+
+
Shares

भाटभटेनी जोगाउने सुरक्षा गार्ड भन्छन्- मलाई डर लागेन

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २० गते १२:५३

२० चैत, काठमाडौं । कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट जोगाउन ‘बहादुरी’ प्रदर्शन गरेका सुरक्षागार्ड दुलप्रसाद पराजुलीले आफूले उक्त दिन डर नमानी लुटेराहरूसँग जुधेको प्रतिक्रिया दिएका छन् ।

गत १५ चैतमा राजावादी समूहको लुटपाट र तोडफोडका क्रममा उनले लुटेराहरूको समूहसँग सामना गरेका थिए ।

बुधबार उनलाई भाटभटेनी सुपरमार्केटले सम्मान गरेको छ । सम्मान कार्यक्रममा उनले आफ्नो अनुभव सुनाएका थिए ।

‘त्यो दिन आतंककारी आए । ढुंगामुढा गर्न थाले । उनीहरू भित्र पसेर फलफूल, बियरका बोत्तल, वाइन सबै लिएर गए । आइसक्रिमहरू पनि लिएर गए,’ पराजुलीले सुनाए, ‘त्यसपछि लौ भएन भनेर सबै जना टिम नै मिलेर आयौं । अरु भित्रबाट लखेट्ने, अनि बाहिरबाट हामी ड्याङ कि ड्याङ हान्ने गरियो ।’

आफ्नो अनुभव सुनाइरहेका पराजुलीलाई एक सञ्चारकर्मीले प्रश्न गरे, ‘तपाईंलाई डर लागेन ?’

उनले जवाफमा भनेका छन्, ‘मलाई डर लागेन ।’

पराजुलीका अनुसार उनले विसं २०५८ सालदेखि भाटभटेनी सुपरमार्केटमा जागिर सुरु गरेका हुन् ।

‘मैले जागिर खाएको २०५८ सालमा हो । मैले यहीँ जागिर खाएर जग्गा किनेँ । घर बनाएँ । त्यसपछि छोराको बिहे गरेँ । छोरा पढाएँ । गाडी किनेँ,’ पराजुलीले भनेका छन् ।

पराजुली एक्लैले प्रतिकार गरेर ‘बहादुरी’ देखाएपछि उनलाई बुधबार सम्मान गरिएको हो ।

बुधबार आयोजित विशेष समारोहमा भाटभटेनी सञ्चालक मीनबहादुर गुरुङले सुरक्षा गार्ड पराजुलीलाई ५ लाख १ हजार १ सय ११ नगद पुरस्कार, एक फूली र पाँच ग्रेड बढुवाको सम्मान प्रदान गरे ।

उनले लुटेराहरूलाई लाठी प्रहार गर्दै लखेट्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । समारोहमा अन्य कर्मचारीलाई पनि पुरस्कार र सम्मान प्रदान गरिएको थियो ।

यस्तै सम्मानित हुनेहरूमा इन्जिनियर सुवर्ण डंगोल, परशुराम थारू, आयुष थारू, शान्तराम थारू, नवीन थारू, प्रेम थारू, रामदास थारू लगायत कर्मचारी छन् ।

भाटभटेनी सञ्चालक गुरुङले सम्मान समारोहमा बोल्दै राजावादीले भाटभटेनीमा धावा बोलेर लुट्ने काम गरेको निकै खेदपूर्ण रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?