सोलिङमा ल्याएर छाडिदिएको पाइएको उनी बताउँछन् ।

शरणार्थी भनेकै खासमा कुनै देशबाट राजनीतिक कारणले लखेटिएर अर्को देश पुगेका व्यक्ति हुन्, उनीहरुप्रति त्यस्तो देशमा जोखिम रहन्छ भने त्यहाँ डिपोर्ट गर्न समेत नमिल्ने अन्तर्राष्ट्रिय मान्यता छ –  बरुण घिमिरे, अधिवक्ता एवं मानवअधिकार कानुनका जानकार

‘त्यहाँबाट थप २० हजार भारु दिएको रहेछ, अनि ट्याक्सी रिजर्भ गरेर जयगाउँ हुँदै भारत गएर नेपाल जान भनेको रहेछ’, सुवेदीले भने, ‘त्यसरी दोस्रो पटक पनि छोरासहित १० जना त्यहाँबाट पनि लखेटिनु पर्‍यो ।’

त्यहाँबाट ४/४ जनालाई फरकफरक दुई वटा ट्याक्सीमा हालेर भारततिर पठाएको खुलेको छ । ट्याक्सीले नेपाल–भारत सीमा क्षेत्र पानीट्यांकीमा छाडिदिएको थियो । तर, भारतीय प्रहरीले कागजात नभएका कारण उनीहरुलाई सीमापार गर्न रोकेपछि भारतीय विचौलियासँग भेट भएको सुवेदी बताउँछन् ।

‘गाडी जान दिँदैन भनेपछि दलालहरु लागेछन्, त्यसपछि अन्तिममा भारु २२ हजार ५ सय रुपैयाँ दिएर बेलडाँगी शिविरमा पठाइदिन भनेका रहेछन्’, उनले थपे, ‘त्यसपछि मेची खोलामुनिको बाटोबाट कता–कता घुमाउँदै काँकडभिट्टा प्रवेश गराएका रहेछन् ।’

अहिले ३६ वर्षीय पुगेका छोरा आशिषले एक्कासी काँकरभिट्टा आएर फोन गरेपछि मात्र सुवेदीले उनी भुटानमा समेत बस्न नपाएको थाहा पाएका थिए ।

‘मलाई उसले फोन गरेर सबै कुरा सुनायो, मैले लु भयो.. घरमा आइज भनेँ’, सुवेदीले भने, ‘त्यसपछि शुक्रबार घरमा आइपुग्दा उनीहरुको साथमा कुनै कागजात थिएन ।’

आशिषसँगै उनीसँगै निस्कासनमा परेका ३१ वर्षीय सन्तोष दर्जी र ३६ वर्षीय रोशन तामाङ पनि उनकै घरमा गएका थिए । बाँकी अरु पाँच साथीहरु कहाँ गए भन्ने आफूलाई थाहा नभएको उनले सुनाएका छन् ।

‘शिविरमा हल्लिखल्लीपछि प्रहरी आयो’

अमेरिकाबाट फर्किएर शिविरमा ३ जना आएको थाहा पाएपछि आसपासका मानिसहरु सुवेदीको हट नम्बर १ मा भेला भएका थिए । यो शनिबार बिहान ९/१० बजेतिरको कुरा थियो ।

‘छोरा आएको थाहा पाएपछि क्याम्पका एक जना/दुई जना गर्दै २५/३० जना भेला भए’, उनले सुनाए, ‘त्यसपछि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) लाई पनि खबर गरेका थियौं, त्यसपछि कर्मचारी छोरा र साथीहरुको नाम टिपेको थियो ।’

तर, त्यसको केही बेरमै प्रहरीको भ्यान आएर सरसल्लाह छ जानुपर्छ भन्दै लिएर गएको थियो । ‘मैले भोलि बिहानै जानुपर्छ भनेँ, तर तलको आदेश छ जानुपर्छ भनेपछि लिएर गएको थिएँ’, उनी थप्छन्, ‘त्यसपछि एक्कासी काँकरभिट्टा लानुपर्छ भने मैले के गर्न लागेको केही भेउ नै पाइनँ ।’

के गर्छन् भन्ने भएर छोरालाई पछ्याउँदै आफू पनि प्रहरी गाडीसँगै गएको सुवेदी बताउँछन् ।

सन् २०१८ सम्ममा १ लाख १३ हजार ३०७ जना भुटानी शरणार्थी तेस्रो मुलुक पुनर्स्थापना भएका थिए । तीबाहेक भुटानी शरणार्थीका रुपमा दर्ता भएका ६ हजार ५७७ जना अझै नेपालका शिविरमा छन्

‘राति साढे १० बजेतिर काँकडभिट्टाका लागि गयौं, उहाँहरुले छोरालाई एकाएक कैदी जस्तै बनाउनुभयो’, उनी भन्छन्, ‘बाटोमा चारपानेसम्म पुगेपछि त्यहाँ प्रहरीले केही नभनी हत्कडी पनि लगाए, मैले के कारण हत्कडी लगाउनु भयो भनेर ठूलो स्वरमा बोलेपछि बल्ल खोलेका थिए ।’

काँकभिट्टाको अध्यागमन कार्यालयमा राखेपछि थप केही नबताइ कार्यालभित्र राखेर आफूहरुसँग भेट्न समेत नदिएको सुवेदी बताउँछन् ।

‘बोल्न त पाइएला नि भन्दा पनि दिएनन्, पछि अध्यागमन अधिकृतले पनि तपाईंहरु जस्तो हामी पनि त्यस्तै हो, माथिबाट आदेश हुनुपर्छ भने’, उनी थप्छन्, ‘किन राखेको भन्दा शरणार्थीसम्बन्धी कानुन छैन भन्छन्, मैले केही बुझ्न सकेको छैन ।’

जिल्ला प्रहरी कार्यालय, झापाका प्रमुख एसपी मिलन केसी अमेरिकाबाट विभिन्न मुलुक हुँदै अवैध रुपमा भुटानी शरणाथी नेपाल छिरेको सूचना पाएपछि तीन जनालाई कानुन अनुसार नियन्त्रणमा लिइएको बताउँछन् ।

‘बेलाडाँगीस्थित शरणार्थी शिविरबाट पक्राउ गरेर अनुसन्धानका लागि अध्यागमन कार्यालय, काँकडभिट्टा पठाएका थियौं’, उनले भने, ‘थप त्यहाँबाटै बुझ्नुपर्ला ।’

अध्यागमन कार्यालयले भने तीन दिन बितिसक्दा पनि पक्राउ परेकाहरुलाई के गर्ने भन्ने निर्णय गर्न सकेको छैन । उनीहरुलाई भुटान फिर्ता पठाउने, भारततर्फ छाड्ने वा नेपालमै राख्ने भन्ने विषयमा अहिलेसम्म अलमल छ ।

अध्यागमन विभागका प्रमुख गोविन्द रिजाल भन्छन्, ‘त्यहीँको अध्यागमन कार्यालयबाट अनुसन्धान भइरहेको छ, केही दिनमै यसबारे आवश्यक निर्णय हुन्छ ।’

भुटानले अस्वीकार गरेकोमा अगुवाको असन्तुष्टि

अमेरिकाबाट डिपोर्ट भएपछि भुटानले ल्याएर भारतीय सीमामा छाडेकोप्रति भुटानी शरणार्थी अगुवाहरुले भने असन्तुष्टि जनाएका छन् ।

हाल हेगमा रहेका भुटानी राजबन्दी रिहाइका लागि अन्तर्राष्ट्रिय अभियानका संयोजक राम कार्की अमेरिकाबाट डिपोर्ट गर्ने क्रममा भुटानी दूतावासले ट्राभल डकुमेन्ट बनाइदिएकाले थिम्पुले नै दशैजनालाई स्वीकार्नु पर्ने बताउँछन् ।

‘यात्राका लागि कागजात बनाइदिनु भनेको ऊ सम्बन्धित देशको नागरिक हो भनेर स्वीकार्नु हो, त्यसैले यो भुटान सरकारको जिम्मेवारीको विषय हो’, कार्कीले अनलाइनखबरसँग भने, ‘उनीहरुलाई स–सम्मान अधिकार दिएर राख्नुपर्नेमा २४ घन्टा नबित्दै भारतीय सीमामा लगेर फोहोर फ्याँके जस्तो छाड्नुले एकदमै दुःखी भएका छौं ।’

भुटानका लागि आफूलाई मन नपरेका मान्छेलाई विसाउने ठाउँ नेपाल नभएको कार्की टिप्पणी गर्छन् ।

मानवअधिकार कानुनका जानकारहरु पनि शरणार्थीसम्बन्धी अन्तर्राष्ट्रिय मान्यता जुन देशमा सम्बन्धित व्यक्ति पुगेका छन्, त्यहीँ देशमा उनीहरु रहन पाउनुपर्छ भन्ने रहेको बताउँछन् । भुटानबाट भारत पुगेको अवस्थामा पनि उनीहरु त्यहीँ रहनुपर्ने उनीहरुको भनाइ छ ।

‘शरणार्थी भनेकै खासमा कुनै देशबाट राजनीतिक कारणले लखेटिएर अर्को देश पुगेका व्यक्ति हुन्, उनीहरुप्रति त्यस्तो देशमा जोखिम रहन्छ भने त्यहाँ डिपोर्ट गर्न समेत नमिल्ने अन्तर्राष्ट्रिय मान्यता छ’, मानवअधिकार कानुनका जानकार अधिवक्ता बरुण घिमिरे भन्छन्, ‘यस्तोमा कुनै देशले त्यसरी आफैं सीमामा लगेर छाडिदिने भन्ने त कुरै आउँदैन ।’

भुटान स्वतन्त्र जनमञ्चका महासचिव डिबी सुब्बा पनि भुटानले संरक्षण गर्ने जिम्मेवारी लिएका नागरिकलाई पुनः देश निकाला गर्ने कार्यले सन् १९४८ को मानवअधिकारको विश्वव्यापी घोषणापत्रको प्रत्यक्ष उल्लंघन भएको बताउँछन् ।

‘यसले भुटानले वकालत गर्ने कथित लोकतन्त्रको पनि उपहास भएको छ, वास्तविकता उदांगो भएको छ’, उनी थप्छन्, ‘सुरुदेखि नै तेस्रो मुलुक पुनर्वास प्रक्रियाले यो समस्याको दीर्घकालीन समाधान हुनसक्दैन भन्ने हाम्रो धारणा थियो, अहिलेको घटनाक्रमले पनि त्यसलाई पुष्टि गरेको छ ।’

सुब्बासहित भुटाल पिपुल पार्टीका अध्यक्ष बलराम पौड्याल, ड्र्युक नेशनल कंग्रेस–प्रजातान्त्रिकका अध्यक्ष रिन्जिन दोर्जी, भुटानी शरणार्थी स्वदेश फिर्ती समितिका कार्यवाहक अध्यक्ष तिलक राई लगायतले संयुक्त अपिल जारी गरेर पनि अन्तर्राष्ट्रिय संस्थाहरु, मानवअधिकारकर्मी, भारतीय दूतावास, नेपालस्थित अमेरिकी दूतावास लगायतलाई १० नागरिकलाई राज्यविहीनता एवं पहिचानविहीनताको स्थितिबाट बचाउन अपिल गरेका छन् ।

सन् १९९० देखि भुटानबाट लखेटिएर आएका व्यक्तिहरु भारत हुँदै नेपाल प्रवेश गरेर झापा र मोरङमा बसेका थिए । सरकारी तथ्यांक अनुसार तेस्रो मुलुक पुनर्वास अघि यसरी आउनेको संख्या करिब १ लाख २० हजार पुगेको थियो ।

तीमध्ये सन् २०१८ सम्ममा १ लाख १३ हजार ३०७ जना तेस्रो मुलुक पुनर्स्थापना भएका थिए । तीबाहेक भुटानी शरणार्थीका रुपमा दर्ता भएका ६ हजार ५७७ जना अझै नेपालका शिविरमा छन् ।

लेखक
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?