१९ चैत, काठमाडौं । प्रभसिमरन सिंह र कप्तान श्रेयस अय्यरले अर्धशतक बनाएपछि पञ्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लगातार दोस्रो जित हासिल गरेको छ ।
मंगलबार भएको खेलमा लखनउ सुपर जायन्ट्सलाई ८ विकेटले हराउँदै पञ्जाबले दोस्रो जित निकालेको हो । लखनउले दिएको १७२ रनको लक्ष्य पञ्जाबले १६.२ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो ।
पञ्जाबका लागि प्रभसिमरन सिंहले विस्फोटक अर्धशतक बनाए । २३ बलमै अर्धशतक पूरा गरेका उनी ६९ रनमा आउट भए । उनले ९ चौका र ३ छक्का प्रहार गरे ।
त्यस्तै कप्तान श्रेयस अय्यरले अविजित ५२ रनको पारी खेले । नेहाल वधेरा ४३ रनमा अविजित रहे । लखउका दिग्वेश राथीले २ विकेट लिनुबाहेक अन्य विकेटविहीन रहे ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ७ विकेट गुमाएर १७१ रन बनाएको थियो । निकोलस पूरनले सर्वाधिक ४४ रन बनाएका थिए । आयुष बदोनीले ४१ रन बनाए भने एइडेन मार्करम २८ र अब्दुल समादले २७ रन बनाए ।
पञ्जाबका अर्शदीप सिंहले ३ विकेट लिए । युजभेन्द्र चहल, ग्लेन म्याक्सवेल, मार्को यानसेन र लकी फर्गुसनले १-१ विकेट लिए ।
योसँगै २ खेलमा २ जित निकालेको पञ्जाब ४ अंकसहित अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पराजित लखनउ ३ खेलमा २ अंकसहित छैटौं स्थानमा झरेको छ ।
प्रतिक्रिया 4