
२० चैत, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजावादी समूहले गरेको तीनकुने प्रदर्शनमा भएको जनधनको क्षतिप्रति पूर्वराजा ज्ञानेन्द्र शाहमा संवेदनशीलता नदेखिएको बताएका छन् ।
बुधवार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिंदै महामन्त्री शर्माले राजावादीको प्रदर्शनमा शाहको पनि संलग्नता रहेको जिकिर गरे ।
‘फागुन ७ मा अपिल गरेका पूर्वराजाको तीनकुने घटनामा कुनै संलग्नता देखिँदैन ? छैन र ? उहाँलाई दुख्नु पर्दैन र ?,’ महामन्त्री शर्माले प्रश्न गरे ।
उनले अगाडि थपे, ‘उहाँको अपिलमा प्रदर्शन भइसकेपछि पत्रकारको मृत्यु हुँदै गर्दा उहाँलाई समवेदना अनुभूति हुनुपर्दैन ? राज्यको सम्पत्ति तोडफोड हुँदा गम्भीर गल्ती भएको महसुस भएको छ भनेर बोल्नुपर्दैन र ? संवेदनशीलता नै देखिएन नि !’
महामन्त्री शर्माले राजतन्त्रमा परिवारवादका आधारमा पुरुषलाई मात्र अवसर मिल्ने भएपनि गणतन्त्रले महिला राष्ट्रपति बनाएको उल्लेख गरे ।
‘राजालाई राजगद्दीमा ल्याउने हो भने उहाँ मरेपछि को बस्ने, छोरा, नाति, पनाति ? के यो देश पुरुषहरूको मात्रै हो र ?’ उनले भने, ‘गणतन्त्रले त दोस्रो राष्ट्रपति नै महिलालाई बनाएको छ नि ! तर राजसंस्थामा त कहिले पनि महिलालाई अवसर नआउने रैछ ।’
महामन्त्री शर्माले राजनीतिक दलको नेतृत्व र सरकारप्रति रहेका असन्तुष्टिहरुलाई सुधार गर्दै जानुपर्ने बताए । ‘नेताप्रति असन्तुष्टि छ, सरकारप्रति असन्तुष्टि छ । सुधार गर्नुपर्छ’ उनले भने, ‘०८४ को निर्वाचनपछि हामी पार्टीकै नेतृत्व परिवर्तन गर्छौं भनिराखेका छौं । तर, राजगद्दीमा बसेको राजालाई त परिवर्तन गर्न सकिंदैन नि !’
तीनकुने घटनाको छानबिन गर्न सरकारले न्यायिक छानबिन समिति गठन गरेर गहिरो अनुसन्धान गर्नुपर्नेमा उनको जोड दिए ।
प्रतिक्रिया 4