
काठमाडौं । सर्वकालीन ब्लकबस्टर ‘पूर्णबहादुरको सारंगी’ अहिलेसम्मकै सर्वाधिक कमाउने नेपाली फिल्म हो । विजय बराल स्टारर फिल्मले हलमा प्रदर्शनको १०० दिन पनि मनाएको थियो । अहिले हलबाट उत्रिसकेको छ ।
धेरैलाई लाग्नसक्छ, यो फिल्मको वास्तविक र आधिकारिक कमाइ चाहिँ कति हो त ? यो फिल्मको ‘लाइफटाइम कलेक्सन’बारे धेरैलाई चासो पनि हुनसक्छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सेन्ट्रल म्यानेजमेन्ट टिकट सिस्टम (बक्सअफिस)मा फिल्मको लाइफटाइम कलेक्सन ४६ करोड ८० लाख रुपैयाँ ग्रस उल्लेख छ । फिल्मले बक्सअफिसमा उक्त मूल्य बराबरको टिकट बिक्री गरेको हो ।
वितरक ब्यांकटेस इन्टरटेनमेन्टले चाहिँ फिल्मले ४९ करोडभन्दा धेरै कमाइ गरेको कुरा यसअघि नै सार्वजनिक गरिसकेको छ । त्यसपछि वितरकले कमाइ सार्वजनिक गरेनन् ।
यो फिल्मले नेपालसहित विदेशमा समेत ऐतिहासिक कमाइ गरेको छ । अन्तर्राष्ट्रिय बजारमा मात्र २५ करोडभन्दा धेरै कमाइ गरेको अनुमान गरिएको छ ।
बाबु र सन्तानबीचको मर्मस्पर्शी कथा प्रस्तुत गर्ने यो फिल्म २०८१ सालको धेरै कमाउने मात्र होइन, ६ दशक लामो इतिहास बोकेको घरेलु फिल्ममा सर्वाधिक कमाउने फिल्म पनि हो । सरोज पौडेल निर्देशित फिल्मलाई सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गरेको हो ।
प्रतिक्रिया 4