+
+
Shares

तीनकुने प्रदर्शन : कोठा फर्किंदै गरेका रेविका र दिनेशलाई हानियो गोली

‘राजावादीको आन्दोलनमा प्रहरीले अन्धाधुन्ध गोली चलायो’

बुवा तुलसीरामले भने, ‘मेरो छोरी प्रदर्शनकारी पनि होइन, भाटभटेनी लुट्ने पनि होइन । अफिसबाट फर्किरहेकी छोरीले गोली खानु परेको छ, यसको जिम्मा कसले लिन्छ ?’

सहदेव चौधरी सहदेव चौधरी
२०८१ चैत २० गते २२:११

२० चैत, काठमाडौं । उदयपुरकी २२ वर्षीया रेविका खत्री गएको शुक्रबार अपराह्न ४ बजेतिर जडिबुटीमा रहेको खाद्य गोदाममा काम सकेर डेरातिर लाग्ने तरखरमा थिइन् ।

त्यो दिन काठमाडौंमा राजावादी समूहले प्रदर्शन गर्दैछ भन्ने उनलाई थाहा थियो, तर डेरा जाने बाटोमा पर्ने कोटेश्वरमा हिंसात्मक परिस्थिति सिर्जना भइसकेको उनले भेउ पाएकी थिइनन् ।

जब उनी कोटेश्वर नजिक आइपुगिन्, त्यहाँ गाडीमा आगजनी भइरहेको देखिन् । त्यसबेला उनी बिरामी थिइन्, एक्लै अघि बढ्न डर लागेपछि कोटेश्वरको एसओएस क्षेत्र पछाडि शंकरमार्ग डेरा भएका दाजु दिनेश खत्री (ठूलोबुबाका छोरा) लाई फोन गरेर बोलाइन् ।

त्यतिञ्जेल राष्ट्रिय झण्डा ओढेर सडकमा निस्किएका राजावादी प्रदर्शनकारीले कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा लुटपाट मच्चाइरहेका थिए । कोहीको हातमा लत्ताकपडा थियो, कसैले बियर र ह्विस्कीका बोतल समातिरहेका थिए ।

राजावादी प्रदर्शनकारीले कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा लुटपाट गरेपछिको दृश्य। तस्वीर : चन्द्रबहादुर आले/अनलाइनखबर

‘स्वास्थ्य समस्याका कारण बहिनीलाई गाडी जलेकाले टायरको धुवाँले असर गर्न सक्थ्यो, अझ एक्लै छाड्न झन् जोखिम थियो, त्यसैले फोन आउने वित्तिकै लिन गएको थिएँ,’ २४ वर्षीय दिनेश सम्झन्छन्, ‘त्यसपछि कोटेश्वरको आकाशे पुल कटेर पारिपट्टिबाट जाने निधो गरेका थियौं ।’

दिनेशले बहिनी रेविकालाई लिन मूल सडक पार गराए । त्यहाँबाट उनीहरु एसओएस बालग्राम क्षेत्र हुँदै गल्लीमा छिरेर कोठातर्फ जाँदै थिए । तर कोठा पुग्नै लाग्दा दाजु-बहिनीले नसोचेको दुर्घटना भोग्नु पर्‍यो ।

कोठा पुग्न दुई पाइला बाँकी थियो, त्यही बेला दाजुबहिनीलाई गोली लाग्यो । गोली कहाँबाट, कसले हान्यो, उनीहरूले पत्तै पाएनन् । दिनेशले भने, ‘म बहिनीलाई लिएर कोठा छिर्नै लागेको थिएँ । प्रहरीहरू यताउता कुदाकुद गरिरहेका थिए, एक्कासि डुङ्ङ गरेको आवाज मात्रै सुन्यौं ।’

प्रहरीले तीनकुनेमा जम्मा भएका प्रदर्शनकारी तितरबितर पारेर कोटेश्वरतर्फ लखेट्दै थियो । त्यही बेला पुगेको टोलीले त्यो क्षेत्रमा अश्रुग्यास र हवाई फायर गरिरहेको थियो । त्यस्तोमा एक्कासि उनीहरुलाई गोली लागेको थियो ।

‘म बहिनीलाई लिएर कोठा छिर्नै लागेको थिएँ । प्रहरीहरू यताउता कुदाकुद गरिरहेका थिए, एक्कासि डुङ्ङ गरेको आवाज मात्रै सुन्यौं ।’ दिनेश खत्री, रेविकाको दाजु

‘मुख्य रोडमा प्रहरीहरू कुदाकुद गरेको देखेका थियौं, तर गल्लीमा त्यस्तो केही देखेका थिएनौं,’ दिनेशले सम्झिए, ‘दाजु-बहिनी कोठा छिर्नै लागेका थियौं, एक्कासि गोली लाग्यो ।’ त्यसबेला घरको छतबाट देख्ने स्थानीयहरूले चाहिँ भाटभटेनीबाट प्रहरीले गोली बर्साइरहेको थियो भनेका उनीहरुले सुनेका थिए ।

तर, ठ्याक्कै कोठा छिर्नै लाग्दा प्रदर्शनकारी नै नभएको स्थानमा आफैंलाई गोली लाग्ला भन्ने उनीहरुले कल्पनै गरेका थिएनन् । चिकित्सकहरुका अनुसार, गोली दिनेशको खुट्टामा छोएर बाहिरिँदा उनलाई त्यति धेरै समस्या भएन । तर बहिनी रेविकाको दायाँ तिघ्रामा लागेर निस्कियो । उनी गम्भीर घाइते भइन् ।

बहिनी रगताम्ये देखेपछि दिनेशले आफू घाइते भएको पनि थाहा पाएनन् । उनले हात र आफूले लगाएको पहेँलो ज्याकेटले बहिनीको तिघ्रा छोप्ने प्रयास गरे, तर सकेनन् ।

गोली लागेर अस्पतालमा उपचार गरिरहेका बेला दिनेश खत्री। उनी अहिले डिस्चार्ज भएर घरमा आराम गरिरहेका छन् ।

‘बहिनी गोलीले रगतम्य भएकी थिइन्, मलाई पनि गोली लागेको छ भन्ने पनि थाहा पाइनँ,’ उनले भने, ‘म आत्तिएछु, बहिनीलाई नजिकैको क्लिनिकमा लगेर प्राथमिक उपचार गराएँ ।’ त्यतिबेला पो उनले आफ्नो खुट्टाबाट समेत रगत बगिरहेको भेउ पाए ।

बहिनीलाई लैजान अरु केही स्थानीयले पनि सहयोग गरेका थिए । बहिनी ढलेपछि उनले एम्बुलेन्सका लागि हारगुहार गरे । ‘तर, सडकमा प्रदर्शन भइरहेका कारण एम्बुलेन्स समयमा आएन,’ उनले सुनाए, ‘गोली लागेको झण्डै २ घण्टापछि एम्बुलेन्सले बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा ल्याइदियो ।’

दिनेशका अनुसार उनीहरू दाजुभाइका छोराछोरी हुन् । रेविका ग्वार्कोमा बस्थिन् । तर त्यस दिन राजावादी समूहको हिंसात्मक प्रदर्शनका कारण त्यता जान सक्ने स्थिति भएन । त्यसैले उनी दाजुको कोठातिर जान खोजेकी थिइन् । बिहानै खाना खाएर अफिस गएपछि खाजा खान पाएकी थिइनन्, कोठामा गएर दाजुबहिनीसँगै खाजा खाने सल्लाह गरेका थिए ।

‘मलाई बहिनीले फोनमा आज त खाजा पनि खाको छैन, म आफ्नो कोठामा जान सक्ने स्थिति छैन । रोड धुवाँले ढाकिएको छ भनेकी थिइन्,’ दिनेशले भने, ‘आज धेरै भोक पनि लागेको छ, दाजुबहिनी सँगै खाजा खानुपर्छ भनेकी थिइन्, तर कोठा नै पुग्न नपाई गोली लाग्यो ।’

उनको कोठा छेउ प्रदर्शनसमेत नभएको स्थानमा भेटिएको गोलीलाई स्थानीयले प्रहरी वृत्त, बानेश्वरका डीएसपी वीरेन्द्र गोदारलाई बुझाएका छन् । दिनेशले भने, ‘बानेश्वरका डीएसपी पनि आउनुभएको थियो, उहाँले अनुसन्धानका लागि भन्दै मागेपछि गोली बुझाइएको छ ।’

अष्ट्रेलिया जाने तयारीमा थिए दिनेश

दिनेश स्नातक सकेर विदेश अध्ययनका लागि अष्ट्रेलिया जाने तयारीमा थिए । भिसा लागेर एक महिनापछि उड्ने उनको तयारी थियो ।

तर, राजावादीको प्रदर्शनले उनको अष्ट्रेलिया जाने सपना तत्काललाई पछाडि धकेलिएको छ । उनी अस्पतालको बेड हुँदै घरमा आराम गर्न बाध्य भएका छन् । किनकि, उनलाई आराम गर्न र तिघ्रामा लागेको गोलीको घाउ निको हुन समय लाग्ने भएकाले तत्काल बाहिर नजान चिकित्सकको सुझाव छ ।

राजावादीको प्रदर्शनले उनको अष्ट्रेलिया जाने सपना तत्काललाई पछाडि धकेलिएको छ । उनी अस्पतालको बेड हुँदै घरमा आराम गर्न बाध्य भएका छन् ।

अहिले रेविका निजामती अस्पतालको आईसीयूमा उपचार गराइरहेकी छिन् भने दिनेश डिस्चार्ज भएर घरमा आराम गरिरहेका छन् । उनको रेखदेख उनका भान्जा सुरज बस्नेतले गरिरहेका छन् । उनका अनुसार सुरुमा उनलाई भेन्टिलेटरमा राखिएको थियो ।

४ दिन भेन्टिलेटरमा राखेर रेविकालाई सोमबारदेखि आईसीयूमा सारिएको छ । गम्भीर बिरामी रेविकालाई अस्पतालले आफन्त भेट्न दिएको छैन । ‘अहिलेसम्म आन्टी (रेविका) लाई ३५ पाउन्ड रगत चढाइसकिएको छ,’ सुरजले भने, ‘अझै कति लाग्ने हो थाहा छैन ।’ रेविकाको अवस्था अझै पनि खतरामुक्त छैन ।

सभिल अस्पतालको आईसीयूमा उपचाररत रेविका खत्री।

रेविका कोटेश्वर क्याम्पसमा बीबीए तेस्रो वर्षकी विद्यार्थी हुन् । उनकी दिदी अनिता खत्रीका अनुसार, रेविकाको ‘फाइनल इयर’ को परीक्षा आउँदो जेठमा छ । अनिताले भनिन्, ‘जेठमा तेस्रो वर्षको अन्तिम परीक्षा छ, उनी बेडमा छिन् । हामीलाई चिन्ता छ ।’

मंगलबार रास्वपा सांसदहरु (सोविता गौतम, डा. चन्दा कार्की र गणेश पराजुली) रेविकालाई भेट्न आउँदा बुवा तुलसीराम खत्री (४६ वर्षीय) ले छोरीको अवस्था नाजुक रहेको बताउँदै सहयोग गर्न आग्रह गरेका थिए । आमा कमला खत्री (४५ वर्षीया) रोइरहेकी थिइन् ।

रास्वपा सांसद सोविता गौतमले घटनाको बारेमा थाहा पाएर स्वास्थ्य अवस्था बुझ्न आएको बताइन् । उनले रेविकाको आवाज आफूहरूले संसद् र सरकारमा उठाउने आश्वासन दिइन् । बुवा तुलसीरामले भने, ‘मेरो छोरी प्रदर्शनकारी पनि होइन, भाटभटेनी लुट्ने पनि होइन । अफिसबाट फर्किरहेकी छोरीले गोली खानु परेको छ, यसको जिम्मा कसले लिन्छ ?’

अस्पतालमा कुरुवा बसेका रेविकाको परिवार ( बायाँबाट ठुलो बुवा इन्द्रबहादुर खबी, बीचमा बुवा तुलसीराम खत्री र आमा कमला खत्री ।)

छोरीलाई भेट्न नपाएकोमा उनी थप पीडामा थिए । ‘छोरीको तिघ्रा क्षतबिक्षत भएको छ भन्ने सुनेको छु । नसाहरू पनि छेडिएका छन् रे,’ उनले भने, ‘अब जसरी हुन्छ मेरो छोरी निको पारिदिनुपर्‍यो । उसलाई ठिक (स्वस्थ) बनाइदिनुपर्‍यो । अरु मलाई केही चाहिँदैन । उसले आफ्नो क्षमताले आफैँ गरेर खान्छे ।’

‘प्रहरीले अन्धाधुन्ध गोली चलायो’

अहिले एकातिर राजावादी समूहमा जनकमान्डर भनिएका दुर्गा प्रसाईं लगायतका केही व्यक्तिहरुको अराजक गतिविधिका कारण उनीहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग उठिरहेको छ भने अर्कातिर प्रहरीबाट समेत दमन भएको आरोप लाग्न थालेको छ ।

प्रहरीकै विवरणले पनि प्रदर्शनको नियन्त्रणका लागि अत्यधिक अश्रुग्यास, हवाई फायर र छर्रा प्रहार भएको देखाउँछ । उपत्यका प्रहरी कार्यालयले उपलब्ध गराएको विवरणअनुसार, शुक्रबार भएको प्रदर्शनमा मात्र प्रहरीले ७४६ राउन्ड अश्रुग्यास हन्यो भने १९२ ब्ल्याङ्क राउन्ड फायरिङ गर्‍यो ।

प्रहरीका अनुसार, ५८ राउन्ड हवाई फायर, कार्टिज (छर्रा) २३९ र पेस्तोलबाट २ राउन्ड गोली चलेको छ । यो नेपाल प्रहरीको मात्र विवरण हो, सशस्त्र प्रहरीबाट चलेको गोलीको विवरण अझै सार्वजनिक भएको छैन । त्यो हेर्दा प्रहरीबाट अत्यधिक बल प्रयोग भएको भन्दै कतिपय जानकारहरुले आलोचना समेत गरिरहेका छन् ।

उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले पनि शुक्रबारको घटनापछि काठमाडौं, भक्तपुर र ललितपुरमा खटिएका प्रहरी अधिकृतहरुलाई बुधबार भिड नियन्त्रणसम्बन्धी प्रशिक्षण दिएको छ । काठमाडौंमा खटिएका पूर्वप्रहरी अधिकारीहरु समेतलाई बोलाएर प्रहरी अधिकृतहरुले भिड नियन्त्रण तथा प्रहरी कारबाहीबारे अनुभव आदान-प्रदान गरेका हुन् ।

‘उनीहरू (दिनेश र रेविका) आउँदा माहोल उग्र थिएन, प्रदर्शनकारीले पारिपट्टि लुटपाट गरेर भागिसकेका थिए । तर प्रहरीले भने अन्धाधुन्ध फायरिङ गरिरह्यो । रेविका त्‍यही ढलिन् ‘ राजकुमार पाण्डे,किराना पसल सञ्चालक

कार्यक्रममा उपत्यका प्रहरी प्रमुख एआईजी टेकप्रसाद तामाङले प्रदर्शनका क्रममा सुरक्षा चुनौतीलाई निस्तेज पार्न सम्बन्धित कमान्डरको योग्यता, व्यावसायिकता र भिड नियन्त्रणमा खटिने प्रहरी कर्मचारीको मनोबल बढाउन सम्बिन्धत निकायले निभाउनुपर्ने भूमिकाबारे चर्चा गरेका थिए ।

‘यो प्रशिक्षण पनि शुक्रबारको प्रदर्शनमा प्रहरीबाट केही कमजोरी भयो भन्ने रियलाइजेसन हो,’ एक प्रहरी अधिकृत भन्छन् ।

दिनेश र रेबिकालाई गोली लागेका बेला त्यहीँ रहेका किराना पसल सञ्चालक राजकुमार पाण्डे प्रहरीले अन्धाधुन्ध गोली चलाएको बताउँछन् ।

‘यी भाइबहिनीलाई गोली लाग्नुअघि पारिपट्टि फूलबारी मार्गमा अन्धाधुन्ध गोली चल्यो,’ उनी भन्छन्, ‘उनीहरू आउँदा माहोल उग्र थिएन, प्रदर्शनकारीले पारिपट्टि लुटपाट गरेर भागिसकेका थिए । तर प्रहरीले भने अन्धाधुन्ध फायरिङ गरिरह्यो । रेविका त्यही ढलिन् । ’

चैत १५ गते कोटेश्वरमा रेविका खत्रीमाथि  प्रहरीले चलाएको गोली र घटनास्थल क्षेत्र।

उपत्यका प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेकबहादुर तामाङ अहिले प्रश्न उठिरहेको विषयमा आन्तरिक रुपमा बुझ्ने काम भइरहेको बताउँछन् । ‘त्यहाँको अवस्था के थियो भन्ने ठ्याक्कै फिल्डकै कमान्डलाई थाहा हुने कुरा भयो, तर प्रश्न उठेपछि हामीले बुझ्ने काम गरिरहेका छौं,’ उनले अनलाइनखबरसँग भने ।

न्याय माग्दै विद्यार्थीको प्रदर्शन

दिनेश र रेविकाको उपचारमा अहिलेसम्म करिब ५ लाख रुपैयाँ सकिइसक्यो । तर कसैले सहयोग गरेका छैनन् । प्रहरी प्रशासन, काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी सबै उपचार निःशुल्क गर्ने आश्वासन दिएका छन् ।

बुधबार बिहान तिवारीले परिवारसँग भनेका थिए, ‘उहाँको उपचारका लागि सरकारले सबै सहयोग गर्छ । हामीले सम्पूर्ण व्यवस्था मिलाउन भनेका छौं ।’

घाइते रेविकाको न्याय माग्दै कोटेश्वर क्याम्पसका विद्यार्थीले प्रदर्शन गरेका छन् । विद्यार्थीहरूले ‘गोली हान्ने दोषीलाई कारबाही गर, वी वान्ट जस्टिस, विद्यार्थीलाई गोली हान्न पाँदैन, रेविका खत्रीलाई न्याय दे’ लगातका नारा लगाउँदै प्रदर्शन गरेका थिए ।

रेविकाको न्याय माग्दै प्रदर्शनमा उत्रिएका कोटेश्वर क्याम्पसका विद्यार्थीहरू ।

कोटेश्वर क्याम्पस स्ववियु सभापति सञ्जय बुढाथोकीले निर्दोष विद्यार्थीमाथि गोली प्रहार हुनु खेदजनक रहेको बताए ।

‘यदि रेविकाको खर्च सरकारले तिर्न मानेन भने हामी न्यायका लागि थप आवाज उठाइरहने छौं,’ कोणसभामा बोल्दै बुढाथोकीले भने, ‘हामीले आन्दोलनका थप कार्यक्रम पनि गर्छौं ।’

लेखक
सहदेव चौधरी

समसामयिक र सूचना प्रविधिसम्बन्धी समाचार लेख्ने चौधरी अनलाइनखबर डटकमका वरिष्ठ उपसम्पादक हुन् ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?