+
+
Shares

कस्ता श्रीमान् रुचाउँछन् महिलाहरू ?

सुमित्रा लुईटेल सुमित्रा लुईटेल
२०८१ चैत २१ गते १७:१२

सामान्य वा हल्का फुल्का लाग्ने यो प्रश्नले महिलाको मनोविज्ञान र उनीहरूले जीवनसाथीको रुपमा कस्तो पुरुष छनौट गर्छ भन्ने खुलाउँछ । दाम्पत्य सुख र पारिवारिक संगठनका लागि पनि यो प्रश्न महत्वपूर्ण हुनसक्छ ।

जीवनभरका लागि जोडिने र छुटै परिवारको रचना गर्ने श्रीमान् कस्तो होस् भन्ने चाहन्छन् त ?

यसबारे केही आलेख, विश्लेषण प्रकाशित छन् । साथसाथै सर्वेक्षणसमेत भएका छन् । जस्तो एक आलेखमा मनोविज्ञ मिच ब्राउनले भनेका छन्, ‘हाम्रो तथ्यांकले महिलाले आफ्नो रोजाइ अनुसार शक्तिशाली र हँसिलो पुरुष बीचको छनोट गरेको देखाउँछ । सरल भाषामा भन्नुपर्दा महिलाहरूले केही विशेष कुरालाई ध्यानमा राखेर आफ्नो जीवनसाथी छनौट गर्छन्।’

यस्तै रुटर युनिभर्सिटीका मानवशास्त्री र बेष्ट सेलिङ पुस्तकका लेखक हेलेन ई. फिशरका अनुसार संसारभरका महिलाहरू अभिव्यक्ति र बोली वचन सुनेर पुरुषप्रति आकर्षित हुन्छन् । कर बल गर्ने, जबरजस्ती गर्ने पुरुषलाई महिलाले खासै रुचाउँदैनन् । आफूलाई बुझ्ने, आफूले बोलेका कुराहरू ध्यान दिएर सुनिदिने, मनमा लागेका हरेक कुरा सुनाउने मौका दिने पुरुषप्रति बढी आकर्षित हुन्छन् भन्ने उनको अनुसन्धानले देखाएको छ ।

‘पर्सनल रिलेसनसिप्स’ मा प्रकाशित अध्ययनको नतिजाले पार्टनरसँग राम्रो हाँस्य चेत अर्थात सेन्स अफ ह्युमर हुँदा मात्रै दीर्घकालीन सम्बन्धमा सफलता मिल्ने देखाएको छ ।

नेपालमा महिलाहरूले जीवनसाथी चयन गर्दा विभिन्न सामाजिक, सांस्कृतिक, आर्थिक र व्यक्तिगत कारकहरूका आधारमा निर्णय लिने मनोविद् पदम जोशी बताउँछन् ।

आर्थिक सुरक्षा

अधिकांश महिलाहरू आर्थिक रुपमा सबल केटा मन पराउँछन् र त्यस्ता केटासँग विवाह गर्न रुचाउँने मनोविद् गृष्मा पनेरु बताउँछिन् । उनी भन्छिन् ‘आर्थिक रुपमा सबल हुनुका साथै समय दिने, माया गर्ने पनि होस् भन्ने चाहन्छन् । एउटै केटामा यी सबै कुरा पाउन असम्भव छ । त्यसैले अधिकांश केटी धनी केटाको पैसाबाट स्रोतसाधन लिएर खुसी हुन चाहन्छन् ।’

फोब्सले गरेको एक अध्ययन अनुसार महिलाहरूलाई मन पर्ने केटामा हुनुपर्ने गुणमा आर्थिक सुरक्षा १०औँ नम्बरमा पर्छ ।

रोमान्टिक

महिलाहरू रोमान्टिक केटाहरू मन पराउँछन् । जो केटाले छुट्टी लिएर आफ्नो पार्टनरलाई बाहिर लैजान्छन्, स–साना उपहार दिन्छन्, उनका लागि पत्र लेख्छन् यस्ता केटाहरू महिलालाई मनपर्छ । यी सबै कुराले महिलालाई विशेष महसुस गराउने पनेरुले बताइन् ।

आत्मविश्वासी

आत्मविश्वासपूर्ण पुरुषले अरूका अगाडि अलग्गै छवि निर्माण गरेका हुन्छन् । उनीहरू न अन्य पुरुषप्रति इर्ष्या गर्छन् न त आफ्ना प्रेमिका वा श्रीमतीमाथि कुनै शंका नै गर्छन्। उनीहरू सधैँ सकारात्मक सोच राख्छन् । महिलाहरू यस्तै पुरुषलाई आफ्नो श्रीमानका रुपमा हेर्न चाहने पनेरुले बताइन् ।

‘आत्मविश्वासी पुरुषहरू कहिल्यै महिलालाई आफूप्रति आकर्षित गर्नतर्फ लाग्दैनन्, महिलाहरू पुरुषको यही कुराबाट बढी प्रभावित हुन्छन् ।’ उनले भनिन् ।

‘सेन्स अफ ह्युमर’

हरेक काममा पहिले सम्मानपूर्वक महिला साथीलाई अग्रसर हुन आग्रह गर्छन् त्यस्ता पुरुष विचारशील पुरुषको श्रेणीमा पर्छन् । आफ्नो व्यवहार मार्फत महिलाहरूप्रति विशेष सम्मान दर्शाउने पुरुषलाई महिलाहरू निकै रुचाउँने मनोविद पनेरुले बताइन् ।

उनी भन्छिन् ‘कुनै पनि सम्बन्धका लागि महत्त्वपूर्ण अर्को गुण हास्यको भावना हो । यही कुराले पुरुषलाई अरूभन्दा फरक बनाउँछ र महिलाहरू प्रायः उनीहरूलाई हँसाउने र खुसी बनाउने पुरुषहरू रुचाउँछन् ।’

विनम्रता

विनम्रता सबैभन्दा महत्त्वपूर्ण विशेषताहरू मध्ये एक हो जुन धेरै महिलाहरूले आफ्ना पार्टनरसँग होस् भन्ने चाहन्छन् । विनम्रताले भरिएको व्यक्ति कुनै पनि परिस्थितिको सामना गर्न सक्षम हुन्छ । एक महिलाले यस्तो व्यक्तिलाई विश्वास गर्न सक्छन् र उसलाई लामो अवधिको सम्बन्धमा सुरक्षित महसुस गर्न सक्ने पनेरु बताउँछिन् ।

परिपक्कता

मनोविद् पदम जोशी भन्छन्-महिलाहरू अलि बढी उमेरका पुरुषहरू मन पराउँछन् किनभने उनीहरू अधिक परिपक्व र बुद्धिमान हुन्छन् । यद्यपि, परिपक्वतासँग उमेरको कुनै सम्बन्ध छैन । यो जीवनबाट प्राप्त अनुभवहरूमा निर्भर गर्छ । महिलाहरू स्थिरताको कदर गर्छन् र पुरुषहरूप्रति आकर्षित हुन्छन् जससँग उनीहरू स्थिरता अनुभव गर्न सक्छन् र यो परिपक्व व्यक्तिहरूमा हुन्छ ।

सेन्स अफ स्टाइल

महिलाको ध्यान पहिले पुरुषका लुगा र लुकमा जान्छ, त्यसैले स्टाइल महत्त्वपूर्ण छ ।राम्रो लुगा लगाएर मात्र पुग्दैन, उनीहरूको स्टाइल कस्तो छ भन्ने पनि महत्वपूर्ण हुन्छ । राम्रो सेन्स अफ स्टाइल भएको पुरुष आफ्नो श्रीमान् होस् भन्ने महिलाको चाहना हुने जोशीले बताए ।

नेतृत्व

धेरैजसो महिलाहरू आफ्नो कामको जिम्मेवारी लिने केटाहरूप्रति आकर्षित हुने जोशीले बताए । उनी भन्छन् ‘व्यक्तिको नेतृत्व गर्ने क्षमताले उसको परिपक्वता देखाउँछ । महिलाहरू राम्रो आत्मविश्वास भएको र नेतृत्व गर्न सक्ने क्षमता भएको केटाहरूप्रति आकर्षित हुन्छन् जसले आफ्ना निर्णयहरू कसरी लिने भन्ने कुरामा ढृढ हुन्छन् ।’

इमान्दारिता

महिलाहरू पुरुषको इमानदारिता मन पराउँछन् । आफूसँगै हिँडेका बेला पुरुष पार्टनरले अरू महिलालाई एकोहोरो हेरेको कुरा महिलाहरू पटक्कै रुचाउँदैनन् । यस्तो व्यवहार देख्दा उनीहरूको मनमा नकारात्मक छाप बस्छ । महिलाहरू पुरुष साथीबाट सम्बन्धमा इमानदारीताको अपेक्षा गर्ने जोशीले बताउँछन् ।

निर्धक्क एवं विन्दास

महिलाहरू निर्धक्क एवं विन्दास स्वभावका पुरुषलाई बढी रुचाउँछन् । यस्ता पुरुषलाई कुनै कुरामा टेन्सन हुँदैन र अरूको टेन्सन हटाउने उपाय पनि उनीहरूसँगै हुन्छ । यस्ता पुरुष साहसी हुन्छन् जुन कुराले महिलाहरूलाई असाध्यै लोभ्याउने जोशीले बताए ।

मलिलाले आफ्नो हुनेवाला श्रीमानमा खोज्ने अन्य गुण

नेपालमा महिलाहरूले जीवनसाथी चयन गर्दा परिवारको मान्यता, सामाजिक प्रतिष्ठा, र सांस्कृतिक मूल्यहरूलाई प्राथमिकता दिने जोशी बताउँछन् । उनी भन्छन् ‘इमानदारिता, विश्वसनीयता, समझदारी, र सम्मान जस्ता व्यक्तिगत गुणहरूलाई पनि जीवनसाथी चयनमा महिलाहरूले महत्त्व दिन्छन् ।’

महिलाहरू आफ्ना विचार, भावना, र निर्णयहरूको सम्मान गर्ने पुरुषलाई बढी प्राथमिकता दिन्छन् । साथै सहानुभूति राख्ने र समझदारी भएको पुरुष पनि महिलाको रोजाइमा पर्ने मनोविद् पनेरुले बताइन् ।

लेखक
सुमित्रा लुईटेल

अनलाइनखबरकी संवाददाता लुईटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?