+

वेस्ट इन्डिजले ऐतिहासिक विश्वकप जितको ५०औं वार्षिकोत्सव मनाउने

२०८१ चैत  २० गते १२:५४ २०८१ चैत २० गते १२:५४
वेस्ट इन्डिजले ऐतिहासिक विश्वकप जितको ५०औं वार्षिकोत्सव मनाउने

२० चैत, काठमाडौं । वेस्ट इन्डिजले सन् १९७५ मा लन्डनको लर्ड्स क्रिकेट ग्राउन्डमा भएको पहिलो क्रिकेट विश्वकप जितेको ५०औं वार्षिकोत्सव मनाउने भएको छ।

उक्त समय ‘प्रुडेन्सियल वर्ल्ड कप’ भनेर चिनिएको प्रतियोगितामा वेस्ट इन्डिजले अस्ट्रेलियालाई १७ रनले हराएर उपाधि जितेको थियो। कप्तान क्लाइभ लोयडले फाइनलमा शतक प्रहार गर्दै टिमलाई जित दिलाएका थिए।

क्रिकेट वेस्ट इन्डिजका सीईओ क्रिस डेह्रिङले यसबारे छिट्टै औपचारिक घोषणा गरिने बताएका छन्। अस्ट्रेलियासँगको टेस्ट खेल सुरु हुने जुन २५ कै बेला उक्त विशेष कार्यक्रम बार्बडोसमा आयोजना हुने सम्भावना छ ।

क्रिकेट लिजेन्ड माइकल होल्डिङले पनि यस योजनाको स्वागत गरेका छन्। ‘सबैले आफ्ना उपलब्धिहरूलाई गर्वका साथ मनाउँछन्। हामीले पनि आफ्नो इतिहास लेख्नुपर्छ र सफलताहरू मनाउनुपर्छ’ ७१ वर्षीय होल्डिङले बताएका छन्।

बोर्डका अध्यक्ष डा. किशोर शालोले वार्षिकोत्सवबारे जानकारी दिँदै भने, ‘हाम्रो पहिलो विश्वकप जितको ५०औं वार्षिकोत्सव विशेष रूपमा मनाउने तयारी भइरहेको छ। १९७५ को टिमका १२ खेलाडी अहिले पनि जीवित हुनुहुन्छ, र हामी उहाँहरूको सम्मान गर्न बार्बाडोसमा विशेष कार्यक्रम आयोजना गर्दैछौं।’

उक्त ऐतिहासिक टिमका जीवित सदस्यहरूमा गोर्डन ग्रिनिज (७३ वर्ष), एल्भिन कालिचरण (७६ वर्ष), रोहन कन्हाई (८९ वर्ष), क्लाइभ लोयड (८० वर्ष), भिभ रिचर्ड्स (७३ वर्ष), बर्नार्ड जुलियन (७५ वर्ष), डेरेक मुर्रे (८१ वर्ष), भ्यानबर्न होल्डर (७९ वर्ष), एन्डी रोबर्ट्स (७४ वर्ष), कोलिस किङ (७३ वर्ष), लान्स गिब्स (९० वर्ष) र मोरिस फोस्टर (८१ वर्ष) रहेका छन्।

टिमका दुई सदस्य रोय फ्रेडरिक्सको सन् २००० मा तथा कीथ बोयसको सन् १९९६ मा निधन भइसकेको छ ।

-एजेन्सीबाट

वेस्ट इन्डिज क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय